पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनविरुद्ध काउन्सिलमा लाग्यो उजुरीका चाङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३२ असार ।
  • वि.
  • सं २०७३ मंसिरमा “जनआह्वान” साप्ताहिकमा प्रकाशित “टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत ?

काठमाडौँ, ३२ असार । वि.सं २०७३ मंसिरमा “जनआह्वान” साप्ताहिकमा प्रकाशित “टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत ?” शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको दावीसहित गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी हाले । सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकीले पनि २०७३ मंसिरमा “जनमञ्च” साप्ताहिकमा प्रकाशित “सशस्त्रमा राणा शासन” शीर्षकको समाचार झुटो भएको भन्दै काउन्सिलमै उजुरी हाले ।

माथिका यी दुई घटना प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समयमा पत्रकार आचारसंहिता उल्लंघनका घटनालाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी पर्ने क्रम तीब्र छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन लगायतका सञ्चारमाध्यमले झुठा समाचार प्रकाशन÷प्रसारण गरेको र चरित्र हत्या गरेको लगायत उजुरी परेका छन् ।

काउन्सिलमा आर्थिक वर्ष २०७४÷७५ मा १ सय ६५ वटा पत्रकार आचारसंहिता सम्बन्धी उजुरी परेका छन् । त्यसैगरी, आ.व. २०७३÷७४ मा १ सय १२, आ.व. २०७२÷७३ मा १ सय १, आ.व. २०७१÷७२ मा ५१, २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका थिए । आ.व. २०७४÷७५ को पछिल्लो तीन महिनाको तथ्यांकअनुसार चैतमा ७, वैशाखमा ९ र जेठमा ९ वटा उजुरी परेका छन् । काउन्सिलमा परेका उजुरीमध्ये अधिकांश उजुरी फछ्र्यौट भइसकेका छन् ।

काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारको आफैँले अनुगमनसमेत गर्दै आएको छ । काउन्सिल आफैँले अनुगमन गर्दा पनि पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको पाइन्छ । माथिको तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि काउन्सिलको सक्रियता बढ्दै छ । पत्रकार आचारसंहिता उल्लंघनका घटना झन् झन् बढ्दै छन् र आम पाठक, स्रोता र दर्शक सचेत हुँदैछन् । यी उजुरीमध्ये अधिकांश उजुरी झुठो समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मानहानी भएको लगायतका छन् ।

मिडियाले जथाभावी बोलेर र लेखेर दुःख दिएको खण्डमा उजुरी गर्ने ठाउँ पनि रहेछ भन्ने आम मानिसमा चेतना पछिल्लो चरणमा ह्वात्तै बढेको छ । यही कारणले काउन्सिलमा उजुरीको संख्या बढ्दै गएको हुनसक्ने काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले बताए । आचारसंहिता उल्लंघनका घटना पत्रपत्रिका, रेडियो र टेलिभिजनभन्दा पनि अनलाइन पत्रिकामा सबैभन्दा बढी रहेको पाइन्छ । काउन्सिलले गरेको अनुगमनको प्रतिवेदन हेर्ने हो भने पनि आचारसंहिता उल्लंघन बढेको पाइएको छ ।

विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था भएपछि उजुरीको संख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । “एउटा, भर्खरै पत्रकारितामा प्रवेश गर्ने नयाँ पत्रकारबाट नजानेरै आचारसंहिताको उल्लंघन हुन्छ भने अर्कोतर्फ कतिपय त्यस्ता पत्रकार छन्, जसले जानीजानी शक्तिको आडमा उल्लंघन गर्छन्”, सूचना अधिकृत खनालले भने ।
आचारसंहिता उल्लंघन गर्नेलाई काउन्सिलले अन्तिम कारवाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्यांकन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारवाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्ने प्रावधान रहेको छ ।

स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । काउन्सिल ऐन भने २०४८ सालमा ल्याइएको थियो । काउन्सिललाई अझै अधिकारसम्पन्न बनाउनका लागि नयाँ काउन्सिल ऐन ल्याउने तयारी भइरहेको छ ।

नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी भएको हो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार आचारसंहिता पत्रकारहरुको नैतिक बन्धन जस्तै हो, त्यसैले पत्रकारिता क्षेत्रलाई थप मर्यादित र विश्वसनीय बनाउनका लागि यसको इमान्दारीपूर्वक पालन गर्नुपर्ने बताउँछन् । आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गनुपर्ने लगायत १५ बुँदा उल्लेख गरिएको छ ।

त्यसैगरी, पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, भेदभाव हुने गरी र निजी स्वार्थ पूर्तिका लागि सूचनाको सम्प्रेषण गर्न नहुने र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने, विभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुने, फोटो तथा दृश्यको गलत प्रयोग गर्न नहुने लगायतका बुँदा उल्लेख छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?