अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !

सारांश

  • वीरगन्‍ज, १६ कात्तिक ।
  • प्रदेश २ को सबैभन्दा ठूलो र व्यस्त सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले विचौलिया हाबी भएका छन्।
  • अस्पताल व्यवस्थापनले प्रभावकारीरुपमा नियन्त्रण गर्न नसक्दा विचौलियाको बिगबिगी बढेको हो।

वीरगन्‍ज, १६ कात्तिक । प्रदेश २ को सबैभन्दा ठूलो र व्यस्त सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले विचौलिया हाबी भएका छन्। अस्पताल व्यवस्थापनले प्रभावकारीरुपमा नियन्त्रण गर्न नसक्दा विचौलियाको बिगबिगी बढेको हो। अस्पताल व्यवस्थापन फितलो हुँदा कमाइ खाने भाँडो बनाउन अस्पतालका चिकित्सकदेखि पीयन समेत सकृय छन्। अस्पतालमा सामान्य उपचारका लागी आउने बिरामीलार्इ मुर्गा बनाउन अस्पतालको मूलगेट बाहिरदेखि नै दलालको जालो फैलिएको पहिलोपटक अस्पताल पुग्नेले समेत चाल पाउँछ।

अस्पतालमा राम्रा डाक्टर छैनन्,उपचार सेवा छैन लगायतका भ्रामक जानकारी पीडित बिरामी र तिनको आफन्तको कानमा पुर्‍याउने र बिरामीलार्इ निजी अस्पतालको शरणमा पर्न बाध्य बनाउने गिरोह यति संगठितरूपमा सकृय छ की अस्पताल प्रशासन उनीहरूको सामू निरिह भएर बसेको छ।
निजी क्षेत्रको अस्पतालले बिरामी खोजेर ल्याउने दलाललार्इ हाडजोर्नीका बिरामीवापत तीन हजार, प्रसुतीको बिरामीवापत पाँच हजार, स्नायु सम्बन्धी बिरामीवापत दश हजार रूपैयाँ, भिडियो एक्सरे, इण्डोस्कोपीलगायतका जाँचका लागी निजी जाँच केन्द्रसम्म बिरामी ल्याइ पुर्‍याउनेलार्इ यथेष्ट कमिशनको व्यवस्था छ।

अस्पतालमा प्रसुतीको लागी आउने बिरामीलार्इ चिकित्सक नभएकोले एक साताभन्दा बढी पालो कुर्नुपर्ने भनेर तर्साउने काम हुन्छ, अस्पतालका एक नर्सिङ् कर्मचारीले भने, ‘हाडजोर्नीको शल्यकृयाको लागि दुर्इ सातासम्म पनि पालो छैन भनेर बिरामी फर्काइने गरेको छ।’ अस्पतालको आकस्मिक उपचार कक्षमा आएका बिरामीलार्इ अन्यत्र पठाएको आरोपमा डा राजदेव कुशवाहा र सुरक्षा गार्ड वीरबहादुरविरूद्ध अनुशासनको कारबाही समेत गरिएको थियो।  बहिरंग उपचार सेवामा बिरामीको सुविधाको लागी विदुतीय टोकन प्रणाली  इलेक्ट्रोनिक्स क्युइंग जडान गरिएपनि कर्मचारीको बदमाशीका कारण नियमित संचालन हुँदैन। यो अस्पतालमा बिरामीले उपचार नपाउँदा निजी अस्पताल चाहार्नुपर्ने बाध्यता हुन्छ।

अस्पताललार्इ दुरूपयोग गर्नेहरू हाबी भएका छन्, वीरगंज यूवा समाजका अध्यक्ष कमल चोगाइले  भने, ‘हामीले प्रयास गर्दा गर्दा थाकि सक्यो।’नेपाल समयका अनुसार एक दशकदेखि अस्पतालको बेथिती सुधार्न नागरिक समाजको तर्फबाट सकारात्मक दबाब दिंदै आएका उनीजस्ता अभियन्ता अहिले निराश छन्। उनी भन्छन्,यहाँ अस्पतालको सेवालार्इ कसरी स्तरिय र प्रभावकारी बनाउने भन्दा पनि आफन्तलार्इ कसरी जागिर र ठेक्का दिलाउने भन्ने ध्याउन्नमा लागेकाहरू हाबी भए।
यो अस्पतालमा बेथिती हुँदा निजी क्षेत्रबाट खुलेका अस्पतालको व्यापार भने फष्टाएको छ। अहिले वीरगंज महानगरमा १० देखि १ सय शैय्या क्षमताका १८ वटा निजी क्षेत्रको अस्पताल संचालनमा छन्। थप दुर्इवटा अस्पताल संचालनको तयारीमा छ।

