जाने बेला बलिको बोका पाे..?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जाने बेला बलिको बोका पाे..?

सारांश

  • काठमाडौं,  २२ असार ।
  • ‘धान खाने मुसा चोट पाउने भ्यागुता’ ।
  • अहिले यो उखान परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीको जीवनमा मिल्न पुगेको छ ।

काठमाडौं,  २२ असार । ‘धान खाने मुसा चोट पाउने भ्यागुता’ । अहिले यो उखान परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीको जीवनमा मिल्न पुगेको छ ।

केही महिनापछि नै उमेर हदका कारण सेवानिवृत्त हुन लागेका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक रेग्मीलाई केही दिनअघि कारबाहीस्वरूप शिक्षा मन्त्रालयमा तानिएको छ ।

२०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा फल प्रकाशित हुँदा त्रुटि भएको पाइएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई कारबाहीस्वरूप मन्त्रालयमा तानेका हुन् । सो परीक्षा फलमा प्राविधिक त्रुटि देखिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो र सोही समितिको प्रतिवेदनका आधारमा रेग्मीलाई कारबाही गरिएको हो ।

तर, छानबिन समितिको प्रतिवेदनका आधारमा टेकेर परीक्षा नियन्त्रक रेग्मीलाई कारबाही गरे पनि उनलाई बलीको बोका बनाइएको बताइन थालिएको छ । एसईईको परीक्षा फल प्रकाशित गरेकै दिन व्यापक त्रुटि भएपछि भोलिपल्ट सच्याइएको थियो । तर, नैतिक रूपले परीक्षा नियन्त्रक रेग्मी जिम्मेवार रहे पनि शैक्षिक जनशक्ति शाखाका इन्जिनियर नसिब आचार्यका कारण परीक्षाफल प्रकाशित हुँदा त्रुटि हुन पुगेको थियो ।

इन्जिनियर आचार्यले परीक्षा नियन्त्रक रेग्मीलाई ‘सबै तयारी पूरा भयो, परीक्षाफल प्रकाशित गर्दा हुन्छ’ भनेर जानकारी दिएपछि रेग्मीले सहमति जनाएका थिए । तर, इन्जिनियर आचार्यको विश्वासमा पर्दा परीक्षा फल त्रुटिपूर्ण मात्र निस्किएन, रेग्मी कारबाहीको भागीदार पनि हुनुप¥यो ।

आगामी भदौमा सेवानिवृत्त हुन लागेका रेग्मीलाई दुई महिनाअघि कारबाही गर्दा जागिरबाट बिदा हुने बेला उनले कारबाहीको दाग बोकेर जानुपर्ने भएको छ । शिक्षामन्त्रीले पत्रकार सम्मेलन नै गरेर ‘विस्तृत प्रतिवेदन अध्ययनपछि थप कारबाही गरिनेछ, अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरूप मन्त्रालय तानिएको’ कुरा बताएपछि रेग्मीलाई थप पीडा भएको बुझिएको छ ।

केही महिनापछि नै अनिवार्य अवकाशमा जान लागेका रेग्मीले यसअघि स्वैच्छिक अवकाशका लागि निवेदन दिएका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाश स्थगित गरेपछि उनले भदौसम्म कुर्नुपरेको हो । रेग्मीको ठाउँमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई पठाइएको छ ।

तत्कालीन परीक्षा नियन्त्रक रेग्मीलाई कारबाही गरे पनि एसईईको परीक्षाफल निकाल्ने क्रममा गम्भीर त्रुटि गर्ने इन्जिनियर आचार्यसहित अरू कर्मचारीहरूलाई कारबाही हुने वा नहुने विषयमा मन्त्रालय मौन रहेको छ एसईईको परीक्षा फलमा त्रुटि देखिएपछि मन्त्रालयले असार ११ गते शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

अक्षरांकन प्रणालीको उक्त परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ विद्यार्थीले सहभागिता जनाएका थिए । तर, परीक्षाफल प्रकाशित भएको दिनभन्दा भोलिपल्ट कतिपय विद्यार्थीहरूको ग्रेट प्वाइन्ट एभरेज र ग्रेडसिट सुधारसहित संशोधन भएको थियो । त्यसपछि मात्रै परीक्षा फल सार्वजनिक हुँदा त्रुटि भएको कुरा पत्ता लागेको थियो ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले ग्रेड सुधारका लागि मौका परीक्षाको तयारी गरिरहेको बेला परीक्षा नियन्त्रकलाई कारबाहीस्वरूप मन्त्रालय तानिएको हाे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Rai

    यस्तालाई जाने बेला अझ नाङ्गै पारेर उपत्यका घुमाउनु पर्ने।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?