दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
सारांश
- बीबीसी।
- यतिबेला देशको पश्चिमी प्रान्त शिन जिंयाङमा अल्पसंख्यक मुसलमानप्रति आफ्नो रवैयाका कारण चीनको चर्को आलोचना भइरहेको छ।
- आलोचकहरुले चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाइ क्याम्पमा राखेको आरोप लगाएका छन्।
बीबीसी। यतिबेला देशको पश्चिमी प्रान्त शिन जिंयाङमा अल्पसंख्यक मुसलमानप्रति आफ्नो रवैयाका कारण चीनको चर्को आलोचना भइरहेको छ। आलोचकहरुले चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाइ क्याम्पमा राखेको आरोप लगाएका छन्। अगस्टमा संयुक्त राष्ट्रसंघको एउटा कमिटीले शिनजिंयाङमा करिव दश लाख मुसलमानलाई एक प्रकारको हिरासतमा राखिएको र उनीहरुलाई फेरि ‘शिक्षा’ दिइरहेको जनाएको थियो।
चीनले यो समाचारको खण्डन गरिरहेको छ। तर, यो क्रममा शिनजिंयाङमा मुसलमानलाई निसाना बनाइएको धेरै प्रमाण सार्वजनिक भए। चीनको पश्चिमी प्रान्त शिनजिंयाङमा बस्ने एक करोड भन्दा धेरै वीगर समुदायका अधिकांश मानिस मुसलमान छन्। उनीहरु आफूलाई सांस्कृतिक रुपमा मध्य एशियाका देशको निटक ठान्छन्। उनीहरुको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो हुन्छ।
तर, पछिल्ला वर्षहरुमा ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीइ समूह ‘हान’ शिनजियाङमा बस्नु एक संवेदनशील मुद्दा बनेको छ। वीगर समुदायका मानिसले आफ्नो रोजगारी र संस्कृति खतरामा परेको महशुस गर्न थालेका छन्।
शिनजियाङ चीनको पश्चिममा देशकै सबैभन्दा ठूलो प्रान्त हो। यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियाजस्ता केही देशसँग जोडिएको छ। भन्नलाई त यो राज्य तीब्बत जस्तै स्वायत्त क्षेत्र पनि भनिन्छ। तर, यहाँको सरकारको चाबी बेइजिङको हातमा छ। शताब्दीऔं देखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित छ। ऐतिहासिक सिल्क रुटका कारण यहाँ खुशीयाली छाएको छ। २० औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयकालागि मात्रै भएपनि शिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए। तर १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको एक भाग बन्यो।
अगस्ट २०१८ मा संयुक्त राष्ट्रसंघको एउटा मानवअधिकार कमिटी ‘पूरा वीगर स्वायत्त क्षेत्र नजरबन्दमा’ भएको बताएको थियो। यो कमिटीलाई करिव १० लाख मानिस बन्दी जीवन बिताइहेको बताइएको थियो। यो रिपोर्टको पुष्टि ह्युमन राइट्स वाचले पनि गरेको थियो। मानवअधिकार संगठनहरुका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकान्छ भने अर्कोतर्फ उनीहरुलाई चिनियाँ राष्ट्रपति शी जिनपिङप्रति वफादार रहेको कसम खान लगाइन्छ। साथै उनीहरुलाई आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ।
ह्युमन राइट्स वाचका अनुसार वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ। मानिसको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ र अनुहारलाई चिन्नकालागि क्यामरा पनि फिट गरिएको छ। अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन्।
शिनजियाङबाट सिधा समाचार पत्ता लाग्न मुश्किल काम हो। यहाँ मिडियामाथि प्रतिबन्ध लगाइएको छ। तर बीबीसीले कयौं पटक यो क्षेत्रबाट रिपोर्ट जुटाएको छ। र, आफैंले यी क्याम्प देखेको पनि छ।
