प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?

सारांश

  • ललितपुर।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन्।
  • उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको टिप्पणी गरे।

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन्। उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको टिप्पणी गरे। ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ,’ उनले भने।

जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने उनको भनाइ थियो। सोमबार प्रचण्ड निवास खुमलटारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन्,’ उनले भने। संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाइ थियो। ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो,’ उनले भने।

उनले क्रान्ति दुईचार जनाको रहरले हुने कुरा नभएको बताए। प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने बताए। नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समूह परित्याग गरेको बताए।

वीर अस्पतालमा वेथिति, मेसिन बिगार्दै विरामी नीजिमा पठाइदै
एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतालको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन।

अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन्। सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु।’

१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो। २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ। अन्नपूर्ण पोस्ट् दैनिक

जिम्मेवारी बाँढफाडमा व्यस्त ओली र दाहाल
नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्य्विभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्य्विभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ ।

स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्य्िवभाजनको टुंगो लगाउन सकेको थिएन । दुई नेताबीच विवाद बढेपछि पार्टी्िभत्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद टुंगो लगाउनका लागि आइतवार अध्यक्षद्धय ओली र प्रचण्डबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा दुईपटक छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।

आइतवार सचिवालयको बैठक बोलाइए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अस्वस्थ्य भएपछि स्थगित भएको थियो । तर आइतबार नै प्रधानमन्त्री ओली आइतबार बिहान सोल्टी होटेलमा भएको एउटा कार्यक्रममा सहभागी भएका थिए । नेपाल समाचारपत्र

वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ ।

जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्क्विहीन भएका छन् ।
अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्क्विहीन भएको कारण आफूहरुको रकम डुबेको बताउनुभयो ।

केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्ने्विरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्नुहुन्छ, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।”

पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् ।

त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् । रासस

गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । यसको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ छ । यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो । पहिलाको लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो ।

बाहिरी भागमा सुनको जलप लगाइएको लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो ।

सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित लोगो तथा पोसाक सिफारिस समितिले गत वर्ष भदौ ३० मा गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर नयाँ लोगो बनाइएको हो ।

छ वर्षमा पनि बनेन नगरकोट जाने बाटो
ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ ।

विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ ।

सडक अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताउनुभयो ।

रु ३७ करोड ८७ लाखमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गर्नुभयो । रासस

चोरी गर्ने गिरोह पक्राउ
रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिनुभयो । मुसलमान र मल्लाहको बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका छ वटा मोटरसाइकल बरामद गरिएको छ । उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेकोे छ । बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ ।

मोदी तत्काल नेपाल नआउने तर भुटान जाने
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तत्काल नेपाल भ्रमणमा नआउने भएका छन् । मोदीको नेपाल भ्रमणका लागि कुटनीतिक पहल भएपनि तत्काल नआउने भएका हुन् ।

नयाँ दिल्लीस्थित विश्वस्त स्रोतका अनुसार मोदीको साटो भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर नेपाल भ्रमणमा आउनेछन् । भदौमा मोदी नेपाल आउने चर्चा चलिरहेको थियो ।

मोदी भुटान भ्रमणमा जाने र त्यसपछि नेपाल आउने सम्भावना औल्याइएपनि नआउने संकेत भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले गरिसकेका छन् । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भ्रमणका लागि कुटनीतिक पहल गरेपनि अझै समय लाग्ने देखिएको हो ।

नेपाल भारत प्रबुद्ध समूह इपीजीको प्रतिवेदन नबुझेको र केही महत्वपूर्ण विषय टुंगोमा नपुगेकाले तयारी भइनसकेकोले मोदीको भ्रमण नहुने भएको हो । भारतले कतिपय विषयमा नेपाललाई धारणा लिएर आउन भन्दै आएको छ । यसले पनि महत्वपूर्ण विषयहरु टुंगोमा पुग्न सकेको छैन ।

