नेपालबारे मदन र माओको यस्तो बहस !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपालबारे मदन र माओको यस्तो बहस !

सारांश

  • निर्मल भट्टराई (स्वर्गको थिएटर कक्ष ।
  • आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ ।
  • दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् ।

निर्मल भट्टराई

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु दर्शक दीर्घाको सबभन्दा अग्रपङ्क्तिमा उत्सुकतापूर्वक सम्बाद सुन्न बसेका थिए । माओ र मदन भण्डारीको वैचारिक बहस भएकाले सबैको चासो उच्च हुनु अस्वभाविक जस्तो लाग्छ । सदाझैं कपाल पछाडि कोरेर चिनिया औपचारिक पोसाकमा माओ देब्रेतिरको ढोकाबाट र भादगाउँले टोपी, दौरा सुरुवाल लगाएर मदन भण्डारी दाहिनेतिरको ढोकाबाट एकैपटक प्रवेश गर्छन् । दुबै जना हाँस्दै लामो समय हात मिलाएर फराकिलो स्टेजमा राखिएका कुर्सीमा बस्छन् । बहस चिनिया क्रान्ति र नेपाली क्रान्तिमा केन्द्रित हुन्छ । )

माओ : मदन कमरेड, कार्ल माक्र्स र फेडेरिक एङ्गेल्स् यही हुनुहुन्छ । उहाँहरुले प्रतिपादन भएको माक्र्सवादी सिद्धान्त हरेक देशको विशिष्ट परिस्थितिमा लागु गर्ने क्रममा चीनमा नौलो जनवादी कार्यक्रमको निर्माण भएको तपाईंलाई थाहै छ । कार्लमाक्र्सले सर्बहारा बर्गको अधिनायकत्व कायम गरेर समाजवाद हुदै साम्यवादसम्म पुग्न सकिन्छ भन्नुभएको थियो । (दर्शक दीर्घाबाट माक्र्सले दाह्री मुसारे) तर त्यतिवेला हाम्रो देश रुसजस्तो पूजीवादमा पुगिसकेको थिएन । मेरो देशमा सर्बहारा वर्गको अधिनायकत्वको ठाउँमा मजदुर र किसानको संयुक्त अधिनायकत्व संभव थियो । यो चीनको विशिष्ट परिस्थितिको जगमा सम्पन्न गरिएको क्रान्ति थियो ।

मदनः (विचैमा) कमरेड माओ, चिनिया क्रान्तिको प्रभाव संसार भर नै पर्यो । तर यसको सबभन्दा बढी प्रभाव नेपालमा पर्यो । तपाईंका विचार, उद्धरण र फोटो भएको रातो किताव पढेर कम्युनिष्ट हुने लहरै चल्यो नेपालमा । म पनि निकै प्रभावित थिएं । चीनमा तपाईंले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको बेला कस्तो राज्य सत्ता कायम गरिएमा देश पुजीबाद वा पूजीबादबाट साम्राज्यबाद तर्फ जानुको सट्टा समाजबाद तर्फ डोहोर्याउन सकिन्छ भन्ने विचार अघि सार्नुभयो । त्यो बिचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रुपमा अन्यत्र कहीं लागू भएन । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीन जस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति तय गरेको थियो । झापा विद्रोह हुदै पार्टी बनेको हाम्रो पार्टी नेकपा(माले)ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो । तर, हामी निरन्तर बहस गर्दै आयौं । चिनिया क्रान्तिको मोडल हुबहु नेपालमा लागू हुन सक्छ कि सक्दैन भन्नेमा लामो बहस चल्यो । नब्बेको दशकको अन्तराष्टिय परिस्थिति, देशको धरातलीय यथार्थ र जनताको चेतनामा आएको परिवर्तनलाई समेत मध्यनजर राखेर मेरो अगुवाईमा हाम्रो पार्टीले जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको कार्यक्रमको रुपमा अगाडि सार्यो ।

