किन लागे प्रचण्ड माछाको पछाडि ?
सारांश
- काठमाडौं, २४ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” माछाको पछाडि लागेका छन् ।
- उनी किन माछाको पछाडि लागे ?
काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” माछाको पछाडि लागेका छन् । उनी किन माछाको पछाडि लागे ? यसको जवाफमा प्रचण्ड स्वयंले भनेका छन्, “खाद्यान्न आयातमा ठूलो रकम विदेशिइरहेको छ । त्यो अवस्थालाई अन्त्य गर्नु जरुरी छ ।”
अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा पर्याप्त ध्यान नदिँदा खाद्यान्न आयातमा ठूलो धनराशी खर्चिनु परेकोमा चिन्ता व्यक्त पनि गरेका छन् । राजधानीमा आयोजित “दीगो मत्स्य तथा मत्स्यपालनमा विविधिकरण” सम्बन्धी आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि खाद्यान्न आयातमा ठूलो रकम खर्च भइरहेको बताए ।
नेपालको संविधानले खाद्यान्न अधिकारको ग्यारेण्टी गरेको भएपनि कृषि र मत्स्यपालनका क्षेत्रमा अझै धेरै गर्नुपर्ने प्रचण्डको भनाई थियो । “एकातिर ठूलो संख्यामा युवाहरु प्रवासिन बाध्य छन्”, अध्यक्ष प्रचण्डले भने “अर्कोतिर खाद्यान्न आयातमा हामीले धेरै पैसा विदेश पठाइरहेका छौं । यो स्थितिलाई परिवर्तन गर्नु जरुरी छ ।”
नेपालमा मत्स्यपालनका क्षेत्रमा कतिपय चुनौती रहेको बताउँदै अध्यक्ष प्रचण्डले राज्यका तर्फबाट मत्स्यपालनमा सक्रिय किसान तथा व्यापारीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
बजारमा स्वस्थकर माछा पुराउने र बजारको खोजीको चुनौती रहेको बताउँदै अध्यक्षले यस क्षेत्रमा लागेका किसानहरुले माछापालन गर्दा एकैपटक ठूलो संख्यामा माछा मर्ने, बीऊ नपाइने, बजार नपाइने र झिनो प्राविधिक सहयोग पाइने अवस्थाका कारण ठूलो नोक्सानी बेहोरिरहेको अध्यक्षले औंल्याए ।
नयाँ संविधानको निर्माण र निर्वाचनसँगै नेपाली जनताले विकास, सुशासन र समृद्धिको अपेक्षा राखेको बताउँदै अध्यक्षले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिए । मत्स्यपालनदेखि अन्य कृषि क्षेत्रमा राज्यले पर्याप्त चासो र ध्यान दिन सके यसबाट समृद्ध नेपालको निर्माणमा ठूलो योगदान दिने बताए ।
अध्यक्ष प्रचण्डले तराईदेखि हिमालसम्म मत्स्यपालनले विकास गरेको भएपनि चुनौतीहरु रहेकोले राज्य र व्यवसायीहरुले झन ठूलो प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल मत्स्यपालन समाजले आयोजना गरेको कार्यक्रममा बिभिन्न व्यक्तित्वहरु समेत अध्यक्ष प्रचण्डबाट सम्मानित भएका थिए ।
प्रतिक्रिया