दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
सारांश
- काठमाडौँ, २६ भदौ ।
- नेपाली क्रिकेटर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।
- एसोसिएट राष्ट्रका लागि मात्र ५ कोटा छुट्याइएकोमा सन्दिपले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
काठमाडौँ, २६ भदौ । नेपाली क्रिकेटर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । एसोसिएट राष्ट्रका लागि मात्र ५ कोटा छुट्याइएकोमा सन्दिपले आफ्नो स्थान सुरक्षित गरेका हुन् । सन्दिपलाई ननघरहर क्रिकेट क्लबले १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

यो उनको पछिल्लो दश महिनामा चौँथो विदेशी टि–२० लिग हुनेछ । यसअघि उनले क्यारेवियन प्रिमियर लिग (सिपिएल), क्यानडाको ग्लोवल टि–२० र विश्वको सबैभन्दा प्रतिष्ठित घरेलु क्रिकेट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् ।

उनी यतिबेला नेपालको सबैभन्दा व्यस्त क्रिकेटरका साथै धेरै कमाउने खेलाडी पनि हुन् । २०१८ को सुरु मै आइपिएलमा देल्ही डेयरडेविल्सले भारु २० लाखमा अनुबन्ध गरेसँगै उनको विदेशी लिगको यात्रा सुरु भएको हो । आइपिएल पछि उनलाई क्यारेवियन लिगका लागि एसटि किट्स एण्ड नेभिस पेट्रियाेट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । त्यसपछि सन्दिप अर्को क्यानडाको प्रतिष्ठित घरेलु क्रिकेट लिग ग्लोबल टि–२० मा मोन्ट्रियल टाइगरका तर्फबाट खेलेका थिए । जसमा उनलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरिएको थियो ।

सन्दिपको सम्पन्न तीन लिग र आसन्न एक लिगको आम्दानीको योग १ करोड माथि पुगेको छ । यो उनको लागि मात्र नभएर समस्त नेपाली क्रिकेटको लागि खुशीको खबर हो । सन्दिप मार्फत नेपाली क्रिकेटलाई विश्वले नियालीरहेको छ ।
प्रतिक्रिया