पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
सारांश
- काठमाडौं, माघ २९ ।
- पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधिसभा सदस्य अग्नी सापकोटाले पर्यटन क्षेत्रमा आउने चाहना प्रस्तुत गरेका छन् ।
- समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को सोमबार राजधानीमा सम्पन्न पाँचौ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको जिम्मेवारी लिन आफूले पार्टीमा पनि कुरा गरिसकेको बताएका हुन् ।
काठमाडौं, माघ २९ । पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधिसभा सदस्य अग्नी सापकोटाले पर्यटन क्षेत्रमा आउने चाहना प्रस्तुत गरेका छन् । समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को सोमबार राजधानीमा सम्पन्न पाँचौ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको जिम्मेवारी लिन आफूले पार्टीमा पनि कुरा गरिसकेको बताएका हुन् ।
तर, पर्यटनमन्त्री भएर आउने कि पार्टीको विभागीय जिम्मेवारी लिएर भन्ने कुरा भने उनले खुलाएनन् । नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्नेमा सापकोटाको जोड रहेको थियो ।
उनले मुलुक सम्बृद्धिको मुद्दातर्फ अघि बढिरहेको सन्दर्भमा त्यसको पहिलो आधारशिला पर्यटन क्षेत्र नै हुने धारणासमेत राखे । पर्यटन क्षेत्रमा आउन आफूले चाहेको भन्दै उनले पर्यटन विकास र प्रवद्र्धनको स्पष्ट खाका तयार पारेर संसद र पार्टीमा दर्ज गर्ने समेत बताए ।
सञ्चारमन्त्री हुँदा पत्रकारहरुको लागि विभिन्न कामहरु गरेको स्मरण गर्दै उनले पर्यटन पत्रकारहरुको लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने धारणा पनि राखे ।
नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा यूवा नेता प्रदिप पौडेलले पर्यटन विकासका लागि नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताए । राज्यले यति पर्यटक ल्याउँछु र उत्ति पर्यटक ल्याउँछु भनेर लक्ष्यमात्रै लिएर पर्यटन विकास नहुने बताउँदै उनले त्यसका लागि आधार तय गरिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन पत्रकारहरुसँगको समन्वय र सहकार्य गरेर अघि बढ्ने आश्वासन दिए । त्यस्तै नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्वसदस्य राजेन्द्र प्रसाद सापकोटाले पर्यटन पत्रकारहरुले दुरदराजका समाचार लेख्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए ।
नाटोजका अध्यक्ष शिव अधिकारीले अहिलेकै अवस्थामा पर्यटकको संख्यात्मक वृद्धिको भाषणबाजी गर्नुको कुनै तुक नहरेको बताउँदै त्यसका लागि आधार तयार गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रमबीच निर्विरोध रुपमा निर्वाचित नाटोज नयाँ कार्यसमितिलाई पूर्व सञ्चारमन्त्री सापकोटाले माला र अविर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
गन्तव्य नेपाल गु्रपका शिव अधिकारीको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, प्रदेश नम्बर २ बाट राष्ट्रिय समाचार समितिका विकास लोहनी, प्रदेश नम्बर ३ बाट राजधानी दैनिकका मधुजंग पाण्डे, प्रदेश नम्बर ४ बाट रेडियो जननीका विमला भण्डारी, प्रदेश नम्बर ५ बाट रेडियो नेपालका भुषण पोखरेल, प्रदेश नम्बर ६ बाट न्यूज २४ टेलिभिजनका संगम बानियाँ र प्रदेश नम्बर ७ बाट दि राईजिङ नेपाल दैनिकका नारायण उपाध्यय निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि पाँच जना मात्रै उपाध्यक्ष रहेकोमा राज्यको पुनर्संरचनाअनुसार सात प्रदेश स्तरीय संगठनात्मक संरचना बनाउँदै सात जना उपाध्यक्ष बनाइएको हो ।
त्यस्तै महासचिवमा अर्थ र व्यापार साप्ताहिकका नविन काफ्ले, उपमहासचिवमा राससका सिवी अधिकारी, सचिवमा शिखरन्यूज डटकमका सुजन पन्त निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मेगा टेलिभिजनका कल्पना महर्जन र सह–कोषाध्यक्षमा ईआर्थिक डटकमका तिर्सना गिरी निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरुमा चक्रपथ डट कमका कविता अधिकारी, सगरमाथा टेलिभिजनका श्रीकृष्ण सुवेदी, न्यूजसेवा डटकमका विष्णु पोखरेल, अर्थको अर्थ डटकमका शंकर पण्डित, नेपाल समाचारपत्र दैनिकका दिपेन्द्र थापा, इमेज टेलिभिजनका भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र जनताटाइम्स डटकमका किरण बुढाथोकी रहेका छन् ।
सो अवसरमा पर्यटन धरोहर अवार्डबाट बरिष्ठ पर्यटन व्यवसायी तथा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेलाई सम्मानित गरिएको थियो । त्यस्तै माउन्टेन डिलाइट्स टे«क्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशकसमेत रहेका टुरिजम म्यान अफ दि इयर २०१७ कमल सापकोटा, हिमालयन कैलास ट्राभल्स एण्ड टुर्सका प्रवन्ध निर्देशक टासी गुरुङ, डिके ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार घिमिरे, लिभिङ एडभेन्चर टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक अनिल लामा, बरिष्ठ टुरिष्ट गाइड विष्णु ज्ञावाली र गायिका रानु निरौलालाई सम्मानित गरिएको थियो ।
त्यसैगरी नाटोजले हरेक वर्ष दिँदै आएको दश हजार धन राशीसहितको नाटोज पर्यटन पत्रकारिता सम्मान २०७४ बाट रेडियो नेपालका निर्देशक गोविन्द चिमोरियालाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया