क्याटलोनियालाई किन चाहियो अन्तर्राष्ट्रिय मध्यस्थता ?
सारांश
- अक्टोबर १० मा क्याटलोनियाका विखण्डनकारी नेता कारलस पुज्डमोनको पूर्वाअनुमानबमोजिम एकतर्फी रूपमा क्याटलन स्वतन्त्रताको घोषणाका लागि क्षेत्रीय संसद्मा उपस्थित भए ।
- केही समयको सम्बोधनपछि संसद्मा आलटाल र जाली तथ्य पेस गर्दै उनी बिदा भए ।
- बिदा हुनुअघि क्याटलन स्वतन्त्र भएको घोषणामा उनले हस्ताक्षर गरेका थिए ।
अक्टोबर १० मा क्याटलोनियाका विखण्डनकारी नेता कारलस पुज्डमोनको पूर्वाअनुमानबमोजिम एकतर्फी रूपमा क्याटलन स्वतन्त्रताको घोषणाका लागि क्षेत्रीय संसद्मा उपस्थित भए । केही समयको सम्बोधनपछि संसद्मा आलटाल र जाली तथ्य पेस गर्दै उनी बिदा भए । बिदा हुनुअघि क्याटलन स्वतन्त्र भएको घोषणामा उनले हस्ताक्षर गरेका थिए । ‘गणतन्त्र राष्ट्रका रूपमा क्याटलोनिया स्वतन्त्र राष्ट्र भएको जनमत प्राप्त भइसकेकोे’ धारणा दृढतापूर्वक व्यक्त गर्दागर्दै पुज्डमोनले ‘आगामी साता छलफल गर्न स्वतन्त्रता घोषणा कार्यान्वयनलाई तत्कालका लागि भने स्थगित गरेको’ प्रस्ताव राखे ।
संसद्मा उनको अभिव्यक्तिले एकपछि अर्को प्रश्नको चाङ खडा गरेको छ । किन उनले स्वतन्त्र घोषणामा हस्ताक्षर मात्र गरे ? किन स्वतन्त्रता कार्यान्वयन केही साताका लागि स्थगित गरे र अन्तर्राष्ट्रिय मध्यथताका लागि गुहार गरिरहेका छन् ?
वास्तवमा पुज्डमोनले बार्सिलोनाको सडकमा वृहत् रूपमा स्पेनी नागरिकले स्पेन एकता पक्षमा उत्रिएका प्रदर्शनकारीलाई सम्बोधन गरेका थिएनन् । उनले त केवल क्याटलोनियाका तर्फबाट अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गरेका थिए । अन्य क्याटलन विखण्डनकारी नेताले जस्तै पुज्डमोनले पनि स्वतन्त्रता आन्दोलनलाई थप अगाडि बढाउन सो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक देखेका छन् । स्वेच्छाचारी रूपमा स्वतन्त्रता घोषणा गरेका उनले क्याटलनलाई वैधानिकता दिन अन्तर्राष्ट्रिय समूहको सहानुभूति र आशीर्वाद खोजिरहेका छन् ।
क्याटलन क्षेत्रीय सरकारले अक्टोबर १ मा अवैधानिक जनमत संग्रह सम्पन्न गरेपछि यसका विखण्डनकारी नेता र क्याटलनप्रति सहानुभूति राख्ने व्यक्तिले स्पेन सरकारसँगको विवाद समाधानका लागि बारम्बार अन्तर्राष्ट्रिय मध्यस्थता गुहार्दै आएका छन् । मन्तव्यमा पुज्डमोनले व्यक्त गरेको धारणा क्याटलोनिया वार्ताका लागि उदार छ है भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनु थियो । त्यसबाहेक अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो पक्षमा पार्न पनि उनले सो आह्वान गरेका थिए । उनको मन्तव्यपछि केही अन्तर्राष्ट्रिय व्यक्ति र संस्थाहरू थप सलबलाउन थालेका छन् । सामान्य अनुरोधसहितको आकर्षक वार्ताको मध्यस्थताको आह्वान केवल १४० शब्दको ट्विट्मा सावधानीपूर्वक समेटेपछि अन्तर्राष्ट्रिय आवाज गुञ्जायमान भएको छ ।
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानलगायत अन्तर्राष्ट्रिय अगुवाहरू र उनका निकट मित्र तथा नोबेल शान्ति पुरस्कार विजेता डेस्मोन्ड टुटुले पनि वार्ताका लागि आह्वान गरेका छन् । अस्तव्यस्तता र द्विविधाबीच वार्ता गर्न वास्तवमा कति जटिल छ ? अवश्य पनि यसको प्रष्ट जवाफ पाउन मुस्किल छ ।
आधारभूत रूपमा प्रजातन्त्र जहिले पनि वार्तामा निर्भर रहन्छ । प्रजातान्त्रिक प्रणाली सामान्यतया कानुनी ढाँचा हो । जसलाई संविधानले टेको दिएको हुन्छ र त्यसले छलफलबाट विवाद समाधानतर्फ पहल गर्छ । प्रजातान्त्रिक प्रणाली गतिहीन वा स्थिर नमुना होइन । ढाँचामा समस्या भए संविधान परिवर्तन गर्न सकिन्छ, तथापि यस्तो परिवर्तन ख्यालख्यालमा हुने विषय होइन । प्रजातन्त्र मिहिनेतपूर्ण कार्य हो । प्रजातन्त्रलाई अनुनय, सम्झौता र समझदारी आवश्यक पर्छ । तर, समाजले विश्वास गर्ने वेलासम्म यसले काम गर्छ । जब प्रणालीले संवैधानिक परिधिभन्दा बाहिर वार्तालाई धकेल्छ भने समस्या निम्तिन्छ । यदि कसैले प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई बिगार्न वा मिच्न खोज्छ भने प्रजातन्त्रको बहसमा बस्नुको कुनै औचित्य छैन ।

