फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
सारांश
- पछिल्लो केहि समय यता नेपाली चलचित्रको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ, चलचित्रको स्तरमा परिवर्तन आएसंगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ ।
- आजकाल त कुनै चलचित्रको उत्कृष्ट संगीत र ट्रेलर सार्वजनिक भएसँगै, सो चलचित्र छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझ प्रतिक्षित चलचित्र बन्न पुग्छ ।
- यो साता रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ पनि आफ्नो उत्कृष्ट संगीत र ट्रेलरको कारणले निक्कै चर्चामा रहन सफल भयो ।
पछिल्लो केहि समय यता नेपाली चलचित्रको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ, चलचित्रको स्तरमा परिवर्तन आएसंगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै चलचित्रको उत्कृष्ट संगीत र ट्रेलर सार्वजनिक भएसँगै, सो चलचित्र छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझ प्रतिक्षित चलचित्र बन्न पुग्छ ।
यो साता रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ पनि आफ्नो उत्कृष्ट संगीत र ट्रेलरको कारणले निक्कै चर्चामा रहन सफल भयो । तर के पूर्ण चलचित्र हेरेपछि दर्शकलाई यो चलचित्र यसको संगीत र ट्रेलर जत्तिकै उत्कृष्ट लाग्न सक्छ त ? या थुप्रै अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकले चलचित्र हेरेर निस्कदा निराश हुनपर्छ ? आउनुहोस यो कुराहरुलाई वृस्तित रूपमा केलाउ चलचित्र ‘२ रुपैयाँ’ को समीक्षामा ।
असिफ शाह कर्कशका निर्देशक हुन् । लुटमा निर्देशकीय जादु देखाएका निश्चल बस्नेतले टलकजंग भर्सेज टुल्के र लुट २ बाट ‘ह्याट्रिक’ गरे । यी दुई प्रतिभाशाली निर्देशक यतिबेला हिरो बनेका छन्, २ रुपैयाँमा । जसलाई निर्देशन गरेका छन्, असिम शाहले । तीन निर्देशकको गठबन्धन र यूट्युबमा दुई करोड भ्युज नाघेको ‘कुटुमा कुटु‘’ गीतले २ रुपैयाँलाई प्रतीक्षित बनाएको थियो । अपेक्षा जगाउनु आफैँमा सफलता हो भने अपेक्षा पूरा गर्नु चरम चुनौती । २ रुपैयाँले त्यो अपेक्षा पूरा त गर्छ तर छिपछिपे मात्र ।
प्लट साँघुरो छ । तापनि, नयाँ स्वादका ‘ट्रिटमेन्ट’ प्रशस्त प्रयोग गरिएको छैन् जेनतेन दर्शकलाई बाँधिराख्ने नियत मात्र देखिन्छ, निर्देशकको । फरक प्रवृत्तिका पात्रलाई एउटै कथामा उन्नु फिल्मको सबल पक्ष हो । यसको पटकथा आसिफ र आशिष रेग्मीले मिलेर लेखेका हुन् ।
दुई अल्लारे ठिटा दाह्री (आसिफ) र जुरेली (निश्चल)लाई करोडौँ मूल्यका अवैध माल भारतीय नाकाबाट ल्याउने जिम्मा दिएका छन्, बोस (टीका पहारी)ले । ‘इन्डियन पार्टी’सँग माल लिन बोसले दिएको दुई रुपैयाँको नोट देखाउनुपर्छ । त्यसको नम्बर नमिली उनीहरूले माल पाउँदैनन् । दुर्भाग्य ! नोट हराउँछ । ज्यानपरान फालेर नोट खोज्छन् तर एकपछि अर्को समस्यामा फस्छन् । बोसले पनि उनीहरूलाई जहाँ भेट्यो, त्यहीँ मार्ने निर्णय गर्छ । यो फन्दाबाट उम्कन उनीहरूले के के हत्कण्डा गर्लान् ? फिल्म यसकै वरपर घुमेको छ ।
तस्करले ‘कोड वर्ड’को भरमा माल लिनेरदिने बलिउडको पुरानो सूत्र हो । यो फिल्ममा त्यही सूत्र पैचौं लिइएको छ, २ रुपैयाँको नोटमा ढालेर । त्यसैले हिन्दी फिल्मका पारखीका लागि यो ‘आइडिया’ ताजा होइन । तर, कथावाचनको शैलीमा हास्यरस भएकाले हेरून्जेल पट्यारचाहिँ लाग्दैन ।