अस्पताल व्यवस्थितरूपमा संचालन हुँदा पुरा समय दिनुपर्ने र बिरामीको चाप बढ्ने भएकोले अधिकांश चिकित्सक र कर्मचारी अस्पतालमा अव्यवस्था नै मन पराउँछन्। निजी क्लिनिकमै व्यस्त रहन चाहने चिकित्सक र पैसा कमाउने ध्याउन्न बोकेका मेसुबीच अघोषित सहमति नै छ तिमी लुट मच्चाउ, म क्लिनिक चलाउँछु,,अस्पतालको एक असन्तुष्ट चिकित्सकले गुनासो गर्दै भने।
यो अस्पतालमा नाम भन्दा पनि दाम कमाउने चाहना बोकेर कनिष्ठ तहका कर्मचारी मेडिकल सुपरिटेण्डेण्ट पदमा नियुक्ति लिएर आउँछन्। मनग्ये कुम्ल्याउँछन् र सरूवा लिएर जान्छन् ,अस्पतालको बेथिति जस्ताको त्‍यस्तै। अस्पताल सुधार्नुपर्छ भन्ने पक्षमा सिमित चिकित्सक र कर्मचारी मात्र छन्, अस्पताल विकास सिमितको निवर्तमान अध्यक्ष विनोद गुप्ताले  भने, ‘अराजकता रूचाउनेको बाहुल्यता सामू राम्रा चिकित्सक अल्पमतमा पर्छन्।’

‘अस्पतालमा चिकित्सकले पर्याप्त समय नदिएको गुनासो बढेपछि विदुतीय हाजिरी मेशिन जडान गरिएकोमा चिकित्सकले मेशिन नै फुटाए, गुप्ता भन्छन्, ‘चिकित्सकले मेशिनमा हाजिर गर्न नमानेपछि बाँकी कर्मचारीले पनि त्यही सिको गरे।’

डायलोसिस सेवामा प्रभावकारी

अस्पतालभित्रको बेथितिको बावजुद डायलासिस उपचार सेवाबाट ठूलो संख्यामा बिरामीले उपचार पाइरहेका छन्। अस्पतालमा संचालनमा रहेको पाँचवटा डायलासिस मेशिनको सहयोगबाट मृगौला सम्बन्धी रोग लागेका १५ जना बिरामीले उपचार सेवा पाइरहेका छन्।  निजी क्षेत्रले उपलब्ध गराएको उपकरणको सहयोगमा पाँच शैय्याको एनआइसीयू संचालनमा ल्याइएपनि चिकित्सक नियमितरुपमा उपस्थित नहुँदा प्रभावकारी हुन नसकेको बिरामीको गुनासो छ। लायन्स क्लब इन्टरनेशनलको सहयोगमा मुटुरोग सेवा केन्द्र संचालन गर्ने योजना रहेपनि अस्पताल व्यवस्थापनको नेतृत्वले प्रभावकारी समन्वय गर्न नसक्दा अहिले प्रगती शुन्य छ।

राजनीतिक उपेक्षाको शिकार

तीन सय शैय्या संचालनमा रहेको अस्पतालमा दैनिक एक हजारको संख्यामा बहिरंग विभागमा बिरामी उपचारका लागी आउँछन्। यति ठूलो संख्यामा बहिरंग सेवामा नियमित बिरामी आउने अस्पतालमा कम्तीमा एक हजार शैय्या चाहिन्छ। तर अस्पतालको स्तरोन्नती गर्ने घोषणा कागजमा मात्र सीमित हुन पुगेको छ। गगन थापा स्वास्थ्यमन्त्री हुँदा पाँच सय शैय्याको अस्पताल निर्माणको लागी नक्सांकन समेत भइसकेपनि सरकार फेरबदलले त्यो तुहियो। स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललार्इ एक हजार शैय्याको ट्रमा अस्पताल बनाउने घोषणासँगै बजेट विनियोजन समेत गरेका छन्।

नारायणी उपक्षेत्रीय अस्पतालमा भौतिक पूर्वाधार र शैय्या थप्नको लागी संघीय समाजवादी फोरमबाट निर्वाचित सांसदले स्वास्थ्यमन्त्री यादवलाई ज्ञापन पत्र बुझाएपनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेन। नारायणी उपक्षेत्रीय अस्पतालमा थप तीन सय शैय्याको अस्पताल भवन निर्माण गर्ने घोषणा गरिएपनि बजेट विनियोजन भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?