पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना

सारांश

  • काठमाडौं, २६ माघ- चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् ।
  • औपचारिक शिक्षा कक्षा ५ पास उनी परिवारको आर्थिक अवस्था सामान्य रहेको बताउँछन् ।
  • औपचारिक शिक्षा कम भएपनि तेज दिमागका कारण प्राविधिक क्षेत्रमा उनी अघि बढिरहेका छन्, आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट दीपेन्द्र अधिकारीकले लेखेको खबर छ।

काठमाडौं, २६ माघ- चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी परिवारको आर्थिक अवस्था सामान्य रहेको बताउँछन् । औपचारिक शिक्षा कम भएपनि तेज दिमागका कारण प्राविधिक क्षेत्रमा उनी अघि बढिरहेका छन्, आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट दीपेन्द्र अधिकारीकले लेखेको खबर छ।

पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणाम स्वरुप अहिले उनी आफू सहित दुई जना चढ्न मिल्ने जहाज बनाइरहेका छन् । जहाजमा अब इन्जिन राख्न मात्र बाँकी छ । हावाको वहन मिलाउने पंखा र अन्य आवश्यक सामान जडान भइसकेको छ । स्टील, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामाग्री जहाजका कच्चा पदार्थ बनेका छन् ।

निर्माण कार्य सकिँदा करिब डेढ क्वीन्टलको जहाज बन्ने र २० दिनभित्र उडाएर देखाउने सरोजको दावी छ । जहाजभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ । सरोजले आँटेको काममा परिवारको पनि उस्तै साथ छ ।

करिव २ महिनाकै अन्तरालमा आफूले धेरै काम सकिसकेको उनले बताए । काम ६ महिना अघि सुरु गरेपनि निरन्तर पानी परेकाले पछिल्लो २ महिनामा कामले रफ्तार पाएको उनी बताउँछन् । जहाज बनाउनका लागि उनले कच्चा पदार्थ, काठमाडौं, नारायणगढ र विरगंजदेखि ल्याउने गरेका छन् । निरन्तर यसै काममा लागेको बताउँदै सरोजले भने,‘जहाज र प्यारासुट बनाएर आकाशमा उडाएर देखाउँछु ।’ प्यारासुटका लागि आवश्यक सामान लिन उनी शुक्रबार पोखरा जाँदैछन् ।

मोटरसाइकल, कार र अन्य ठूला गाडी पनि आफूले बनाउन सक्ने उनी बताउँछन् । गाडी चलाउनदेखि, वेल्डिङ, वाएरिङका काम समेत उनले जानेका छन् । उनले बनाउँदै गरेको प्लेन हेर्नकै लागि अहिले दैनिक करिब २ सय जना आउने गरेका छन् । केही गर्छु भनेपछि इच्छाविपरीत जान नसक्ने भन्दै घर बनाउने पैसा सबै जहाज बनाउन खर्च गरेको उनले बताए । काठमाडौंबाट पाइलट र ईञ्जिनियर आएर प्लेन निर्माणको काम हेरेर शुभकामना दिई गएको उनी बताउँछन् ।

जहाज बनाउन हालसम्म ५ लाख खर्च भइसकेको र अब २ लाख लाग्ने उनले बताए । यस अघिका सबै खर्च विदेशबाट बुवाले पठाइदिएका हुन्, सरोज भन्छन्,‘अब लाग्ने पैसा पाए सहयोग लिन्छु नत्र बुबाले मै दिउँला भन्नु भा’छ ।’ बुवा कतारमा गाडी चलाउँछन् ।

विदेश जाँदा जहाज चढें
२ वर्ष अघि बैदेशिक रोजगारका लागि साउदी पुगेका उनी खासै राम्रो नभएपछि ५ महिनामै घर फर्केका थिए । ‘पहिलो पटक जहाज दुवइ जाने क्रममा चढेँ, उनले भने । ‘अहिले आकाशमा भरतपुर काठमाडौं जाने जहाज उडेको हेर्छु,’ उनले भने,‘गाउँलेहरु आउँछन्, मेरो काम हेर्छन् अनि यो बौलाहा भएछ भन्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?