नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !

सारांश

  • सन् १९९३ डिसेम्बरमा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद(साग)को समापनको दिनसम्म नेपालको फुटबलबाहेक अन्य खेलहरुको प्रतिस्पर्धा सकिसकेको थियो।
  • पदकतालिका स्वर्णविहिन थियो, नेपालको खातामा केवल ६ रजत र १५ कास्य।
  • तर, बलियो प्रतिद्धन्द्धि भारतसँग फाइनल भएपनि नेपालले स्वर्णको आशा मरेको थिएन्।

सन् १९९३ डिसेम्बरमा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद(साग)को समापनको दिनसम्म नेपालको फुटबलबाहेक अन्य खेलहरुको प्रतिस्पर्धा सकिसकेको थियो। पदकतालिका स्वर्णविहिन थियो, नेपालको खातामा केवल ६ रजत र १५ कास्य।

तर, बलियो प्रतिद्धन्द्धि भारतसँग फाइनल भएपनि नेपालले स्वर्णको आशा मरेको थिएन्। किनकी मणीविक्रम शाह जस्ता अद्भुत खेलाडीहरु नेपाली टोलीमा थिए। जसलाई नेपाली फुटबलको स्वर्णिम पुस्ता पनि भनिन्छ।

राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोलीमा मणीसँगै उमेश प्रधान, दीपक अमात्य, वसन्त गुरुङ, राजेश मानन्धर, राकेश थापा, ज्ञानु पुलामी, देवनारायण चौधरी, जीवन लामा र उपेन्द्रमान सिंह थिए। उनीहरुले फाइनलमा देखाएको अद्भुतपन नेपाली फुटबलको ठूलो उपलब्धि हो।

नेपालको समूहमा माल्दिभ्स र आयोजक बंगलादेश थिए। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बाडेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्काे समूहको विजेता बन्दै भारतले नेपालसँगको भेट पक्का गरेको थियो।

रेफ्रिले सिट्टी फुकेसँगै ब्यग्रप्रतिक्षित फाइनल सुरु भयो। अनेपेक्षित रुपमा भारतले खेलको २० मिनेटमै अग्रता लियो। तर, नेपाली खेलाडीहरुलाई त्यसले कुनै फरक पारेन्। उनीहरुले एकपछि अर्को अट्याक जारी राखे। पहिलो हाफ सकिनै लाग्दा उमेश प्रधानले नेपालका लागि बराबरी गोल फर्काए।

यसले नेपाली टोलीमा थप जोस थपेको थियो। उक्त खेल स्मरण गर्दै कुराकानीका क्रममा मणीले भनेका थिए, ‘हामी त्यतिवेला देशको इज्जतका लागि खेलिरहेका थियौं। जसरी पनि हामीलाई जित निकाल्नु थियो। पहिलो हाफमा बराबरी गरेपछि अब खेलमा हाबी हुनुपर्छ भन्ने थियो।’

तर, परिस्थिती ठिक उल्टो बन्यो। दोस्रो हाफको सुरुवातमै भारतले पुनः अग्रता लियो। खेलको अन्त्यसम्म नेपाली खेलाडीहरुले खेलमा फर्कन हरसम्भव प्रयास गरे। तर, सफल हुन सकेनन्। खेल सकिन एक मिनेट कम समय बाँकी थियो। नेपाली पवेलियन अनि दर्शकहरुमा सन्नाटा छाएको थियो। स्वर्णविहिन बनेर फर्कने भइयो भनेर धेरैले आशा मारिसकेका थिए।

त्यहीबेला उदाएको पात्र हो, मणी शाह। रेफ्रिले अन्तिम सिठ्ठी फुक्न ३० सेकेन्डमा जुन कमाल गरे। साढे दुई दशक वितिसक्दा पनि नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरुको आखाँमा त्यो पल अझैपनि झल्झत्ती आउँछ।

खेलसकिन ३० सेकेण्ड बाँकी हुँदा नेपालले डीबक्स नजिकै बाट फ्रिकिक पाएको थियो। त्यसबेला कर्नर र फ्रिकिक प्रहार गर्ने जिम्मा मणीको थियो। सो पल सम्झदा मणीले रोमाञ्चित बन्दै सुनाएका थिए, ‘मानिसमा सास छउन्जेल आस हुन्छ भनेझैं फुटबलको पनि ९० मिनेटभित्र जे पनि हुनसक्थ्यो। रेफ्रिले अन्तिम सिठ्ठी नफुकुनञ्जेल हामीले आस मारेका थिएनौं। करिब ३५ यार्ड टाढाबाट मैले गोलपोस्टको देब्रे साइड च्यापेर गरेको प्रहारले सोझै जाली चुमेको थियो। भारतीय गोलकिपरले बचाउने प्रयास त गरेका थिए तर सकेनन्।’

मणीको विश्वस्तरिय उक्त फ्रिकिकले नेपाललाई हारबाट मात्रै जोगाएन्। नेपाललाई स्वर्ण नै दिलायो। बराबरीपछि थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। जसमा नेपालले भारतलाई ४–३ गोलले हरायो र उपाधि जित्यो। मणिले टाइब्रेकरमा पनि गोल गरेका थिए। नेपाली फुटबलमा सिनियर टोलीले फुटबलतर्फ जितेको यो पहिलो उपाधि पनि थियो। जसले नेपाललाई स्वर्णविहिन हुन दिएन्।

