तातोपानी नाका जेठबाट सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
तातोपानी नाका जेठबाट सञ्चालनमा

सारांश

  • तातोपानी (सिन्धुपाल्चोक)।
  • नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ।
  • २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो।
तातोपानी (सिन्धुपाल्चोक)। नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ। २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो। 
‘‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ ,’’ मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेका  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले बताए।
मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ। त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ।
“अहिले तीन चरणमा गरी २४ घण्टा नै युद्धस्तरमा काम भइरहेको छ, कुनै पनि हालतमा जेठबाट यो नाका सञ्चालनमा ल्याइने पूर्ण आशाका साथ काम भइरहेको छ” मन्त्री महासेठले भने, “२०७२ सालबाट बिग्रेको सडक यसअघिका सरकारले ध्यान नदिएका कारण हामीले ‘जिरो’ बाट काम शुरु गर्नुप¥यो, अबको एक महिनाभित्र हामी यसलाई व्यवस्थित गछौँ।”
यो नाकासम्म पुग्न अहिले पनि अरनिको राजमार्गमा कहीँ पनि बाधा अवरोध नरहेको बताउँदै उनले नेपाल र चीनको सीमानामा रहेको ‘मितेरी पुल’ को निर्माण सकिने वित्तिकै चीनले सो पुल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ। पुल जेठ महिनामा नै चीनले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भइसकेको जानकारी समेत उनले दिए। 
उनले भने, “यो नाकासँग सरोकार राख्ने निकाय भौतिक पूर्वाधार तथा यातायात, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय यस कार्यप्रति गम्भीर रहेको तथा आ–आफ्नो मातहतका कामहरु पूरा गर्ने काममा लागिसकेका छन्।” 
भन्सार व्यवस्थापन, सुक्खा बन्दरगाहको सञ्चालनलगायतका तयारीका लागि तीन चरणमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी समेत उनले दिए।
टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ तथा मित्रताको प्रतीकका रुपमा रहेको तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग बारम्बार आग्रह गरिँदै आएको बताए। 
प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक गर्नुभएको चीन भ्रमणको क्रममा समेत यो नाका खुलाउन उच्च प्राथमिकताका साथ कुरा उठाइएको तथा आफ्नो भ्रमणमासमेत यो विषयलाई गम्भीरतापूर्वक उठाएको मन्त्री ज्ञवालीले बताए। यो नाका खुलेपछि चीनसँगको हाम्रो व्यापार प्रवद्र्धन हुने उहाँले विश्वास व्यक्त गरे।
यसैबीच, मन्त्री महासेठले अरनिको राजमार्गको अन्तर्गतको जुरेखण्डमा भइरहेको सडक मर्मतको काम तथा साढी खोल्चामा बेली बृज राख्ने काम एक महिनाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए। त्यसैगरी, चिनियाँ पक्षबाट भइरहेका काम सन्तोषजनक नदेखिएका ठाउँहरुमा पुनः नयाँ ढङ्गले काम गर्न आग्रह गरे। 
सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले अहिले बनदेउ–बाह्रबिसे खण्ड, बाह्रबिसे–कोदारी खण्डमा चिनियाँ पक्षबाट पुनस्र्थापनाको कार्य भइरहेको र आगामी जेठबाट अरनिको राजमार्गको सम्पूर्ण खण्ड सुचारु हुने जानकारी दिए।
त्यसैगरी, उनले कोठे पहिरो खण्डमा नदी कटान रोकथामको लागि प्लम कंक्रिटसहित पर्खालको कार्य भइरहेको, जुरे पहिरो खण्डमा पहिरो रोकथामको लागि पर्खाल तथा नदी कटान रोक्न प्लम कंक्रिटको कार्य भइरहेको जानकारी दिए। 
त्यसैगरी, महाभीर सडक खण्डमा टेवा पर्खालको कार्य, बाह्रबिसे हेल्थ पोस्ट सडक खण्डमा नदी कटानले क्षति पुगेको स्थानको पुनस्र्थापनाको कार्य भइरहेको छ। त्यसैगरी बसेरी नदी कटानले क्षति पुगेको सडकको पुनस्र्थापनाको कार्य भइरहेको, बाह्रबिसे–जम्बु सडक खण्डमा कालोपत्रे सडक पुनस्र्थापनाको कार्य, दोलालघाट—बलेफी सडक खण्डको ‘रिकुरेन्ट’ मर्मतको कार्य भइरहको, लामोसाँघु–बाह्रबिसे सडक खण्डको ‘पिरियोडिक’ मर्मतको कार्य र बनदेउ–बाह्रबिसे सडक खण्डको विभिन्न स्थानमा नाली तथा जीर्ण संरचनाको पुनर्निर्माण कार्य भइरहेको जानकारी उनले दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?