अझै शक्तिशाली बन्ने दाउमा देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अझै शक्तिशाली बन्ने दाउमा देउवा

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन्।
  • यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

आसन्न महासमिति बैठकमा आफूअनुकूल विधान संशोधन गरेर पार्टीभित्र शक्तिशाली रहिरहने उद्देश्य देउवाको छ, जसलाई उनी निकट केन्द्रीय सदस्यहरूले सघाइरहेका छन्।

त्यसको ठीकविपरीत चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय कार्यसमितिका युवा सदस्यहरूको एउटा जमात भने महासमिति बैठक हुँदै ‘अर्ली महाधिवेशन’ बोलाउन बाध्य पारेर नेतृत्व परिवर्तनको दिशासम्म पार्टीलाई लैजाने जनमत बनाउने प्रयत्नमा लागेका छन्।

त्यसलाई रोक्न सभापति स्वयं र उनी निकट सदस्यहरू यतिबेला अग्रसर देखिन्छन्। निर्वाचनमा पार्टीको पराजयपछि त्यसको जिम्मेवारी लिँदै नेतृत्वबाट विश्राम लिन देउवामाथि चौतर्फी दबाब परेको थियो।

तत्कालका लागि आफूविरुद्धको आक्रोश मत्थर पार्न उनले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ता बनाए। चुनावअघि त्यही पदमा गगन थापालाई ल्याउने आश्वासन देउवाले दिएका थिए। केन्द्रीय कार्यसमितिको माघ ४ मा बसेको बैठकमा देउवाले निर्वाचनको समीक्षा भनेर एजेन्डा राखेनन्। समीक्षाका लागि पछि छुट्टै बैठक राख्ने भन्दै त्यतिबेला उनले राष्ट्रिय सभा निर्वाचनको विषयलाई मात्रै एजेन्डाका रूपमा प्रस्तुत गरे।

निर्वाचन हारको रापतापमा नेतृत्वप्रति जुन स्तरमा आक्रोश उठदै थियो, त्यसलाई एक हदमा साँघुर्‍याउन देउवा सफल भए। राष्ट्रिय सभा निर्वाचनलगत्तै चुनावको समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने र त्यसैले महासमिति बैठकको स्थान र तिथि तय गर्ने भन्दै माघ ४ गते सुरु भएको बैठक ५ गते नै सम्पन्न गरिएको थियो। देउवानिकट नेताहरू चैत दोस्रो साताभित्र महासमिति बैठक बोलाउनुपर्ने पक्षमा छन्।

कांग्रेसका युवा नेता थापा जुन उद्देश्य र दृष्टिकोणका साथ महासमिति बैठक बोलाउन दबाब दिइएको हो, त्यसलाई विषयान्तर गराएर विधान संशोधनमार्फत पुनस् अहिलेकै नेतृत्व बलियो बन्ने प्रयास भइरहेको बताउँछन्। ‘पार्टीको वैचारिक, संगठनात्मक र नेतृत्व परिवर्तनको मुद्दालाई डाइभर्ट गराई विधान आफ्नोअनुकूल संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने पक्षमा नेतृत्व लागिरहेको देखिन्छ,’ थापा भन्छन्, ‘यसले पार्टी सुधारका सबै ढोका बन्द हुने अवस्था छ र उही कर्मकान्डी ढंगबाट पार्टी सञ्चालन हुने आमशंका छ।’

थापाले लिएको शंका यतिबेला आम कांग्रेसजनमा पनि व्याप्त छ। सभापति देउवाले नेतृत्वमा आएको दुई वर्ष बित्दा पनि उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन्। यसो हुनुमा उनी विधानलाई दोष दिने गर्छन्।

विधानअनुसार सभापतिले पदाधिकारी मनोनयन प्रस्तावमात्रै गर्न पाउँछ। त्यसलाई महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्छ। यही प्रावधानलाई देउवा हटाउन चाहन्छन्। मनोनीतको संख्या बढाउने र निर्वाचितको संख्या घटाउनुपर्ने पनि उनको भित्री ध्येय रहेको स्रोत बताउँछ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dipak Karki

    यस्ता गलत मान्छे जति शक्तिसाली भयो देश, जनता र पार्टी समेत लाई त्यत्ती नै हानी पुग्छ।

    Comment Author

    Dipendra Keshari Basnet

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?