झलनाथलाई पन्छाउँदै विद्या, शेरचनलाई पन्छाउँदै पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
झलनाथलाई पन्छाउँदै विद्या, शेरचनलाई पन्छाउँदै पुन

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • राष्ट्रपति र उपराष्ट्रपतिका लागि वाम गठबन्धनले विद्यादेवी भण्डारी र नन्दबहादुर पुनलाई नै दोहोराउने निश्चितप्रायः भएको छ ।
  • एमालेबाट राष्ट्रपतिका आकांक्षी झलनाथ खनाल र उपराष्ट्रपतिका लागि माओवादी केन्द्रबाट अमिक शेरचनलाई पन्छाउँदै पुरानैलाई दोहोराउन थालिएको हो ।

काठमाडौं, १८ फागुन । राष्ट्रपति र उपराष्ट्रपतिका लागि वाम गठबन्धनले विद्यादेवी भण्डारी र नन्दबहादुर पुनलाई नै दोहोराउने निश्चितप्रायः भएको छ । एमालेबाट राष्ट्रपतिका आकांक्षी झलनाथ खनाल र उपराष्ट्रपतिका लागि माओवादी केन्द्रबाट अमिक शेरचनलाई पन्छाउँदै पुरानैलाई दोहोराउन थालिएको हो ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुँदैछ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोराउने निश्चितजस्तै भएको नेताहरुले बताएका छन् ।

एमालेकै नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ पनि राष्ट्रपतिका लागि योग्य र तयार रहेको भन्दै त्यसको आकांक्षी देखिएका थिए । यद्यपि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई नै दोहोराउन चाहेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको बताइएको छ । २३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बसेर एमालेले औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन् । विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका नेता अमिक शेरचनले पनि राष्ट्रपतिमा दाबी गरेको तर एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोराउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका थिए । तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुन “पासाङ”लाई नै दोहोराउने तयारी गरिरहेको बताइएको छ ।

सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने तर भण्डारी र पुनले आफूहरूको कार्यकाल २ वर्षमात्र पुगेको भन्दै दोहोरिन “लबिङ” गरेका थिए । नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?