प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रचण्डको आखिरी चमत्कार वाम एकता-–प्रदीप गिरि

सारांश

  • अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो ।
  • कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो ।
  • काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ ।

अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो । कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो ।

काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ । तदनुरूप नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल यस साता छापाहरूका बिकाउ समाचार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको १२ वर्षअघिको त्यो अवतरण यस्तै हर्षबढाइँसाथ भएको थियो । प्रवासी प्रचण्ड एक करिश्मायी व्यक्तित्वको रूपमा प्रकट भएका थिए । रूपान्तरण खोजिरहेका सबैथरीका नेतृत्व वर्गले प्रचण्डको खुला हृदयले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाललाई अर्को स्विट्जरल्यान्ड बनाउने सपना दिएका थिए । तर काठमाडौं उस्तै छ । अब प्रस्तावित कम्युनिस्ट एकताले आगामी संसद्मा दुई तिहाइ बहुमत दिने अरे । त्यसपछि काठमाडौं अमरावती हुनेछ । भानुभक्तले उहिल्यै काठमाडौंलाई ‘अलकापुरी कान्तिपुरी नगरी’ त्यसै भनेका थिएनन् । ‘राष्ट्रवादी’ र ‘साम्यवादी’ नेताद्वयले भानुभक्तको सपना साकार गर्न खोज्नु सर्वथा बुझ्न सकिने कुरा हो ।

