नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी

सारांश

  • काठमाडौं, १७ असार ।
  • प्रवुद्ध व्यक्ति समूह (ईजीपी)को भारतीय पक्षका संयोजक भगतसिंह कोस्यारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतको चाहना रहेको बताएका छन् ।
  • कोस्यारीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलसँग भेट गर्दै यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, १७ असार । प्रवुद्ध व्यक्ति समूह (ईजीपी)को भारतीय पक्षका संयोजक भगतसिंह कोस्यारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतको चाहना रहेको बताएका छन् । कोस्यारीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलसँग भेट गर्दै यस्तो धारणा राखेका हुन् ।

नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्विपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले आफ्नो कार्य (साझा प्रतिवेदन) सम्पन्न गरेको छ । साझा प्रतिवेदन सम्पन्न गरेलगत्तै भारतीय पक्षका संयोजक कोस्यारीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका हुन् ।

ईपीजीको कार्यकाल सकिनै लाग्दा उपप्रधानमन्त्रीको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्बन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विभिन्न पक्षमा छलफल भएको थियो । साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोस्यारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराए ।

भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री समेत भइसकेका कोस्यारी भारतीय जनता पार्टीका वरिष्ठ नेता मध्येका एक हुन् । साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोस्यारीलाई विशेष धन्यवाद दिएका थिए । उनले दुबै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यान्वयन गर्नेतर्फ ध्यान दिने विश्वास व्यक्त गरे ।

“जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ । अब प्रभावकारी कार्यान्वयनमा पनि तपाईले भूमिका खेल्नुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भने । उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तक्र्रिया भइरहनुपर्नेमा जोड दिए ।

“नेपाल–भारतबीचको सम्वन्धलाई बलियो र सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तक्र्रिया र छलफल हुन जरुरी छ”, उनको भनाई थियो । उनले दुई देशबीच आइपर्ने कतिपय व्यवहारिक समस्या पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
साझा प्रतिवेदन तयार भएपनि केही दिनभित्रै औपचारिक ढंगले दुई देशका सरकार प्रमुखलाई बुझाउने तयारी समितिको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेललाई भेटेपछि कोस्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?