ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
सारांश
- काठमाडौं, २४ असोज ।
- गत असोज ११ गते बेलुका काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको र रातारात सम्झौता गरी साम्य पारेको खुलासा भएको छ ।
- धादिङका ३९ वर्षीय रमेश दनैको उपचारमा गम्भीर लापरबाहीका कारण शुक्रबार राति निधन भएको आफन्तले आरोप लगाएका छन् ।
काठमाडौं, २४ असोज । गत असोज ११ गते बेलुका काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको र रातारात सम्झौता गरी साम्य पारेको खुलासा भएको छ । धादिङका ३९ वर्षीय रमेश दनैको उपचारमा गम्भीर लापरबाहीका कारण शुक्रबार राति निधन भएको आफन्तले आरोप लगाएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज समेत लगिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा औषधिको ओभरडोजका कारण मिर्गौला ड्यामेज भएको र निमोनियाका कारण निधन भएको उल्लेख गरिएको छ । मृतकका आफन्तले राति नै अस्पताल परिसरमा आन्दोलन सुरु गरेपछि अस्पतालले शनिबार बिहान लापरवाही स्वीकार गर्दै सम्झौता गरेर उपचारमा लागेको खर्च ९ लाख ५० हजार फिर्ता गरेको छ भने मृतकको सन्तानलाई भविष्यमा रोजगारी दिने लोभ पनि सम्झौतामा देखाइएको छ ।
असोज ११ गते बेलुका काठमाडौंको रानीवनमा कार दुर्घटनामा परेका धादिङका ३९ वर्षीय रमेश दनैलाई तत्काल ग्राण्डी अस्पताल पुराइएको थियो । दनैको बायाँ खुट्टाको तिघ्राको जोर्नी फुस्किएको भन्दै शल्यक्रिया गरिएको थियो । ग्राण्डीका डेपुटी मेडिकल डाइरेक्टर नियुक्त भएका डा. बिनोद बिजुक्छेको टोलीले असोज १२ गते शनिबार दिउँसो अपरेशन गरेको थियो । उक्त अपरेशन सफल भएको जानकारी पनि गराइएको थियो । शनिबारै बिरामीको होस आइसकेको थियो भने उनी क्रमशः सामान्य बन्दै थिए । आइतबार र सोमबार बिरामीको फिजियोथेरापी पनि गरिएको थियो ।
बिरामीको खाना र दिशापिसाव पनि सामान्य भइरहेको थियो । तर, अचानक सोमबार बेलुकी ११ बजेदेखि समस्या देखियो । बिरामीलाई श्वासप्रश्वासमा अप्ठेरो भएपछि तत्काल आइसीयूमा पठाइएको थियो । डाक्टरहरुले मिर्गौला र मुटुमा समस्या आएको जवाफ दिएका थिए । दुर्घटनाको कारण भएको आन्तरिक रक्तश्रावले यस्तो भएको जानकारी गराइयो । यद्यपि दुई दिनअघि शल्यक्रिया गर्नुअघि सबै सामान्य अवस्थामा नै थियो ।
त्यसयता दिनमा तीनपटक बिरामीको अवस्थाबारे डाक्टरहरुले जानकारी दिने र बिरामीलाई टाढैबाट हेर्न सकिने बनाइयो । हरेकपटक डाक्टरको ब्रिफिङमा बिरामीको अवस्था सुधार भइरहेको र छिट्टै निको हुने आश्वासनमात्र दिइएको थियो । बिरामीका आफन्तले यहाँ नसके भारत लगेर भएपनि उपचार गर्ने प्रस्ताव पनि गरेका थिए । तर, ग्राण्डीले पठाउन नमिल्ने भन्दै रोकेको थियो । जुन रोकाईले रमेशको इहलीला समाप्त भएरै छाड्यो ।
प्रतिक्रिया