प्रधानमन्त्री दाहालले भने : छिट्टै सरकारलाई पूर्णता दिन्छौँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहालले भने :   छिट्टै सरकारलाई पूर्णता दिन्छौँ

सारांश

  • गोरखा ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् ।
  • गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताए ।

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । “हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ”, उनले भने, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छाैँ ।”

उनले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए । “सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ”, प्रधानमन्त्री दाहालले भने, “जनताका विकास, निर्माण र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ ।”

उनले तिनै तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए । प्रधानमन्त्री दाहालले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए । सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उहाँले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए ।

प्रधानमन्त्री दाहालले उक्त सडकको शिलान्यास केवल एउटा सडकको शिलान्यास मात्र नभएर आफूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने एउटा प्रक्रियाको उद्घाटनसमेत भएको बताए । “निर्वाचनका क्रममा मैले गरेका प्रतिबद्धता कार्यान्वयन प्रक्रियाको राम्रो सुरुआत यो सडकको शिलान्यासबाट भएको छ”, उनले भने, “देशभरिका सडक सञ्जाल र भौतिक पूर्वाधार विकासका सन्र्दभमा बजेटको अभाव हुन नदिनका निम्ति निर्देशनसमेत दिइसकेको छु ।”

प्रधानमन्त्री दाहालले चुनाव लड्दा बनेको राजनीतिक समीकरणबाट विश्वासको मत लिएको भोलिपल्टै गोरखा आएर सडक शिलान्यास गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गरे । उनले आरुघाट–बेनिघाट–लार्के सडकखण्ड निर्माणको कामलाई तीव्ररुपमा अगाडि बढाउने तयारी भइरहेको बताए । गोरखाकाली रबर उद्योग पुनःसञ्चालन टिम बनाएर मोडालिटी तयार गर्नका लागि छलफल गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?