द्रुतमार्ग निर्माणमा कोभिड–१९ को प्रभाव शून्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
द्रुतमार्ग निर्माणमा कोभिड–१९ को प्रभाव शून्य

सारांश

  • काठमाडौँ।
  • राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन।
  • नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ।

काठमाडौँ।राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन। नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ।
 
मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ। उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो। खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे। आयोजना अहिले परामर्शदाता कम्पनी छनोटका क्रममा छ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२.६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा  कायापलट ल्याउने विश्वास गरिएको छ। द्रुतमार्गमा रहने ठूला–साना ८७ पुलमध्ये विशेष प्रकारका १६, ठूला ४९ र साना २५ पुल छन्। उक्त राजमार्गले ललितपुरमा ७.७, काठमाडौँमा चार, मकवानपुरमा ५३.२ र बारामा ७.६ किलोमिटर क्षेत्र समेट्नेछ। सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा शुरु गर्नेछ भने तीबाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि शुरु गर्ने बताइएको छ। उक्त मार्गमा ९९ कल्भर्ट निर्माण हुनेछन्।

महादेव डाँडामा ३.३५५, धेद्रेमा १.६३ र  लेनडाँडा १.४३ किमी लम्बाइका बोग्लाबेग्लै आते/जाते गर्न मिल्ने सुरुङ निर्माण गरिनेछ। मख्खुबेँसी, महादेवडाँडा, लेनडाँडा, राजदमार र निजगढमा माटो परीक्षणका लागि प्रयोगशाला बनाइएको छ। उक्त मार्ग निर्माणका क्रममा कटान गर्नुपर्ने ९७ प्रतिशत रूख काटिइसकिएको छ।

आयोजनालाई अघि बढाउने क्रममा २८ लाख घनमिटर माटो कटान गरिएको छ भने सडक छेउको पर्खाल निर्माण र माटो भर्ने काम पनि द्रूतगतिमै अघि बढेको छ। नेपाली सेनाले मक्खुबेँसी, सिस्नेरी, लेडडाँडा, बुदुने, महादेव डाँडा, धेद्रे, राजदमार, बागदेव र निजगढ क्याम्प खडा गरी कटिङ तथा फिलिङको काम गरिहेको छ। बाराको निजगढ इलाकाको १० किलोमिटर क्षेत्रमा द्रूतमार्गले २७ मिटर फराकिलो आकार लिइसकेको छ।

दर्जनौँको सङ्ख्यामा स्काभेटर, डोजर, लोडर, टिपरसहितको जनशक्ति अहिले अहोरात्र खटिरहेको छ। आगामी आर्थिक वर्षको प्रारम्भमै सुरुङ र पुललाई ११ वटा क्लस्टरमा विभाजन गरी तोकिएकै समयावधिभित्र पूरा गर्ने हिसाबले एकैसाथ काम अघि बढाउने प्रवक्ता पाण्डेले जानकारी दिए।

हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ। यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ। आयोजनामा पुल र सुरुङबाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ। सोमध्ये कूल ३१ किलोमिटरको काम करिब सम्पन्न भएको छ।

काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो दूरीको उक्त द्रुतमार्गको लागत अनुमान रु एक खर्ब ७५ अर्ब रहने अनुमान गरिएको छ। आयोजनाको समष्टिगत प्रगति नौ प्रतिशत र वित्तीय प्रगति पनि सोही हाराहारीमा छ।
 
ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जेडिने उक्त दु्रतमार्गको ट्र्याक पनि नेपाली सेनाले नै खनेको थियो। निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्नेछ। नेपाली सेनाले आवश्यकतानुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माण गर्नेछ। राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुतरूपमा नै अगाडि बढेको छ। निर्माण कार्यलाई तीव्रता दिने क्रममा सडकलाई २४ क्षेत्रमा विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीबाट काम गराउने प्रयास भइरहेको छ।

द्रुतमार्गका लागि सुरुङ र विशेष प्रकारका पुल निर्माणलाई भने सेनाले चुनौतीका रूपमा लिएको छ। सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान गरिएको छ। दायाँबायाँ  ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइको उक्त राजमार्ग चार लेनको हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?