स्रोतका अनुसार ठूला जलविद्युत आयोजना र दुई देशबीच रहेका केही समस्याहरुमा भारतले नेपालको औपचारिक प्रस्ताव माग्दै आएको छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कुरा मिलिरहेको छैन । महाकाली सन्धीको अढाई दशकपछि पनि कार्यान्वयन अगाडि बढेको छैन । यसमा भारतले नेपालको प्रस्ताव नआइरहेको बताउँदै आएको छ ।

मोदीको भ्रमण अघि भारतले नेपालसँग केही महत्वपूर्ण विषयमा टुंगोमा पुग्न चाहेको बुझिएको छ । पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्रीबाट यसपटक भ्रमणको चासो नदेखिनुलाई गम्भीरताका साथ लिइएको छ ।

पहिलो कार्यकालमा मोदीले भुटानपछि नेपाललाई दोस्रो गन्तव्य बनाएका थिए । उनले धार्मिक र सांस्कृतिक भ्रमण गर्दै पशुपतिनाथ र मुक्तिनाथको दर्शन समेत गरेका थिए । मोदी लुम्बिनी जाने चर्चा चलेको थियो ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले गरे आत्महत्या, शंकास्पद भन्दै छानविन सुरु
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । काठमाण्डौको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर श्रेष्ठले आत्महत्या गरेका हुन् । हामफालेर घाइते भएका श्रेष्ठलाई तत्काल पिपुल्स हस्पिटल लगिएको थियो । तर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका श्रेष्ठ विगतमा डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत थिए । थिए त्यसबेला ललिता निवास जग्गा व्यक्तिको नाममा सार्न सहयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

पछिल्ले समय अख्तियारले छानविनका क्रममा श्रेष्ठसँग बयान पनि लिएको थियो ।
अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन ।

२०२१ सालमै मुआब्जा दिएर अधिग्रहण गरिएको सरकारी जग्गा आर्थिक प्रलोभनमा परेर तत्कालिन भोगिधिकारीका नाममा कायम गर्न उनीसहित डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले नक्कली फाइल खडा गरेको आरोप छ ।

२०५८ सालमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठ त्यसपछि भने विभिन्न संघसंस्था हुँदै नेपाली कांग्रेससँग आवद्ध भएका थिए । २०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन् ।

श्रेष्ठले आत्महत्या गरे वा संकास्पद मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं। सत्तारुढ दल नेकपाको स्कुल विभाग लगायत केन्द्रीय विभागको जिम्मेवारी टुंग्याउन आइतबार बस्ने भनिएको सचिवालय बैठक सोमबारसम्मका दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको छ। यसअघि सचिवालय बैठक आइतबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार बस्ने भनिएको सचिवालय बैठक सोमबार दिसँसो तीन बजे बस्ने जानकारी दिए।

प्रवक्ता श्रेष्ठले ट्विट गर्दै सचिवालय बैठक सोमबार तीन बजे बस्ने जनाएका हुन्। नेकपाका कुल ३२ विभागमध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा विभाग लिने सहमति भइसकेको छ। तर पूर्व एमालेको भागमा परेको स्कुल विभागका विषयमा विवाद उत्पन्न भएपछि एकता प्रक्रिया नै अवरुद्ध भएको छ। स्कुल विभागको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई बनाउने तयारी गरिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दाबी गरेका छन्।

पूर्व माओवादीले स्कुल विभागमा पोखरेललाई स्वीकार गर्न नसकिने अडान राखेको छ। अन्य महत्वपूर्ण विभाग संगठन विभागमा सचिवालय सदस्य बामदेव गौतम, विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भइसकेको छ। स्कुल विभागको नेतृतवमा विवाद भएपछि सचिवालय बैठक दुई पटकसम्म स्थगित भइसकेको छ। स्कुल विभागको प्रमुखका विषयमा विवाद बढ्दै जाँदा स्थायी कमिटी सदस्य घनश्याम भुषाल र वेदुराम भुसालले पनि दाबी गरेका छन्। कम्युनिष्ट पार्टीमा स्कुल विभागलाई महत्वपूर्ण मानिन्छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?