जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी

सारांश

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ ।
  • यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन ।
  • प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।

‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले नयाँ पत्रिकासँग भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’

मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग २९ वैशाखमा भेटवार्ता गर्ने गरी कार्यतालिका बनिरहेको छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा मोदीसँग पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यतालिकामा छलफल भइरहेको छ ।

प्रधानमन्त्री मोदीको यो तेस्रो औपचारिक भ्रमण हुनेछ । उनी ०७१ साउन १८ र १९ मा राजकीय भ्रमणमा आएका थिए भने सोही वर्ष मंसिर ९ देखि ११ सम्म सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आएका थिए ।

९ मंसिरमा मोदी जनकपुर जाने कार्यक्रम भए पनि सुरक्षाका कारण स्थगित भएको थियो । उनलाई स्वागत गर्न तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि जनकपुर पुगेका थिए, तर मोदी नआउने तय भएपछि १० मंसिरमा फर्केका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?