लामो समयदेखि नेपाल एक स्थिर र जड समाज थियो । यस्तै समाजले चमत्कारको प्रतीक्षा गर्छ । त्यस्तै चमत्कारको आशा देखाएर माओवादीको जनयुद्ध उचाइमा पुगेको थियो । त्यस उचाइको प्रवेगमा उम्लिएर प्रधानमन्त्री प्रचण्डले एकसाथ पशुपति, सेनापति र राष्ट्रपतिलाई तह लाउन खोजेका थिए । सकेनन् । परिणामतस् उनी सत्ताच्युत भए । दोस्रोपटक सत्तामा उनी किन र कसरी आए, सबैलाई थाहा छ ।
कम्युनिस्ट एकताको सम्भावनाले प्रजातान्त्रिक कित्ता आत्तिएको हो कि जस्तो देखिएको छ । नेपाली कांग्रेसले बृहत् प्रजातान्त्रिक मोर्चाको प्रस्ताव अघि सारेको छ । देशीरविदेशी शक्तिहरू पनि प्रस्तावित कम्युनिस्ट एकीकरण र बृहत् प्रजातान्त्रिक मोर्चामा आफ्नो जित वा हार देख्दै होलान् । यतिसम्म ठीकै छ । तर राजनीतिक परिवर्तनको वास्तविक प्रक्रियातर्फ पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।
जनताको स्मरणशक्ति दीर्घकालीन हुँदैन । लाहुरे आर्थिकीको दलदलमा भासिएको छ, नेपाल । गाँस, बास र कपासको महाभारतमा प्रत्येक नेपाली आकण्ठ डुबेको छ । त्यसैले जनताले हाम्रा नेताहरूको चटके चालबाजी आजको भोलि नै बिर्सन्छन् । यसमा कुनै आश्चर्य भएन । तर राजनीतिक विश्लेषकहरूले यस्ता चटकबाजीको निहितार्थ बुझ्नु र बुझाउनुपर्छ । एउटा मोटरका चालकले गाडीको गतिशास्त्र नबुझ्दा पनि काम चल्छ । तर गाडीको मोडल फेर्न खोज्ने अभियन्ताले अध्ययनशील हुन आवश्यक छ ।
सर्वप्रथम बुझ्नुपर्ने एउटा कुरो छ । लोकतान्त्रिक राजनीति कुनै एक दिनमा चामत्कारिक ढंगले परिणाम दिने व्यवसाय होइन । संसदीय राजनीति भाग्योदय चिठ्ठा होइन । स्वस्थानी व्रतकथाका नवराजलाई हात्तीले माला लगाइदिएको थियो । कलियुगको चौथो चरणमा यो हुँदैन । समसामयिक राजनीति लिगलिगे दौड पनि होइन । दोस्रो जनआन्दोलनको सफलतापछि प्रचण्ड ठूलो हावाहुरीसाथ राजनीतिक क्षितिजमा उदाएका थिए । त्यसैको आस प्रकाशमा माओवादी पार्टीले २०६४ सालको संविधानसभा चुनावमा अप्रत्यासित विजय प्राप्त र्गयो । पछि मधेसको पक्षमा उर्लिएको समर्थनले त्यसरी नै केही मधेसी दलहरू हौसिएका थिए । उक्त दुवै सफलतापछि आ–आफ्नो हैसियत र ठाउँमा उभिन पुगे । राज्य र राजनीतिभन्दा धेरै बलियो समाज र संस्कृति हुन्छ । कम्युनिस्ट एकताको तात्कालिक उल्लास र त्रासले त्यो कुरो बिर्सनु हुंँदैन ।
मौका–कुमौकामा नेताहरूमाथि पुष्पवृष्टि भइरहन्छ । रामराजाप्रसाद सिंह र गणेशमान सिंहमात्र होइन, प्रचण्ड र गिरिजाप्राद कोइराला पनि पुष्पवृष्टिका दाबेदार हुन्छन् । अहिले प्रचण्ड र ओलीमाथि कथित कम्युनिस्टहरूले पुष्पवृष्टि गर्नैपर्छ । उतिबेला नेपाली कांग्रेस फुट्दा प्रजातान्त्रिक पक्षका नेताहरूउपर यस्तै पुष्पवृष्टि भएको थियो । जुट्दा पनि भयो । नेताहरूका उपर जुट्दा पनि र फुट्दा पनि पुष्पवृष्टि हुन्छ । त्यो हुनैपर्छ । नत्र पुष्प व्यवसाय शिथिल हुन्छ । वृष्टिकर्ता बेरोजगार हुन्छन् । गहिरिएर हेर्नेले यस परिदृश्यबाट भ्रमित हुनु हुँदैन । व्यक्ति, व्यतित्व र दलहरू राजनीति र इतिहासको आदि र अन्त्य होइनन् । वर्ग, जाति, प्रजाति, लिंग र जातीयता समाजका प्रभावशाली वास्तविकता हुन् । राष्ट्रिय राज्यको भू–अवस्थिति अर्को अकाट्य तथ्य हो ।
