प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा

सारांश

  • काठमाडौ, २५ माघ – चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे।
  • प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद गर्‍यो।
  • ऋण तिर्न भारतमा बसोबास गर्ने आफन्तबाट मित्तलले पैसा सापट मागेका थिए।

काठमाडौ, २५ माघ – चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे। प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद गर्‍यो। ऋण तिर्न भारतमा बसोबास गर्ने आफन्तबाट मित्तलले पैसा सापट मागेका थिए।

राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा भारु साट्न जाँदा उनलाई ट्राफिक चोकबाट पक्राउ गरिएको थियो। प्रहरीसँगको बयानमा मित्तलले जग्गा कारोबारमा ऋण लागेका कारण आफन्तसँग सापटी लिएर रकम ल्याएको बताएका आजको अन्नपूर्ण पोष्ट दैनिकमा श्रीधर खनालले खबर लेखेका छन्।

मित्तल मात्र होइनन् पछिल्लो समय ठूला दरका भारतीय रुपैयाँसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। भारतमा मोदी सरकारले गत वर्ष कालो धन नियन्त्रण गर्न भन्दै पाँच सय र एक हजार दरका भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको थियो।

नेपालमा भएका प्रतिबन्धित भारतीय रुपैयाँ साट्ने विषयमा आनकानी गर्दै आएको भारतले प्रतिबन्धपछि कारोबारका लागि भन्दै पाँच सय र दुई हजार रुपैयाँको नोट बजारमा ल्याएको छ। ती नोट नेपालमा भने प्रयोगमा ल्याउन पाइँदैन।

नेपाल उद्योग संघ मोरङका सभापति मुकेश उपाध्याय सीमा क्षेत्रमा भारतीय पाँच सय र दुई हजार रुपैयाँको कारोबार भएको बताउँछन्। उनले भने, ‘बाटोमा लिएर हिँड्न पनि डर छ। यी नोटमा कारोबार नगरी सीमा क्षेत्रमा व्यापार हुँदैन।’

राष्ट्र बैंकले २३ असार ०७४ मा परिपत्र गरी भारतीय बजारमा चलन चल्तीमा रहेका पाँच सय र दुई हजारका नोटको कारोबार नेपालमा गर्न नपाइने स्पष्ट पारेको छ। प्रहरीले ठूला दरका भारतीय नोटसहित सर्वसाधारण पक्राउ गर्न थालेपछि बैंकले यस्तो परिपत्र जारी गरेको हो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा सीमा क्षेत्रमा ठूला दरका भारतीय रुपैयाँ चलनचल्तीमा रहेको बताउँछन्। उनी भन्छन्, ‘व्यापारीले चलाउनै पर्ने भएर मात्र चलाएका छन्। एक जनाले २५ हजार भारतीय रुपैयाँ लिएर हिँड्न पाउने भए पनि एक सय दरको

रुपैयाँ लिएर हिँड्दा साढे दुई बन्डल बोक्नुपर्छ। त्यो बोक्न कठिन भयो। ठूला दरको बोक्दा प्रहरीले समात्ने डर छ।’ नेपालबाट भारत जानेले भारतीय एटीएमबाट पैसा निकाल्दै आएका छन्। औषधि उपचार, तीर्थ यात्राका लागि समेत भारतमा जाने नेपालीले भारतीय एटीएमबाट पैसा निकाल्ने गरेका छन्। त्यहाँको एटीएमले ठूला दरका नोट दिन्छ।

पर्यटनमा असर

नेपालमा ठूला दरका भारतीय नोट चल्दैन भन्ने थाहा नपाएका कारण पछिल्लो समय नेपाल भ्रमणमा आउने धेरै भारतीय पर्यटक समस्यामा पर्न थालेका छन्।

पोखरा भ्रमण गरी काठमाडौं फर्कन लाग्दा भारतीय पर्यटक कृष्णनेन्दु वेनर्जी पोखरा विमानस्थलबाट समातिए। प्रहरीले उनको साथबाट पाँच सय र दुई हजार दरका भारतीय रुपैयाँ बरामद गर्‍यो। भारतीय पर्यटक नेपाल आउँदा धेरैजसोले ठूलो दरका नोट लिएर आउने गरेका छन्।

नेपालमा भारतमा चल्ने पैसा बोकेकै आधारमा भारतीय पर्यटक समातिनु गम्भीर समस्या भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