पटकथाकारद्वयले बडो चतुर शैलीमा नोट हराएपछि दाह्री र जुरेलीमा तनाव सिर्जना गरेका छन् । उनीहरू बोस मात्र होइन, भारतीय पक्ष, स्थानीय गुन्डादेखि प्रहरीसम्मको तारोमा पर्छन् । यी दृश्यमा आकर्षण पैदा हुन्छ । तर, त्यो तनावको व्यवस्थापनले चाहिँ फिस्स तुल्याउँछ । चार–पाँचवटा विरोधी समूहलाई एकैपटक भिडाइएको दृश्य आफैँमा ‘कमेडी’ लाग्छ । यो भारतीय निर्देशक प्रियदर्शनको चिरपरिचित शैली हो ।
जुरेलीको सेल्फी मोहले कथालाई रसिलो तवरले अगाडि बढाउन प्रभावकारी भूमिका खेलेको छ । हामीकहाँ तस्करहरूको बिगबिगी नभएको होइन तर फिल्ममा तस्करीलाई यथार्थको समीपमा रहेर होइन, खेलाँची शैलीमा चित्रण गरिएको छ । यसो हुँदा दर्शकले कथालाई आत्मसात् गर्न मुस्किल पर्छ ।
फिल्ममा चक्मा दिने एउटै ‘ट्वीस्ट’ छैन । मूल पात्रकै पृष्ठभूिमलाई नजरअन्दाज गरिनु अर्को कमजोरी हो । उनीहरू को हुन्, कहाँबाट आए, बोसले किन विश्वास गर्यो ? जस्ता पक्षमा एउटै दृश्य खर्चिएको छैन् । ‘डार्क कमेडी’ विधा हुनुको नाताले पात्र समस्यामा पर्दा दर्शकमा हाँसो पैदा हुनुपर्छ भनिन्छ । यो मान्यतालाई निर्देशकले यथाशक्य अनुसरण गर्ने प्रयास गरेका छन् । हरेक पात्रका प्रवृत्ति, हुलिया, नियत र मनोविज्ञान फरक हुनुचाहिँ रोचक छ । ई–सेवाको विज्ञापन नियोजित लाग्छ । आसिफ र निश्चलको झगडा परेका दृश्य बनावटी छन् ।
उल्लेखनीय अर्को पक्षचाहिँ २ रुपैयाँ र कर्कशमा केही समानता छन् । जस्तो : कर्कशमा ड्रग्सको चक्कर छ भने यसमा सुनको । माया (मेनुका प्रधान)ले कर्कशकी लुनिभा तुलाधर र दाह्रीले दयाहाङ राईको याद दिलाउँछन् । अझ दुवै फिल्मका बाल चरित्र त ठ्याक्कै उस्तै । हास्यप्रधान दृश्यभन्दा संवादको बोलवाला छ । फिल्मको सुरुवातमै गुण्डालाई स्थापित गरिएको दृश्य पनि बासी हो । पृष्ठभूमि संगीतचाहिँ चाहिने ठाउँमा मात्र राखिएको छ । अनावश्यक ‘अड एंगल’बाट मुक्त छ फिल्म । ‘कुटुमा कुटु‘’ सँगै क्लब गीतले आनन्दित तुल्याउँछ ।
चरित्र र अभिनय दुवै कोणबाट निश्चलभन्दा आसिफ अगाडि छन् । संवाद बोल्ने शैली मात्र होइन, पीडा र खुसीमा पनि उनको शारीरिक हाउभाउ स्वाभाविक छ । निश्चलमा चाहिँ यिनै महत्त्वपूर्ण पक्षहरू खड्किएको आभास हुन्छ । लाग्छ, अभिनयभन्दा निर्देशनमै केन्द्रित भएको उत्तम हुन्छ उनका लागि । फिल्मको सबभन्दा बलियो चरित्र हो, रवीन्द्र झा । जीवन्त अभिनय पनि उनकै छ । बुद्धि तामाङको ‘कमिक टाइमिङ’ले पनि दर्शकलाई मनोरञ्जन दिन्छ ।
झिम्रिक दाइ बनेका राजन इशानले प्रशंसनीय काम गरेका छन् । तर, उनको प्लट प्रभावकारी छैन । मेनुकाको अभिनय र चरित्रमा नयाँपन छैन । टीका पहारी, प्रतीकराज पाण्डे र विशारद बस्नेतले पनि चरित्रलाई मर्न दिएका छैनन् । असीमले अब्बलता देखाउन नसके पनि निर्देशकीय क्षमताको सम्भावना भने देखाएका छन् । उनीभन्दा प्रशंसाको हकदारचाहिँ पटकथाकारद्वय आसिफ र आशिष हुन् ।
२ रुपैयाँ हेर्दा २ घन्टा ‘टाइम पास’ हुन्छ । शंकै छैन । हलबाट बाहिरिँदा दिमागचाहिँ रित्तै हुन्छ । यसमा पनि शंका छैन । गोकर्ण गौतम
प्रतिक्रिया