चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान
सारांश
- काठमाडौँ, ३ भदौ ।
- सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ ।
- सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो ।
काठमाडौँ, ३ भदौ । सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ ।सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो । सङ्घीय संसद्का सभामुख, उपसभामुखसहित सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, पूर्वसभामुख तथा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलका बीच जीवन्त रुपमा सो विषयमा छलफल भएको थियो ।
सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले छलफलको शुभारम्भ गर्दै सङ्घीयतालाई संस्थागत विकास गर्दै लोकतन्त्रलाई बलियो बनाउन सङ्घ र प्रदेशका उच्च नेतृत्वबीचमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान गर्न जरुरी रहेको बताए ।उनले भने, “हाम्रो लागि सङ्घीयता नयाँ अनुभव हो, प्रदेशसभा नयाँ हो ,धेरै सिक्न बाँकी छ, आवश्यक ऐननियम बनाउन बाँकी नै छ, एकापसका सिकाइले नै लोकतन्त्र बलियो हुन्छ ।” उनले संविधानतः सङ्घ र प्रदेशका बीचमा साझा अधिकारका सूची स्पष्ट रहे पनि अझै केही अन्योल रहेको बताउँदै तीन तह (सङ्घ, प्रदेश र स्थानीय तह) का बीचका पदीय मर्यादा क्रममा केही अस्पष्टता छ भने ।
संसद् सचिवालयको सेवालाई फराकिलो बनाउन जरुरी रहेको बताउँदै उहाँले प्रदेशसभालाई स्रोतसाधनले सम्पन्न गर्दै बलियो बनाउन सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशबीच कानून निर्माणमा समन्वयको खाँचो आँैंल्याउँदै प्रदेशसभालाई आवश्यक स्रोतसाधनले सम्पन्न गर्न आवश्यक सहयोग सङ्घीय संसद्ले गर्ने जानकारी दिएका छन् ।
कानूनमन्त्री ढकालले संविधान कार्यान्वयन गर्ने क्रममा मौलिक अधिकारसित सम्बन्धित आवश्यक ऐन तयारी पूरा भएको जानकारी दिएका छन् । उनले कानून निर्माणमा सङ्घ र प्रदेशका बीचमा समन्वय भएमा सङ्घीयता थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले संसदीय प्रक्रियाका अनुभव र चुनौतीलाई समाधान गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
निष्कर्ष राष्ट्रपति र प्रमलाई
सभामुख महराले संसदीय प्रक्रिया र अनुभव आदानप्रदान कार्यक्रमबाट निस्केको निष्कर्षलाई राष्ट्रपति तथा प्रधानमन्त्रीसमक्ष जानकारी गराइने जानकारी दिनुभएको छ ।
सभामुख महराले भनेका छन् , “आज साँझ प्रधानमन्त्री केपी ओलीलाई सामूहिक रुपमा भेट गरी छलफलका निष्कर्षका बारेमा जानकारी गराउँछौ ।” सोमबार भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदीय प्रक्रिया र अनुभव आदानप्रदान कार्यक्रमबाट निस्केको निष्कर्षबारे जानकारी गराइने उहाँले सञ्चारकर्मीलाई बताएका छन् । छलफलमा सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख तथा उपसभामुख गरी १८ जना उच्च नेतृत्व हुनुहुन्छ ।
प्रतिक्रिया