नेपाली म्याराडोना
नेपाललाई स्वर्ण जिताउन महत्वपूर्ण भूमिका खेलेका मणीको नाम नेपाली फुटबलमा त्यसपछि चम्किएको हो। त्यसपछि उनलाई समर्थकहरुले नेपाली म्याराडोनाको उपमा दिएका हुन्।

डियागो म्याराडोनाले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउँदा नेपालीहरुले पहिलोपटक टेलिभिजनमा फुटबल हेर्दै थिए। म्याराडोनाको जादुयी खेलबाट प्रभावित भएका थुप्रै नेपालीहरु उनलाई पछ्याउथे। त्यहीबेला मणीपनि म्याराडोनाबाट प्रभावित हुँदै उनको सिको गर्न थाले।

उनको खेलहरु नियमित हेर्न थाले। उनकै शैलीमा बल अघि बढाउन थाले। जर्सी नम्बर पनि म्याराडोनाकै १० नम्बर रोजे। म्याराडोनाले जस्तै कर्ली कपाल पालेका मणि झट्ट हेर्दा म्याराडोनाजस्तै देखिन्थे। आफूलाई नेपाली म्याराडोना भनेको सुन्दा उनी खुशी पनि हुने गर्थे।

आफ्नो म्याराडोनासँगको तुलनालाई उनी यसरी भन्थे, ‘म्याराडोना नि लेफ्टी थियो। म पनि लेफ्टी थिए। खेल्ने शैली अनि स्पिड पनि उस्ताउस्तै थियो। कद र कपालपनि उस्तै भएकाले समर्थकहरुले नेपाली म्याराडोना भन्न थालेका हुन्।’

सन् २००२ को विश्वकप जापान र कोरियामा भएको थियो। उक्त विश्वकप हेर्न म्याराडोना जापान आउने खबर सुनेपछि मणीले पनि उनलाई भेट्ने आशाका साथ जापानको टिकट काटेका थिए। तर, सुरुमा भिसाको समस्याले जापान नआएका म्याराडोनाले फाइनलपनि होटलमै बसेर हेरेको सुनेपछि भेट्ने इच्छा मनमै बोकेर मणी स्वदेश फर्किए।

१७ वर्षमा डेब्यू
सन् १९६७ मा मणी काठमाडौंमै जन्मिएका थिए। पिता लक्ष्मणविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक थिए। त्यसले सानै उमेरदेखि उनको साइनो दशरथ रंगशालासँग जोडि दियो। बुबा एथ्लेटिक्सका खेलाडी रहिसकेकाले उनले मणीलाई पनि जुनियर बक्सिङ लगाएका थिए। तर, रंगशालामा मणीको ध्यान बक्सिङभन्दा फुटबलले खिच्यो र फुटबल खेल्न थाले।

सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट खेल्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए।

पहिलो वर्ष उपकप्तान भएर प्रिन्सेस कपमा सहभागी भएका मणी दोस्रो वर्ष कप्तानका रुपमा सहभागी थिए। १९८४ मा फाइनलमा थाइल्याण्डसँग हारेपछि नेपाल उपविजेता बनेको थियो। तर, प्रतियोगिताको उच्च गोलकर्ता भने मणी थिए। उनले त्यसबेला ८ गोल गरेका थिए।

सन् १९८५ मा ढाका सागमा नेपाली राष्ट्रिय टोलीबाट १७ वर्षको उमेरमा उनको डेब्यू भयो। राष्ट्यि टोलीबाट यति कम उमेरमा डेब्यू गर्ने उनी पहिलो खेलाडी थिए। उक्त सागमा नेपाल तेस्रो भएको थियो। प्रतियोगिता भुटानललाई गणेश थापाले ह्याट्रिक गर्दा दुई वटा पास मणिका थिए।

त्यसयता १३ वर्ष नेपाली राष्ट्रिय टोलीको फरवार्ड हुँदै मिडफिल्डर बनेका उनले ४८ वटा राष्ट्रिय प्रतियोगितामा नेपालका लागि प्रतिनिधित्व गर्दै ६ अन्तराष्ट्रिय गोलपनि गरेका छन्। सन् १९९८ को एशियाली खेलकुदमा नेपालको झण्डा बाक्ने सौभाग्य पाएका शाह एशियाली खेलकुदमा नेपालको झण्डा बोक्ने अहिलेसम्मकै एकमात्र फुटबल खेलाडी हुन्। सोहीवर्ष उनले अन्तराष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका थिए।

घरेलु फुटबल उनले लामो समय मनाङ मस्र्याङ्दी क्लबबाट खेले। मनाङलाई सीबाट बी हुँदै ए डिभिजनमा ल्याएर च्याम्पियन बनाउन उनको ठूलो भुमिका छ। पछिल्लो समय राखेपको प्रशिक्षक रहेका शाहको सोमबार साझ ५१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको छ। पछिल्लो समय उनलाई कलेजोको समस्या देखिएको थियो। उनको निधनले नेपाली फुटबल स्तब्ध बनेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    यो शबै राज निती स्वार्थ को तुर्टी मा यशरी नै ईमान्दार जनताहरुको प्रयोग हुदै आयको छ गेम राष्ट्रको स्वाभीमान हो बेबस्थीत छैन जन्मन्छ नेपाली आमाले ईमान्दार पुत्र जस्को काम छैन नेपालमा !शद्रा शुमन!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
किन लागे प्रचण्ड माछाको पछाडि ?
किन लागे प्रचण्ड माछाको पछाडि ?
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त
जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त
डोनल्ड ट्रम्प र  किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
डोनल्ड ट्रम्प र किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग

तपाईंले छुटाउनुभयो कि?