प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
सारांश
- आश्विन १८, २०७४-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने संसदीय चुनावमा झापा क्षेत्र नम्बर ५ बाट उठ्ने भएका छन् ।
- एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिको मंगलबार बसेको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
- समिति संयोजक होमबहादुर थापाका अनुसार उक्त क्षेत्रबाट प्रतिनिधिसभा चुनावका लागि पार्टी अध्यक्ष आफै इच्छुक भएकोले उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
माओवादी केन्द्रले पनि जिल्लामा उम्मेदवार टुंगो लगाएको छ । उसले प्रतिनिधि सभा चुनावमा क्षेत्र नं. १ बाट बोधराज दाहाल, २ बाट धर्मशीला चापागाई, ३ बाट मोहन टुडु, ४ बाट झलकसिंह दर्लामी र ५ बाट रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं. १ को १ बाट माधव अर्याल र २ बाट संजोग भण्डारी, क्षेत्र नं. २ को १ बाट ज्योर्तिसिंह दर्लामी र २ बाट कुवेर श्रेष्ठ, क्षेत्र नं. ३ को १ बाट हिक्मत घिमिरे र २ बाट पुजा खनाल, क्षेत्र नं. ४ को १ बाट विजय साम्पाङ र २ बाट अमन राजवंशी तथा क्षेत्र नं. ५ को १ बाट सीताराम अधिकारी र २ बाट बिरेन्द्र बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले बुधबार उम्मेदवारको टुंगो लगाउने जनाएको छ । स्थानीय तह चुनाव अनुसार जिल्लामा तेस्रो स्थानमा रहेको राप्रपा भने २२ गतेभित्र उम्मेदवार टुंगो लगाउने तयारीमा छ ।
वामदेव बर्दियाबाट उठ्ने

गुलरिया– एमाले जिल्ला कमिटीले उपाध्यक्ष वामदेव गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरेको छ । पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले सर्वसम्मतिमा गौतमको नाम छानेको हो । दोस्रो संविधानसभा निर्वाचनमा गौतम बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले एक क्षेत्र छाड्नुपरेकाले बर्दिया छाडेका थिए । क्षेत्र नम्बर १ बाट एमालेका कुनै पनि आकांक्षी नभएकाले गौतमको नाम सर्वसम्मतबाट पारित गरिएको पार्टी अध्यक्ष हरिप्रसाद ज्ञवालीले बताए ।
प्रतिक्रिया