दशैंमा मासु
सारांश
- कुमार चालिसे नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दूहरूले महान चाड भनेकै बडादशैं हो ।
- यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा रहँदै आएको छ ।
- आफूसँग पर्याप्त पैसा नभए पनि ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ ।
कुमार चालिसे
नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दूहरूले महान चाड भनेकै बडादशैं हो । यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा रहँदै आएको छ । आफूसँग पर्याप्त पैसा नभए पनि ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । सोही कारण भन्ने गरिन्छ, “दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई ।” विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ, तर सानो–सानो लापर्वाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।
मासु एक पौष्टिक आहार हो । यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि एकदमै अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर मासुबाट प्राप्त हुने् तत्वहरू त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन, यदि सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ । अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ, आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्यधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुबैमा कोलस्ट्रोलको मात्रा पनि शरीरमा बढ्न जान्छ । जसका कारण इच्छाएको परिकार खानबाट बञ्चित रहनुपर्ने हुन्छ ।
नेपालका मासु पसलहरूमा भएका लापर्वाहीको कारण मानिसहरूमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन । फोहर बधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरू सर्ने माध्यम बनेको पाइन्छ । यी र यस्तै कारणहरुले गर्दा विभिन्न किसिमका चाडहरु मनाउने बित्तिकै मानिसहरूको अस्पताल भर्ना हुने संख्या निकै बढेको पाइन्छ । चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिमारीहरू अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्यांकले देखाउँछ । सही ढंगले मासु र अन्य परिकार नपकाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खाने कुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छन् । यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा गएर जचाइहाल्नु पर्छ । यस्ता विभिन्न प्रकारका रोगहरुबाट बच्न तपाईहरुको व्यक्तिगत सरसफाई, तपाईंहरुले प्रयोग गर्ने खानेकुरा पकाएका वा काँचो नपाएका खानेकुरा कसरी सुरक्षा गर्ने भन्ने ज्ञानको कमी हो । यसपालिको दशैंमा आफ्नो स्वास्थ्यको ध्यान कसरी राखी आफ्ना पाहुनाको स्वास्थ्यमा समेत कसरी प्रभाव पार्न नदिने हो भन्ने विषयमा केही साधारण कुरामा ध्यान दिन सकिएमा उपचार खर्चको ठूलो जोखिम कम गर्न सकिन्छ ।
दशैंका लागि खसी बोका किन्दादेखि नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोंक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । यस्ता लक्षणहरु खसीबोका बिमारी भएको बेला देखाउने गर्छन् । अहिले काठमाडौं भित्रिने खसी बोकाहरुलाई सरकारीस्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ । सिङमा हरियो रंग पोतिएका खसी बोका स्वस्थ हुन भने रातो रंग दलिएका खसी बोका अस्वस्थ छन् । दुई–चार सयको लोभमा अवस्थ्य खसी बोका किनेर ल्याउँदा आफै भोलि बिमारी हुने खतरा बढी रहन्छ । त्यसपछि हामीले खसी बोकाको बध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुराहरूमा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।
यसरी मासुबाट रोगहरु स्वस्थ्य शरीरमा सर्दछ ।
– काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा
– बत्ती नभएको बेलामा फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा
– मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासुमा लोभिएमा
– मासुको परिका तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा
– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा
– मासु काट्ने अचानो सफा नभएमा
– पशुपन्छीको बधशाला सम्पूर्ण रुपमा फोहरयुक्त र असुरक्षित भएमा
– बध गर्नेवित्तीकै पकाएर खाएमा
स्वस्थ्य मासु कसरी छान्ने ?
– मासु हलुका गुलाबी रंगको हुन नहुने
– मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ ।
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ ।
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन ।
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नु पर्दछ ।
कुन मासु खाने कुन नखाने ?
–फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ ।
– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन । किनभने काँचो मासु नै रोगको भण्डार हो । काँचो मासुबाट रोग सर्ने सम्भावना अत्याधिक रहन्छ ।
– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो । किनकी मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्याधिक हुन्छ ।
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने
मासु भण्डारण गर्ने तरिका
– मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरुमात्र हुन्छन् ।
– मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैनत । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्ने हुँदा तल राखिएका अन्य खाना, पाकिसकेका परिकारहरु, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्याइएका परिकारहरु, फलफुल तथा तरकारीमा पर्नसक्ने खतरा हुन्छ ।
– काँचो मासु र पाकेको मासु एकै स्थानमा नराख्ने ।
दशैंमा आवश्यक ध्यान दिनुपर्ने कुराहरू
– घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
– विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– आफन्तहरूकहाँ दैनिक टिका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने्
– मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने
– शरिरलाई दैनिक व्यायाम गर्ने
– आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा–मासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपायहरु अपनाएर भण्डारण गरे–नगरेको आफैले निरिक्षण गरेर मात्र खाने
– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने ।
प्रतिक्रिया