चीन भ्रमणको अन्तिम तयारी गर्दै प्रम ओली, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
सारांश
- काठमाडौं, ४ असार ।
- असार ५ गते मंगलबारबाट छ दिने चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा नेपालले उठाउने एजेण्डाका बारेमा अन्तिम गृहकार्य गरिरहेका छन् ।
- आइतबार नेपालका सबै पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका प्रम ओलीले साेमबार (आज) संसदमा सम्बोधन गर्दै सांसदहरुलाई जानकारी दिने कार्यक्रम छ ।
काठमाडौं, ४ असार । असार ५ गते मंगलबारबाट छ दिने चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा नेपालले उठाउने एजेण्डाका बारेमा अन्तिम गृहकार्य गरिरहेका छन् ।
आइतबार नेपालका सबै पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका प्रम ओलीले साेमबार (आज) संसदमा सम्बोधन गर्दै सांसदहरुलाई जानकारी दिने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने द्धिपक्षिय तथा बहुपक्षिय छलफलहरुमा व्यस्त रहेका छन् । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै भने, ‘तपाईँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।’ पूर्वप्रधानमन्त्रीहरुसँगको भेटअघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमणको तयारी सम्बन्धमा छलफल गरेका थिए । प्रम ओलीको भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी गर्ने सम्बन्धमा तयारी भइरहेको जानकारी दिएका थिए ।
आइतबार प्रम ओलीलाइ नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणको क्रममा शुभकामना दिएका थिए । साथै देउवाले भ्रमणबाट नेपालले राम्रो उपलब्धी प्राप्त गर्ने आशा व्यक्त गरेका छन् ।
नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धमा नयाँ चरणमा प्रवेश गर्ने गरी भ्रमण सफल हुनेमा आशा व्यक्त गरेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताउँदै सो परियोजनाका लागि जोड दिन सुझाव दिएका छन् । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई १० बुँदे लिखित सुझाव प्रस्तुत गरेका थिए ।
छलफलमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भित्राउने वातावरण बन्नु पर्ने राय अघि सारेका थिए ।
प्रतिक्रिया