माओ : ( प्रश्नवाचक मुद्रामा माक्र्स एङ्गेल्स्तिर फर्कन्छन् र मदनतिर फर्कन्छन् ) अलि प्रष्ट पार्नुहोस् न ।
मदन : हाम्रो निष्कर्ष के हो भने संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरु सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटामात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैन । अझ राज्यको बल प्रयोग गरेर एउटामात्र पार्टीको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो । वर्गीय विविधता रहेको समाजमा अनेक राजनीतिक पार्टीहरु स्वभाविक रुपमा हुन्छन् । नागरिकहरुको मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविक रुपमा राजनीतिक चिन्तनमा विविधता पैदा हुन सक्छन् । अझ कम्युनिष्ट पार्टी सर्वहारा—श्रमजीवी वर्गको पार्टी हो र यो सम्पूर्ण वर्गको पार्टी हुन सक्दैन । यो माक्र्सवादी—लेनीवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पार्टी हो र सर्वहारा—श्रमजीवी वर्गभित्र पनि अन्य विचार प्रणालीप्रति विश्वास गर्ने व्यक्ति हुन सक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन् । यस्तो स्थितिमा एउटामात्र पार्टीको एकछत्र अधिकार संवैधानिक रुपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एकप्रकारको निरङ्कुशता र तानाशाही हो । त्यसकारण हामीले राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहन्छौं । जनादेश प्राप्त पार्टी र व्यक्तिहरुले राजकीय अधिकार प्रयोग गरी चलाउनु पर्छ भन्ने पक्षमा छौं ।
( आफ्नो जीवनमा प्रयोग नभएर हुन सक्छ, बहुदलीय प्रतिस्पर्धा, जनादेशजस्ता शब्दावलीलाई माओले त्यति मन पराउदैनन् । बरु माक्र्स र एङ्गेल्स्चाहिं मुखामुख पछि “परिस्थिति अनुसार ठीकै हो” भन्ने भाव प्रकट गर्छन् । )

माओः तर कमरेड प्रचण्डले त….
मदनः हो, कमरेड प्रचण्ड हाम्रो विचार निर्माणको यो प्रक्रियासंग सहमत हुनुहुन्थेन । हामीलाई उहाँले सारसङ्ग्रहवादी भनेर आरोपित गर्नु हुन्थ्यो । उहाँले त्यही ताका “नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न”भन्ने एक दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भन्नु भएको थियो । त्यतिबेलै उहाँ माओवादलाई सैद्धान्तिक बटमलाईन बनाएर तपाईंको नेतृत्वमा चीनमा भएजस्तो दीर्घकालीन जनयुद्धको तयारीमा हुनुहुन्थ्यो । षणयन्त्रपूर्वक मलाई त्रिशुलीमा खसाईएको २ बर्षपछि जनयुद्ध शुरु भयो उहाँकै नेतृत्वमा । सो बलिदानी विद्रोहले पनि नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्न महत्वपूर्ण भूमिका खेल्यो तर चीनमा भएको जस्तो प्रकारको नयाँ जनवादी क्रान्ति नेपालमा सम्पन्न हुन सकेन । बरु मैले माथि भनेझैं बहुदलीय जनवादी चरित्र बोकेको सत्ता नेपालमा कायम भएको छ अहिले । अहिले नेपालबाट अर्को खुसीको कुरा आएको छ । तत्कालीन झापा विद्रोहका नायक नेकपा(एमाले)का अध्यक्ष के पि ओली र दशबर्षे जनयुद्धका नायक कमरेड प्रचण्डले समाजवादतर्फ शान्तिपूर्ण फड्को मार्ने लक्ष राखेर केही दिनमा पार्टी एकता गर्दैछन् । त्यसको अन्तिम तयारी चलिरहेछ । निर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्ता चलाउने नेकपा(एमाले)को नीतिबमोजिम केन्द्रदेखि स्थानीय तहसम्म कम्तिमा पाँचबर्ष सत्ता सञ्चालन गर्न जनादेश पाई सकेका छन् । (माओ मदनलाई बधाई दिन उठछन् लामो समयसम्म हात मिलाएर दर्शकतर्फ हाँस्तै हेरिरहन्छन् । गड्गडाहट ताली बजिरहन्छ । माक्र्स र एङ्गेल्स् सबभन्दा बढी समय ताली बजाइरहन्छन्)