अन्नान र टुटुलाई उचित सम्मानसँगै बाह्य मध्यस्थताको विषय उठाइएको छ र यसले स्पेनको प्रजातन्त्रलाई कमजोर पार्ने खतरा छ । तसर्थ, विखण्डनकारीले अन्तर्राष्ट्रिय मध्यस्थताका लागि गरेको आह्वानलाई बाह्य संसार र विशेषगरी युरोपले विरोध गर्नैपर्छ । स्पेन र अन्य स्थानमा विधिको शासन र संवैधानिक प्रजातन्त्रभन्दा बाहिर उभिन कसैलाई पनि अनुमति छैन । क्याटलोनियामा जे भएको छ, त्यसले स्पेनका लागि र विशेषगरी विभाजित क्याटलन समाजका लागि समस्या निम्त्याएको छ । स्पेनको प्रजातन्त्र सापेक्षिक रूपमा युवा अवस्थामा नै भए पनि तत्कालीन तानाशाह फ्रान्सिसको फ्रान्कोको मृत्युपछि ४२ वर्षदेखि अनगिन्ती चुनौती सामना गर्दै आफैँमा परिपक्व पनि छ । स्पेनको हट्टाकट्टा र जोसिलो प्रणालीगत कार्यलाई हामीले निस्फिक्री रूपमा छाडिदिनुपर्छ ।
शुभ समाचार यो छ कि युरोपेली युनियन र उसका सदस्य राष्ट्रले उचित ढंगले अडान राखेका छन् । ‘विधिको शासनको सम्मान नगर्नेलाई महत्व नदिने’ घोषणा गर्दै फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले युरोपेली हस्तक्षेप अस्वीकार गर्दै आएका छन् । विषयका बारेमा केही अस्पष्ट भनाइ राखे पनि युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड ट्रक्सले विखण्डनकारी नेता पुज्डमोनलाई ‘संवैधानिक प्रणाली’को सम्मान गर्न आग्रह गरेका छन् ।
युरोपेली कमिसनका उपाध्यक्ष फ्रान्स टिमरम्यान्सले क्याटलन क्षेत्रीय अधिकारीहरूले ‘विधिको शासनको छनोट’लाई अस्वीकार गरेको घोषणा गरेका छन् र युरोपेली समाजका तीन स्तम्भहरू ‘प्रजातन्त्र, विधिको शासन र मानवअधिकारको सम्मान’लाई हटाएमा ‘अन्य संस्थाहरू पनि भत्किने’ चेतावनी दिएका छन् ।

तर, क्याटलन समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने वा विशेषतः युरोपेलीकरण गर्ने भन्ने दबाबले झन् संकट निम्त्याउनेछ । क्याटलनका विखण्डनकारी नेताहरू अन्तर्राष्ट्रिय प्रचारबारे राम्रै हेक्का राख्छन् र उनीहरूलाई सञ्चारबारे उपयुक्त ज्ञान छ । हिंसाको दृश्य वा लामो गतिरोधले क्याटलन समस्यामा संलग्न हुन नचाहने युरोपेली नेताहरूको दृढतालाई झन् कमजोर बनाउँछ भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ । त्यसो त युरोपेली युनियनअन्तर्गतका दुई वा दुईभन्दा बढी सरकारको संलग्नताले स्पेनको अवस्था कमजोर हुन्छ भन्ने सम्भावनलाई अपरिहार्य मान्न सकिँदैन । र, इयुका केही सदस्य राष्ट्रहरूले स्पेनको कमजोर अवस्थाबाट अनुचित लाभ लिने छैनन् । युरोपेली नेताहरू यस्तो प्रलोभनमा शिर झुकाउनु हुदैन । सारभूत रूपमा इयु कानुनको निर्माण हो । विधिको शासन र प्रजातन्त्रको अतिक्रमण इयुका नेताहरूका लागि अभिशप्त हुनेछ । इयुका नेताहरूले स्पेनमा (क्याटलन मुद्दामा) हस्तक्षेप गरिहाले भने पनि आफ्नो सार्वभौमसत्ता र विशेष अधिकारको रक्षाका लागि निरन्तर रूपमा संघर्ष गरेका सदस्य राष्ट्रहरूका लागि लज्जाबोध हुनेछ ।
अझै फराकिलो ढंगले बुझौंः पश्चिम युरोपको मुटुमा रहेको स्पेनको प्रजातन्त्रलाई आधरभूत रूपमा कमजोर पार्न सकिन्छ भने जहाँसुकैको प्रजातन्त्रलाई पनि कमजोर पार्न सकिन्छ । तर, यसले सामना गरेको चुनौती उचित ढंगले समाधान गरियो भने विधिको शासन पुनर्जीवित हुनेछ । आफूलाई उदार प्रजातन्त्रको विजेता घोषणा गर्नेले त्यो पुनर्जीवितको सम्भावनालाई बाइपास गर्नु पाखण्डपनजस्तै गैरजिम्मेवार हो ।
स्पेनकी पूर्वविदेशमन्त्री तथा विश्व बैँककी पूर्ववरिष्ठ उपाध्यक्ष अन्ना पालासिओ स्पेनिस काउन्सिल अफ स्टेटकी सदस्य तथा जर्जटाउन युनिभर्सिटीकी प्राध्यापक हुन् ।
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रतिक्रिया