पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
सारांश
- शिखरन्यूज, काठमाडौं, ५ फागुन – पार्टी एकताका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज थप छलफल गर्दैछन् ।
- दुई नेताको भरमा रहेको पार्टी एकताका लागि आज दुईजनाबीच मात्र छलफल हुँदैछ ।
- आज हुने छलफलले पार्टी एकताका बाँकी विषय टुंगो लगाउने जनाइएको छ ।
शिखरन्यूज, काठमाडौं, ५ फागुन – पार्टी एकताका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज थप छलफल गर्दैछन् । दुई नेताको भरमा रहेको पार्टी एकताका लागि आज दुईजनाबीच मात्र छलफल हुँदैछ । आज हुने छलफलले पार्टी एकताका बाँकी विषय टुंगो लगाउने जनाइएको छ ।
पदीय बाँडफाँड र एकताको टुंगो भएपछि मात्र सरकार विस्तार गर्ने भन्दै दुवै नेता छलफलमा जुट्न लागेका हुन् । पार्टी एकताको बाँकी विषयमा दुई नेताबीचको छलफलबाट समझदारी जुटेपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी रहेको छ ।
दुई पार्टीबीच ९५ प्रतिशत टुंगो लागिसकेको बताइए पनि सैद्धान्तिक–वैचारिक विषयका साथै संगठनात्मक स्वरूपमा सहमति हुन बाँकी छ । त्यसैले माओवादी केन्द्र सरकारमा पनि सामेल भैसकेको छैन । दुवै विषयमा समझदारीसँगै एकता टुंगिएपछि सरकारमा सामेल हुने माओवादीले अडान राखेको छ ।
‘दुवै अध्यक्षले थप छलफल गर्नुपर्ने देखिएको छ,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शनिबार केही वैचारिक र राजनीतिक विषयमा छलफल आवश्यक देखिएकाले थप छलफल गरेपछि एकता संयोजनको बैठक बस्नेछ,’ ।
प्रधानमन्त्री नियुक्ति र शपथग्रहण भएपछि दुवै पक्षबीच छलफल हुन सकेको छैन । प्रवक्ता भुसालका अनुसार एकताको सबै विषय टुंगो लागेपछि माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ ।
प्रधानमन्त्री ओलीले माओवादीसँगको पार्टी एकता र पद बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा रहेका छन् ।
पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रालयको भागबन्डा टुंगाउनुपर्ने माओवादीको अडान देखिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले कसको नेतृत्वमा सरकारमा पठाउने भन्नेबारे पार्टीमा औपचारिक छलफल नगरेको बताइएको छ । एमालेसँगको प्याकेजमा सहमति गरेपछि सरकारमा सहभागी हुने बताउँदै आएका छन् । उनले शुक्रबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ राष्ट्रिय सम्मेलनमा बोल्दै सोही कुरा दोहोर्याएका थिए ।
प्रतिक्रिया