बीबीसीको कार्यक्रम न्युजनाइटले कयौं यस्ता मानिससँग कुरा गरेको छ, जो पहिला जेलमा बसिसकेका छन्। ती मध्येका एक हुन्, अमिर।
अमिरले बीबीसीसँग भने– उनीहरुले मलाइ सुत्नसमेत दिँदैन थिए। मलाइ कयौं घण्टासम्म झुण्डाएर राख्थे। मेरो छालामा सुईले खोपिन्थ्यो। साथै यातना दिने सबै सामान मेरै अगाडि राखिएका हुन्थे। मैले अन्य मानिस चिच्याएको आवाज पनि सुन्थेँ।’ अजात कामका अर्का पूर्व कैदीले भने–जहाँ मलाइ राखिएको थियो, त्यहाँ खाना खाने समयमाम करिव १२०० मानिस हातमा प्लास्टिकको टोकरी लिएर चीन समर्थक गीत गाउँथे। उनीहरु सबै रोबट जस्तै देखिन्थे। उनीहरुको त आत्मा नै मरेको जस्तो देखिन्थ्यो। म उनीहरुमध्ये धेरै जनालाई चिन्दछु। उनीहरु सबै यस्तो व्यावहार गर्थे कि मानौं कुनै दुर्घटनामा आफ्नो स्मरण शक्ति गुमाएका हुन्।’
चीनले बारम्बार आफूमाथि पृथकतावादी इस्लामी गुटबाट खतरा रहँदै आएको बताउँछ। वीगर समुदायका केही मानिसले इस्लामिक स्टेट समूहसँग हतियार उठाएको चीनले दाबी गर्दै आएको छ।
२००९ मा शिनजियाङको राजधानी उरुमचीमा भएको दंगामा हान समुदायका २०० मानिसको मृत्यु भएको थियो। पछि यहाँ हिंसा बढेको छ। जुलाई २०१४ मा प्रहरी कार्यलय र सकारी कार्यालयमा भएको आक्रमणमा ९६ जनाको मृत्यु भएको थियो। अक्टुबर २०१३ मा बेइजिङको तियाननमेन स्क्वायरमा एउटा कार भीडमा घुस्यो र धेरै मानिसलाई कुल्चियो। चीन प्रशासनले त्यसकालागि शिनजियाङका पृथकतावादीलाई दोषी ठहर्याएको थियो। सरकारको ताजा कार्वाहीको पछाडि फेब्रुअरी २०१७ मा शिनजियाङको उरुमचीमा भएको छुरा प्रहारको घटनाले पनि काम गरेको छ।
चीनले शिनजियाङमा आफू ‘हिंस्रक आतंकवादी गतिविधि’ सँग जुधिरहेको बताएको छ। जेनेभामा संयुक्त राष्ट्रसंघको एउटा बैठकमा चिनियाँ अधिकारी हू लियानहेले दश लाख मानिसलाई हिरासतमा राखिएको विषयलाई झूटको संज्ञा दिएका थिए।
केही समय अगाडि चीनको मानवअधिकार विभागका एक अधिकारीले भनेका थिए–तपाइँले यो तरिका सबैभन्दा उपयुक्त होइन भनेर भन्न सक्नुहुन्छ। तर धार्मिक चरमपन्थीसँग जुध्ने यस्तै गरिनुपर्छ। किनभने पश्चिमा मुलुक इस्लामी चरमपन्थीसँग लड्न असफल भएका छन्। बेल्जियम र पेरिसमा भएको आक्रमण यसको प्रमाण हुन्। पश्चिम यो विषयमा असफल भएका छन्।’ चीन सामान्यताः शिनजियाङका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदैन। साथै शिनजियाङमा बाहिरी मासिन र संचारमाध्यमलाई पूर्णतया निषेध गरिएको छ।
विश्वभरमा वीगर समुदायप्रति चीनको व्यवहारको आलोचना हुँदै आएको छ। तर कुनै पनि मुलुकले आलोचना गर्नु बाहेक अन्य कुनै पनि कदम उठाएका छैनन्। अमेरिकामा कांग्रेसको चिनियाँ मामिला हेर्ने कमिटीले ट्रम्प प्रशासनसँग शिनजियाङमा मानवअधिकार उल्लघंनसँग जोडिएका कम्पनी र अधिकारीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको छ। कमिटीले आफ्नो रिपोर्टमा लेखेको छ–अल्पसंख्यक मुस्लिम समुदायलाई हिरासतमा राखिएको छ। उनीहरुलाई यातना दिने गरिएको छ। उनीहरुको धार्मिक र सांस्कृतिक मान्यतालाई प्रतिबन्ध लगाइएको छ। उनीहरुको दैनिक जीवन पनि कडा निगरानी राखिएको छ।’
संयुक्त राष्ट्रसंघका मानवअधिकार संगठनका नयाँ प्रमुख मिशेल बेशलेटले पनि शिनजियाङमा पर्यवेक्षकलाई शिनजियाङमा जाने अनुमति मागेको छ। तर, चीनले यो मागलाई ठाडै अस्वीकार गरेको छ।
प्रतिक्रिया