नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई विद्यार्थी संगठनहरुबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
  • नेतृत्वबाहेक सबै कुरा मिलिसकेको र आज दिउँसो बस्ने कार्यदल बैठकले अन्तिम टुङ्गो लगाउने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिएका छन् ।

काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई विद्यार्थी संगठनहरुबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेतृत्वबाहेक सबै कुरा मिलिसकेको र आज दिउँसो बस्ने कार्यदल बैठकले अन्तिम टुङ्गो लगाउने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिएका छन् ।

आगामी महाधिवेशनसम्मका लागि सहमतिमै नेतृत्व छनोट गर्ने तयारी उनीहरूले गरेका छन् । “अनेरास्ववियु” र “अनेरास्ववियू (क्रान्तिकारी)”को एकीकरणपछि संगठनको नाम “अनेरास्ववियू” लेख्ने सहमति यसअघि नै भइसकेको छ । एकतापछि संगठनको कार्यालय पेरिसडाँडामा रहने र केन्द्रीय समिति ४९९ जनाको हुने तय भएको छ । अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहनेगरी केन्द्रीय समिति गठन गर्ने कार्यदलको सहमति देखिएको छ ।

अनेरास्ववियूमा ९ जनाको हाइकमाण्ड गठन हुनेछ भने त्यसमा अनेरास्ववियुका ५ जना र क्रान्तिकारीका ४ जना रहने छन् । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हाइकमान्डको संख्या बढ्न सक्ने बताएका छन् । उनले ९ जनादेखि १५ जनासम्मको हाइकमाण्ड हुन सक्ने उल्लेख गरे ।

हाइकमान्डमा अनेरास्ववियुका महासचिव ऐन महरसहित ४ जना उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेश लामा रहने निश्चित भएको छ । क्रान्तिकारीबाट हाइकमान्डमा रहने नेताहरूको टुंगो लाग्न बाँकी छ । पूर्वसहमतिअनुसार हाइकमाण्ड बनेमा क्रान्तिकारीका अध्यक्षसहित ८ जना उपाध्यक्ष र महासचिवमध्येबाट ४ जना हाइकमाइण्डमा रहने छन् ।

अनेरास्ववियूमा कम्तिमा ५४ जनाको स्थायी कमिटी हुने छ । त्यस्तै १६० जना सदस्य रहेको सचिवालय रहनेछ भने विभिन्न आयोगसहित २०० जनाको केन्द्रीय कमिटी रहने छ । क्रान्तिकारीमा २४३ सदस्यीय केन्द्रीय कमिटी छ ।

अनेरास्ववियुले ८५ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ । एकीकृत संगठनको केन्द्रीय कमिटीमा राख्ने गरी केन्द्रीय समिति सदस्य संख्या बढाउन लागिएको हो । अखिलमा आवद्ध सरकारी जागिरे, सरकारी नियुक्त पाएका र जनप्रतिनिधि निर्वाचित भएकाहरू एकीकृत संगठनमा सहभागी हुन नपाउने भएका छन् । अखिलमा यस्ता २० जना नेता छन् । रिक्त रहेका २० सहित ८५ केन्द्रीय सदस्य थप हुने अनेरास्ववियुका प्रवक्ता शर्माले बताए ।

नेतृत्वमा आआफ्नै दावी
अनेरास्ववियू नेतृत्वमा दुबै संगठनले दावी गरेका छन् । एकीकरण अन्तिम चरणमा पुगे पनि एकीकृत संगठनको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ । कार्यदलका सदस्य समेत रहेका क्रान्तिकारीका नेता रमेश मल्लले बिहीबार बस्ने कार्यदलको बैठकमा नेतृत्वको विषयले प्रवेश पाउने बताएका छन् ।

“दुई संगठनको अध्यक्ष मध्येबाटै नेतृत्व खोज्ने हो । नवीना लामा माननीय पनि भएको र अध्यक्षको कार्यकाल पनि सकिएको अवस्थामा रञ्जित तामाङले नेतृत्व गर्ने कुरा स्वभाविक हो”, उनले भने । तामाङबाहेक अरु विकल्प नभएको उनको दावी छ । उता एमालेनिकट अनेरास्ववियुबाट नेतृत्वका लागि ऐन महर दावेदार छन् । अनेरास्ववियुको महाधिवेशनकै बेला अध्यक्ष पदका दाबेदार रहेका उनी एकीकृत संगठनको पनि अध्यक्ष बन्ने दौडधुपमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