देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ

सारांश

  • काठमाडौं, १३ माघ- रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्।
  • छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन्।
  • वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान् भन्न थालेको आजको नागरिक दैनिकमा मदन ठाकुरले खबर लेखेका छन् ।

काठमाडौं, १३ माघ- रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्। छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन्। वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान् भन्न थालेको आजको नागरिक दैनिकमा मदन ठाकुरले खबर लेखेका छन् ।

५० वर्षपहिले पति गुमाएकी १०७ वर्षीया रमकलियादेवी हजरा दुसाधिनले धुर्मुस भगवान् र धुर्मुसले बनाएको आफ्नो बस्ती स्वर्गजस्तै लागेको बताइन्। जीवनमा अनेक हन्डर सहेकी रमकलियाले कुनै दिन परिवर्तन आउला र नयाँ, सफा तथा राम्रो घरमा बस्न पााइला भनेर सोचेकै थिइनन्। सय दिनमै उनले भन्ने गरेको भगवान् धुर्मुसले बस्ती स्वर्ग बनाएपछि उनमा खुसीको सीमा छैन।

धुर्मुसलाई देखाउँदै उनले भनिन्, ‘हमर सरकार इहे हए, हमर भगवान् इहे हए।’ सात पुर्खाले कल्पना गर्न नसकेको बस्ती बनाएर दुसाध, मुसहर, हजामलगायतका विपन्नहरुको घर बनाइदिने भगवान्लाई जुनीभरि सबैले पूजा गर्ने उनी बताउँछिन्।

आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुसले ४७ वटा घर, एउटा प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावरलगायतका ५० भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा शिलान्यास गरेका थिए। अहिलेसम्म बस्ती निर्माणको ९८ प्रतिशत काम पूरा भएको छ। एउटा भ्युटावरको निर्माण कार्य भइरहेको छ।एकीकृत नमुना सन्तपुर मुहसर बस्तीमा दिनहुँ सयौं व्यक्ति हेर्न आउँछन्। देशका ठूलाठूला नेता तथा कलाकार बस्तीमा आइरहेकोमा स्थानीय दलित स्वर्ग हेर्न आएको मान्न थालेका छन्।

७५ वर्षीया एकल महिला अनतियादेवी माझी ३५ वर्षअघि आफ्ना पतिको मृत्यु हुनुअघि छोराहरुले राम्रो घर बनाएर राख्लान् भनेका सम्झन्छिन्। तर नातिको पालासम्म आइपुग्दासम्म पनि उनको बास छाप्रोमै थियो। कुनै आर्थिक हैसियत नभएका पतिको इच्छालाई धुर्मुसले पूरा गरिदिएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो भाग्यमा आएर धुर्मुस भगवान्ले चमत्कार गरिदियो।’पाँच करोड ९५ लाखको लागतमा एकै ठाउँमा र उस्तै ढाँचामा बनेका यी घर भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारी मामपदण्डअनुसारका छन्। दुईतले घरका तल दुई कोठा र माथि दुई कोठा छन् भने शौचालय घरभित्रै छ।

उक्त नमुना बस्तीमा विद्यालय, मन्दिर, सामुदायिक भवन निर्माण भइसकेको र भ्युटावर निर्माण कार्य तीव्र गतिमा भइरहेको धुर्मुसले बताएका छन्। २६१ श्रमिकले दिनरात परिश्रम गरेर बस्ती तयार भएको हो। बस्तीका लागि अपेक्षा गरेजस्तो रकम आए पनि अझै एक करोड रुपैयाँ नपुगेको धुर्मुसले बताए। ‘९८ प्रतिशत काम सकिँदा एक करोड रुपैयाँ पुगेको छैन,’ धुर्मुसले भने, ‘परियोजना सम्पन्न हुने तिथि नजिकिँदै जाँदा रकम अभावको चिन्ता बढ्न थालेको छ। तर देशविदेशमा रहेका मनकारी सहयोगीबाट सहयोग पाउने आस छ।’

सन्तपुर एकीकृत नमुना बस्ती व्यवस्थापन समितिका संयोजक सत्यनारायण माझीले जीवनमा कहिल्यै नसोचेको घर पाउँदा निकै खुसी लागेको बताए। सबै घरमा रातो रङ लगाइएकाले टाढैबाट उक्त बस्ती आकर्षक देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?