प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
सारांश
- काठमाडौं, २४ चैत- भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दुई चरणमा औपचारिक वार्ता हुने भएको छ ।
- नयाँ दिल्लीको हैदराबाद हाउसमा बिहान ११ बजेपछि वार्ता हुनेछ ।
- भारतीय प्रधानमन्त्री मोदीले दिने दिवाभोजमा प्रधानमन्त्री उनकी पत्नीसहित २६ जना सहभागी हुनेछन् ।
काठमाडौं, २४ चैत- भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दुई चरणमा औपचारिक वार्ता हुने भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा बिहान ११ बजेपछि वार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले दिने दिवाभोजमा प्रधानमन्त्री उनकी पत्नीसहित २६ जना सहभागी हुनेछन् ।
त्यस लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । आज ओली र मोदी बीच हुने औपचारिक वार्तामा पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डामा छलफल हुने कार्यक्रम छ ।
औपचारिक वार्तामा प्रधानमन्त्ती ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, कार्यबाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी रहनेछन् ।
भ्रमणको कार्यतालिका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी हुनेछन् । उपराष्ट्रपति बैंकया नायडुसँगको भेटमा नौजना, गार्ड अफ अनर कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्यसहित १५ जना सहभागी हुनेछन् ।
आज हुने वार्तावामा महाकाली सन्धिअनुसारको पञ्चेश्वर परियोजनाको विस्तृत प्रतिवेदन टुंग्याउन नेपालले आग्रह गर्नेछ । त्यसैगरी प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीमा सहजीकरण गर्न पुनः आग्रह हुनेछ ।
त्यसैगरी जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट ‘एयर इन्ट्री’ अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा थप विराटनगरबाट पनि जहाज आउन पाउनुपर्ने धारणा नेपालले राख्नेछ । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता देखाउँदै त्यस आसपासबाट नेपालतर्फ जहाज भित्रिने रुटको अनुमति दिएको छैन । नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिनेछ ।
भारतीय अनुदान तथा ऋणमा बन्न लागेका परियोजनाहरूमा सामग्री, ठेकेदारजस्ता बिषयमा भारतीय अडान नराख्न आग्रह हुनेछ । युरिया मल, डीएपी, पोटासको नियमिी आपूर्तिका लागि आग्रह हुनेछ, गोरखपुरबाट ग्यास पाइपलाइन काठमाडौं लैजाने बिषयमा छलफल हुनेछ ।
प्रतिक्रिया