पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
सारांश
- काठमाडौँ, १५ कात्तिक ।
- चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ ।
- विहिबार भएको रोमाञ्चक खेलमा चितवनले अपराजित काठमाडौँलाई १३ रनले हराएको हो ।
काठमाडौँ, १५ कात्तिक । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ । विहिबार भएको रोमाञ्चक खेलमा चितवनले अपराजित काठमाडौँलाई १३ रनले हराएको हो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौँका मध्येक्रमका ब्याट्सम्यान सम्हालिएर खेल्न नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । काठमाडौँका गौरव तोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ तथा जयकिसान कोल्सावालाले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए । टिम दबाबमा रहेका बेला अन्तिम दुई ओभर करण र पारसले नै गरेका थिए । काठमाडौँलाई अन्तिम १२ बलमा २४ रन चाहिएको अवस्थामा उनीहरुले मात्र १० रन दिएका थिए । साथै १९ औँ र २० औँ ओभरमा १–१ विकेट पनि लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले हरी शंकर शाहको ६० रनको मद्दतमा १ सय ४९ रन बनाएको थियो । ४९ बल खेलेका उनले आफ्नो पारीमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै स्मित पटेलले ३१, अनिल कुमार शाहले २७,पारस खड्काले १४ तथा सनी पटेलले १३ रन बनाए । काठकाडौँका लागि बसन्त रेग्मीले २ तथा नन्द किशोर यादव र पवन सर्राफले समान १–१ विकेट लिए ।
खेलको प्लेअर अफ द म्याच चितवनका हरी शंकरले जिते ।
विहिबारै हुने अर्को खेलमा धनगढी ब्लुज र ब्टवल ब्लास्टर्स भिड्दैछन् ।
प्रतिक्रिया