२०६४ पछि भएको २०७० सालको संविधानसभा चुनावमा नेकपा माओवादी नराम्ररी पराजित भयो । पराजयको त्यस पीडाले तिलमिलाएर प्रचण्डले चुनाव बहिष्कारसम्मको धम्की दिए । धन्न उनी सम्हालिए । थोरै मात्र सिट लिएर पनि संसदीय राजनीतिमा प्रधानमन्त्री भएर देखाउन उनी सफल भए । तर त्यो उनको व्यक्तिगत उपलब्धि थिएन । सत्ता राजनीतिमा आकण्ठ डुबेको सम्भ्रान्त वर्गको सततको बुभुक्षा थियो । त्यस बुभुक्षालाई निम्न मध्यम वर्गको हतार र हतासको चाहनाले मलजल गर्छ । त्यो परिस्थिति अझै यथावत् छ । महत्त्वाकांक्षी प्रचण्ड यसपटक फेरि ओलीका शरणमा पुगेका छन् । शरणदाता र शरणार्थीको यो नयाँ गठबन्धनको भविष्य के हुन्छ, अहिले भन्न सकिँदैन । तर प्रचण्डको यसपटकको यो शीर्षासन अथवा ‘एवाउट टर्न’ ले उनको राजनीतिक विश्वसनीयतालाई आखिरीपटक मरणासन्न बनाएको छ । तर उनको पोल्टामा मात्र सारा दोषारोपण अटाउँदैन । एमाले र कांग्रेस आपैंm पालोपालो उनीसँग लगनगाँठो कस्न तम्सिएका हुन् । सैद्धान्तिक आधारको कुनै आवरण र आभाससमेत छैन । अंकगणित नै सबकुछ हो भनेर हिजो शेरबहादुर र आज ओली जोसिनुभएको छ । पुर्खाको पुण्यले होला, कांग्रेस उम्किएको छ । ओलीको हौसला भोलि देखिएला ।
यसपटकको चुनावको परिणाम के हुनेछ भनेर प्रचण्ड सारै आत्तिएका थिए । त्यसो हुँदा उनी विगत एक महिनादेखि हारगुहार गर्दै थिए । आगामी संसद्मा मेरो सम्मानजनक उपस्थिति हुनुर्पयो भन्न उनी कहीँ चुकेका थिएनन् । उनले यो कुरा कांग्रेस सभापति शेरबहादुर देउवालाई अनेकौंपटक भने । त्यति मात्र होइन, प्रचण्डको स्वभावअनुसार उत्तर–दक्षिणसँग पनि सम्पर्क गर्न भ्याएको हुनुपर्छ । प्रचण्डको यो अत्याहट नितान्त स्वाभाविक थियो । मान्छेले जोगी बन्न राजनीति गर्दैन । प्रधानमन्त्री पदका दाबेदारले कसैले गर्दैन । प्रचण्डलाई आगामी संसद्मा त्यस्तै परे प्रधानमन्त्रीसमेत बन्न पुग्ने सिट चाहिएको छ । यसपटक उनको त्यो अभीष्ट पूरा होला त ?
राजनीतिक दललाई अंग्रेजीमा ‘पार्टी’ भनिन्छ । समाजको एक हिस्सा अर्थात् ‘पार्ट’ भएकाले राजनीतिक दललाई ‘पार्टी’ भनिएको हो । माओवादी केन्द्र अझै पनि नेपाली समाजको स्वाभाविक अंग भएको छैन । कांग्रेस र एमाले भइसकेका छन् । सशस्त्र विद्रोहको त्रास, आसमा ०६४ को चुनावमा माओवादीले धेरै सिट ल्याएको अवश्य हो । तर नेपाली समाजमा वा अन्तर्रा्ष्ट्रिय जगत्मा पनि प्रचण्डको क्रियाकलाप अझै पनि प्रश्नवाचक रहेका छन् । यसपटकको नाटकीय फड्कोपछि प्रचण्डको बेचैनी एउटा बिसौनीमा पुग्न सक्छ । माओवादी केन्द्रले भने त्यसको ठूलो मूल्य तिर्नुपर्छ ।
अहिलेको यो प्रस्तावित चुनावी तालमेल सत्ताको तृष्णा मात्र हो । कम्युनिस्ट एकताको कुरा सर्वथा हास्यास्पद हो । भूमण्डलीकरणको हुरीमा आकण्ठ डुबेका मित्रहरूले यो कम्युनिस्टको नाम कति दिनसम्म भजाउन सक्लान् ? यसको अर्थ कांग्रेस वा उसले बनाउन खोजेको प्रजातान्त्रिक मोर्चा भने चोखो र चुस्त हुनेछ भन्ने होइन । प्रचण्ड र ओलीको त नाम र काममा साम्य छ, साम्यवाद छ । प्रस्तावित प्रजातान्त्रिक मोर्चाको बारेमा झन् धेरै प्रश्न उठ्न सक्छन् । प्रजातान्त्रिक मोर्चाको सिद्धान्त पनि भूमण्डलीकरणबाट निस्सृत भएको छ । कांग्रेसले बीपी कोइरालाको वैचारिक उत्तराधिकारलाई सम्झिदिएको भए यस्तो बिजोग हुने थिएन । कांग्रेसका नेताहरूले आफ्ना अर्थनीतिको तर्जुमा कर्मचारीतन्त्रका भरमा गरे । त्यो नहुँदो हो त कम्युनिस्टका नाउँमा यत्रो शक्ति एकत्र हुने थिएनन् । तर यति भएर पनि प्रजातान्त्रिक समाजवादको सम्झना मात्र पनि कतै छ भने बस कांग्रेसमा छ ।
