धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
सारांश
- शिखरन्युज ।
- अब भदौ १ अर्थात शुक्रबारदेखि कार्यान्वयन हुने कानुनमा धर्म परिवर्तन गराउनमा लाग्ने विदेशी नागरिक ५ वर्ष जेल जानुपर्नेछ ।
- नेपालमा आएर नेपालीलाई नै प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने विदेशीलाई देश निकाला सहितको सजाय कानुनले तोकेको हो ।
शिखरन्युज । अब भदौ १ अर्थात शुक्रबारदेखि कार्यान्वयन हुने कानुनमा धर्म परिवर्तन गराउनमा लाग्ने विदेशी नागरिक ५ वर्ष जेल जानुपर्नेछ । नेपालमा आएर नेपालीलाई नै प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने विदेशीलाई देश निकाला सहितको सजाय कानुनले तोकेको हो ।
कानुन अनुसार कसैलाई पनि इच्छा विपरित धर्म परिवर्तन गराउन पाइनेछैन ।
यदि कुनै पनि व्यक्तिले धर्म परिवर्तन बनाउन संलग्न भएमा ५ वर्ष जेल सजायसहित ७ दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ । नेपालमा कुनै विदेशी नागरिक आएर जबर्जस्ती धर्म परिवर्तन गराउने काममा लाग्न पाउनेछैन ।
जुनसुकै धर्मावलम्बीलाई कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने खालका काम गर्न पाइने छैन ।
पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन् । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्दै ल्याइएको नयाँ अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ ।
अपराध संहिताको दफा १५८ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।’
धर्म परिवर्तन गराउने नेपालीको हकमा भने ५ वर्ष जेल र ५० हजार रूपैयाँ जरिवाना कानुनले तोकेको छ । कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदाय, वा वर्गको धार्मिक भावनामा आघात र्पुयाउन नहुने कानुनमा लेखिएको छ । त्यसरी आघात र्पुयाउने व्यक्तिलाई १ वर्षसम्म कैद र २० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया