नेपालको दोस्रो लामो पुल निर्माण पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नेपालको दोस्रो लामो पुल निर्माण पूरा

सारांश

  • तुलसीपुर।
  • नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ ।
  • दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो।

तुलसीपुर। नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो।

अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२र७३ देखि निर्माणकार्य शुरु गरेको हो। आव २०७६र७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए। “पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो”, उनले भने, “तर सम्झौता अवधि पूरा गर्नु चार महीनाअघि नै हामीले काम पूरा गरेका छौँ।”

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । उक्त पुलको आउँदो माघ महीनामा उद्घाटन हुनेसमेत उनको भनाइ छ। उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ। अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।

“पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो”, उनले भने, “भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ।”

यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन्। पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?