देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा
सारांश
- काठमाडौं, १७ बैशाख ।
- सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो रहेको बताएका छन् ।
- ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज (सोमबार) उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
काठमाडौं, १७ बैशाख । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज (सोमबार) उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि उठेर सकारात्मक सोच र चिन्तन गर्न सकेमात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने भन्दै सभामुख महराले अहिले देशलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेको उल्लेख गरे । “देशलाई अहिले सकारात्मक सोच, चिन्तनको खाँचो छ”, उनले भने, “हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ ।”
ब्रह्मकुमारी राजयोग केन्द्रले सकारात्मक चिन्तन पद्धतिको विकास गर्ने अभियान सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै सभामुख महराले समाजमा शान्ति, सद्भाव स्थापना गर्न होस् वा तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलिरहेको उल्लेख गरे । “समाजमा शान्ति र सद्भाव स्थापना गर्न र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु”, महराले थपे, “आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोचको विकास गर्नतर्फ राम्रो भूमिका खेलेको छ ।”
ब्रह्मकुमारी राजयोगले अंगालेको दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई अध्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको सभामुख महराले बताए । हृदयदेखि नै सकारात्मक रुपान्तरण राजयोगको मूल सारतत्व रहेको आफूले बुझेको सभामुख महराको भनाई थियो । राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनि सँगसँगै रहेको भन्दै सभामुख महराले देशको नीति निर्माण गर्ने थलो संसदमा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेको बताए । सभामुख महराले संगम कोलोनीस्थित राजयोग केन्द्रले निर्माण गरेको ३ तले भवनको रिवन काटेर उद्घाटन गरेका थिए ।
प्रतिक्रिया