माओ : एक देशको क्रान्तिको अनुभव अर्को देशमा हुबहु अनुकरण हुन सक्दो रहेनछ भन्ने कुरामा त म शुरुदेखि नै प्रष्ट छु । न रुसी क्रान्तिको अनुभव चीनमा हुबहु लागू भयो न चीनको अन्य देशमा । त्यहीकारण चीनको विशिष्ठतामा जन्मिएको नौलो जनवाद तपाईहरुले भगिरथ प्रयत्न गर्दा पनि नेपालमा प्रयोग गर्न सक्नु भएन । नेपालको क्रान्ति नेपालकै विशेषतामा आधारित भएर सन्पन्न भयो । त्यहाँ तपाईहरुलाई जनताको बहुदलीय जनवाद नै चाहियो । फेरि समय यस्तो बलवान रहेछ, यसले सबै कुरामा परिवर्तन ल्याई दिदो रहेछ । (सुस्केरा हाल्दै माक्र्सतिर फर्केर) आईस्टाइनले “परिवर्तन भन्ने शब्दबाहेक संसारको हरेक चिज परिवर्तशील छ” भन्थे । आखिर त्यही रहेछ । हाम्रो विगतको बुझाईमा संशोधन गर्नु पर्ने भएछ । माक्र्सले “सर्वहारा” को जे परिभाषा गर्नु भो, मैले मेरो समयमा चिनिया समाजको जसरी वर्ग विश्लेषण गरें ती अब अपुग भएजस्तो भईसक्यो । त्यति बेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रुपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योग धन्दा माथिको उसको स्वामित्व भन्दा प्रभावशाली र मूल्यवान हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर आदिका संचालकहरुले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योग धन्दाले प्राप्त गर्ने मुनाफा भन्दा कम छैन । उत्पादनका साधन माथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गर्नुभयो तर अहिले उल्लेखित सीप र सूचना भएमा त्यो “सर्वहारा” छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । यसले वर्गीय संरचनामा समेत व्यापक परिवर्तन ल्याईसकेछ । (माओ पुनः मदनतिर फर्कन्छन्) मेरो देशले त महान फड्को मारिसकेको छ । अब तपाईको देशचाहिं अब कसरी अगाडि बढ्ला त ?

मदनः चुनौतिहरु त छन् तर पार्टी एकता भएर स्थीर सरकार बनाउने, तीब्र आर्थिक समृद्धि गर्ने र समाजवादको आधार तयार पार्ने काममा कमरेडहरु लाग्छन् भन्ने नै मेरो ठम्याई हो । विचारमा मात्र होईन, समकालीन नेपाली राजनीतिका दिग्गज खेलाडि के पि ओली र प्रचण्डले यो विषय झन गहिराईमा बुझेका छन् । (एङ्गेल्स्तिर फर्केर) उहाँले कुनैबेला “क्रान्तिको बाटो के हुनेछ ?” भन्ने प्रश्नमा “खासगरी, यसले पहिले लोकतान्त्रिक संविधान बनाउनेछ र त्यसैको माध्यमद्वारा सर्वहारा —श्रमजीवी वर्गको प्रभुत्व बढाउदै लग्नेछ ।” भन्ने उत्तर दिनुभएको थियो । नेपालको सन्दर्भमा पनि लागू होला । समाजवाद निर्माणमा पनि यही कुरा लागू हुने पक्का छ । (एङ्गेल्स् बुढी औंला देखाएर मुस्कुराउछन् )
(आजको बहस सकिएको घण्टी बज्छ । सबैको चासो नेपालमै छ । मदनको तर्क सुनेर माक्र्स एङ्गेल्स् लगायत सबै सन्तुष्ट देखिन्छन् ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने
वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने
आठौँ बृहत् राष्ट्रिय खेलकूद
आठौँ बृहत् राष्ट्रिय खेलकूद
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
प्रविधिले अनुसन्धान सहज बनाउँदै
प्रविधिले अनुसन्धान सहज बनाउँदै

तपाईंले छुटाउनुभयो कि?