विगतका कमी–कमजोरीका निम्ति कांग्रेससँग थुप्रा स्पष्टीकरण होलान् । बहुदलीय व्यवस्था आएलगत्तै पछि संसद्मा कांग्रेस–कम्युनिस्टको टकराव सुरु भयो । कांग्रेसभित्र आत्मघाती कलह सुरु भयो । कांग्रेस आत्मघाती कलहको सिकार भयो । त्यसपछि मध्यावधि निर्वाचन, माओवादीको जनविद्रोह, त्यसै क्रममा राजा वीरेन्द्रको हत्या, कांग्रेसको फुट, त्यसपछि माओवादीलाई मूलप्रवाहमा ल्याउने ऐतिहासिक अभियान । कांग्रेसले भन्न सक्छ— सासै फेर्ने फुर्सद पनि भएन नि त † यस चुनावपछि कांग्रेसले सास फेर्न सक्छ कि ? यही भनेर यसपल्ट कांग्रेसले भोट माग्ला । तर अहिले कांग्रेसले पनि बुझ्नुपरेको छ— पार्टीहरू मिल्दैमा उनीहरूका कार्यकर्ता मिल्दैनन् । प्रधानमन्त्री देउवाको एउटा थेगो छ, ‘पोलिटिक्स इज अल लोकल’ भनेर जपिरहन्छन् । टिकट बाँड्ने बेलामा सभापतिले यो सम्झन आवश्यक छ । अझ सम्झनुपर्ने अर्को कुरो छ— एउटा दलको सबै भोट अर्कोमा सरक्क जाँदैन । भोटको राजनीति मुख्यतस् स्थानीय तहमा टुंगो हुन्छ । एमालेले ल्याउँदै गरेको भोट सबै माओवादीलाई जाँदैन । न त माओवादीको भोट नै एमालेलाई जान्छ ।
कुनै पनि राजनीतिक एकता यान्त्रिक ढंगबाट अगाडि बढ्दैन । शीर्षस्थ नेताहरूले अंकमाल गरेर फोटो खिचाउँदैमा पार्टी्भित्र वा पार्टी–पार्टीमाझ एकता कायम हुँदैन । त्यसो हुँदो हो त कांग्रेसका नेतात्रयको झगडा उहिल्यै सुल्झिन्थ्यो । एकता एक सुदीर्घ राजनीतिक प्रक्रिया हुनुपर्छ । राजनीतिक प्रक्रिया विचारविहीन हुन सक्दैन । विचारको आलोकमा अगाडि सारिएका कार्यक्रम र कार्यपद्धतिको स्वीकृतिले एकतालाई विश्वसनीय बनाउँछ । लोकतान्त्रिक मोर्चामा कांग्रेसको विचार अस्वीकार्य छैन । त्यो एउटा उज्यालो पक्ष हो । तर माओवादी र एमाले आ–आफ्ना विचारकै बारेमा अलमलमा छन् । माओवादीको प्रचण्डपथ र एमालेको बहुदलीय जनवाद कर्मकाण्ड मात्र रहन गएको छ । दसैंको टीकामा प्रचण्डले प्रचण्डपथको विकल्प भेटेका हुन् त ? यो हो भने ठीकै छ । उनी एक खाँट्टी परम्परावादी पार्टीका रूपमा चुनावमा जान सक्छन् । उनको पार्टीका आदर्शवादी र जुझारु कार्यकर्ता उनीसँग रहने छैनन् । मोहन वैद्य, सीपी गजुरेल र विप्लवको समूह यस एकीकरणबाट लाभान्वित हुन सक्छन् ।
अब यसपल्टको यो चुनाव वैचारिक आधारमा उठिएला भन्ने आशा छैन । यसपटकको चुनावको रंगरूप र परिवेशका निम्ति प्रचण्ड नै उत्प्रेरक तत्त्व भए । जाँदाजाँदै पनि उनी यति गरेर नै जाने भए । उनको राजनीतिक जीवनको आखिरी चमत्कारका रूपमा यो चुनाव नेपाली इतिहासमा दर्ज गरिनेछ ।
होइन भने जे भएको छ— ती सबै सत्ताको लडाइँ मात्र हो । त्यसको परिणाम हेर्न धेरै पर्खनुपर्ने छैन । सय दिनभित्र नै सबकुछ स्पष्ट हुनेछ । एउटा कुरा भने अहिले नै स्पष्ट छ । जनयुद्धका नाममा हजारौंलाई बलिदानका निम्ति प्रेरित गर्ने प्रचण्ड अब एक सामान्य राजनीतिकर्मीमा खुम्चेका छन् । एउटा जनपक्षीय सपना स्खलित भएको छ ।
यो स्खलन एक दिनमा भएको होइन । जनयुद्धका शुभाकांक्षी सबैले हेर्दै थिए, देख्दै थिए । प्रचण्ड मक्किँंदै गएका थिए । एक विस्फोटका साथ उनको प्रस्थान होला जस्तो लागेको थियो । तर उनी मक्किएर पो हिँडे । यस्तै परिस्थितिलाई लिएर टी.एस. इलियटले लेखेका थिए –

दिस इज द वे द वल्र्ड एन्ड्स
दिस इज द वे द वल्र्ड एन्ड्स,
दिस इज द वे द वल्र्ड एन्ड्स
नट विद अ व्याङ वट अ ह्विम्पर ।
– द होलो मेन ।

कान्तिपुरबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
के साँच्चै पुनर्गठन हुँदैछ सरकार ?
के साँच्चै पुनर्गठन हुँदैछ सरकार ?
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
झोले एनजीओकाे नाममा एक करोड वितरण
झोले एनजीओकाे नाममा एक करोड वितरण
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
What exactly Sugar Baby?
क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो
क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो
मनोज गजुरेलको भावुक स्टाटसमा ‘एक्स वाइफ’ मीनाको यस्तो ‘कमेन्ट’
मनोज गजुरेलको भावुक स्टाटसमा ‘एक्स वाइफ’ मीनाको यस्तो ‘कमेन्ट’
खेलाडी प्रतियोगिताबाट वञ्चित
खेलाडी प्रतियोगिताबाट वञ्चित