ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा

सारांश

  • वासिङ्टन, २ असोज ।
  • ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ ।
  • अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

वासिङ्टन, २ असोज । ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ ।आगामी सोमबारदेखि लागू हुने अमेरिकी करबृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करबृद्धिको घोषणा गर्नुभएको थियो । यस घोषणाले वासिङ्टन र बेइजिङबीचको तनाव अझ बढाउने विश्लेषकहरुको भनाइ छ । ट्रम्पले यसअघि नै ५० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करबृद्धि गरिसक्नुभएको छ । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सोयाबिनको आपूर्तिमा करबृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपतिका समर्थक कृषकहरुमाथि चीनको यस कदमले असर पारेको छ ।ट्रम्प प्रशासनले करबृद्धि गरेमा बेइजिङले पनि थप ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिइसकेको छ । यदि चीनले प्रतिकार गरेमा ट्रम्पले अरु २६७ अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिनुभएको छ । यस्तो परिस्थिति आएमा कूल ५१७ अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि हुनेछ अर्थात् चीनबाट अमेरिका प्रवेश गर्ने सबैजसो सामानमा करबृद्धि हुनेछ ।

सर्वसाधारणको प्रतिक्रिया सुनेपछि ट्रम्प प्रशासनले चीनबाट आयात हुने साइकलका हेल्मेटजस्ता केही बालसुरक्षा सामाग्रीहरुमा करबृद्धि नगर्ने जनाएको छ । एप्पल कम्पनीका स्मार्ट घडीहरु र अरु केही इलेक्ट्रोनिक्स सामानलाई पनि करबृद्धिको पछिल्लो सूचीबाट हटाइएको छ ।यहीबीच, ट्रम्प प्रशासनले चीनसँगको मध्यस्थता वार्तालाई खुलै राखेको जनाएको छ । “हाम्रा सरोकारलाई सम्बोधन गर्ने चीनसँग पर्याप्त अवसर छ,” ट्रम्पले एक विज्ञप्तिमा भन्नुभएको छ । “चिनीया नेताहरुले अनुचित व्यापारिक तौरतरिका अन्त्य गर्न तत्काल कार्य गर्नेछन् ।”

अमेरिकी प्रविधि प्रभुत्व समाप्त गर्ने बेइजिङको महत्वाकाङ्क्षालाई लिएर दुबै मुलुकबीच सङ्घर्ष जारी छ । अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले विदेशी प्रविधि हासिल गर्न चीनले अपनाएको नीति स्वीकार्य नरहेको जनाएको छ । चीनले अपनाएका प्रमुख रणनीतिहरुमा अमेरिकी व्यापारिक गोपनीयता फुत्काउनु र चिनीया बजारको प्रलोभन देखाएर विशिष्ट प्रविधिहरु चीनलाई हस्तान्तरण गर्नु रहेका छन् ।ट्रम्पले अमेरिकाको चीनसँगको व्यापार घाटा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गर्नुभएको छ । गत वर्षमात्र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा ३३६ अर्ब डलर पुगेको थियो ।

चिनीया सामानमा भएको पछिल्लो करबृद्धिले अमेरिकी सर्वसाधारणलाई थप पीडा हुनेछ । ट्रम्प प्रशासनले घरेलु प्रयोजनका सामानमा गरेको करबृद्धिले अन्ततोगत्वा उपभोक्तामाथि नै अतिरिक्त व्ययभार थप्नेछ ।ट्रम्पले राष्ट्रपतीय चुनावताका आयातित सामानमा करबृद्धि गर्ने र अमेरिकी कम्पनी तथा कामदारको प्रतिकूल हुने सबै व्यापारिक सम्झौताहरु रद्द गर्ने घोषणा गर्नुभएको थियो । तर विश्लेषकहरुले ट्रम्पको त्यस्तो कार्यले सफलता प्राप्त गर्न कठिन हुने बताउँदै आएका छन् ।

प्रतिकार गर्छौं – चीन

चीनले संयुक्तराज्य अमेरिकाले अर्को साताबाट लागू हुनेगरी गरेको पछिल्लो करबृद्धिको प्रतिकार गर्ने जनाएको छ ।“चीनसँग प्रतिकारात्मक कार्यवाही गर्नुको कुनै विकल्प छैन,” चिनीया बाणिज्य मन्त्रालयले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । तथापि यसअघि चेतावनी दिइएझैं ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने कुरा विज्ञप्तिमा उल्लेख छैन ।चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनले अपनाउने प्रतिकारात्मक कार्यवाहीका बारेमा उपयुक्त समयमा निर्णय लिइने बताउनुभयो । उहाँले अमेरिकाले अपनाएको संरक्षणवादी र एकतर्फी घोषणा चीनका लागि अस्वीकार्य रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?