फेरि किसुनजीको संझनामा….!
सारांश
- जयप्रशाक आनन्द किसुनजी, क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नु होला!
- हामी एक दुई अपवाद बाहेक कोइराला परिवार कै सदस्यबाट कोठा भरिएको थियो।
- यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो।
जयप्रशाक आनन्द
किसुनजी, क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नु होला!
हामी एक दुई अपवाद बाहेक कोइराला परिवार कै सदस्यबाट कोठा भरिएको थियो। यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो। यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइरालाले यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो।
किसुनजी को व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन। सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भुईँमा बस्नु भएको थियो। कोइराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्राशन बसाइले उहाँलाई एउटै सतहमा बसेका मध्ये सबैभन्दा अग्लो बनाएको थियो।
गिरिजा बाबू त्यहाँ हुनुहुन्थेन। बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोइराला निवास पुग्नु भएको थियो। नोना कोइरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नुहुन्थ्यो। उ बेलासम्म गिरिजा बाबू प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन। अन्तरिम सरकार थियो। संविधान नै आएको थिएन। निर्वाचन नै भएको थिएन। यस बेला किसुनजी सबै काँग्रेसजनका आखाँका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो। उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भुईँमा थिएनन्। दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए। फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएनन् रामनगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका वंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाइँमा कोईरालाको इगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो।
हामी मस्का भन्छौ नि, मस्का लगाउने! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो। हामी तिर हेर्दै भन्नु भो–बुझ्नु भो, म जेलमा हुँदा सधैँ नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थेँ। सात सालमा बिराटनगर मजदुर हडतालका क्रममा राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिलासमेत नौं जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै
हुनुहुन्थ्यो।
नोनाले पस्कनु भएकी रेड लेबल ह्विस्कीका केही पेगपछि किसुनजी अचानक गभ्भीर हुनुभयो। विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो। बद्रि बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, वशन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं। यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नु भो–ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोरह वर्षसम्म जेल बस्न सकेहुलाँ? यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो। संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र(यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भो) यो भन्ने सामथ्र्य त्यहाँ कसैमा थिएन।
‘शक्तिमा मानिस देवत्व देख्छ। राजालाई त हामीले अवतार नै मान्यौं। राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे। हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरू मै हुन्छ। शक्तिका अगाडि सँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन्। म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र?’
किसुनजीमा जीवनका तत्व वोधहरूले ठाँउ ओगट्दै गएको थियो। हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं। अर्थशास्त्रीका बारेमा भन्छन् नि, चार जना घाघरान अर्थशास्त्रीकाबीच बसेका पाचौं अज्ञानी त्यतिञ्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका बारेमा बोल्दैन। किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं। म त निश्चय नै।
तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफू मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रुँगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा अडिग भै जेलमा बस्न सक्नु भयो।
उहाँ भन्दै हुनुहुन्थ्यो– नोनाजी, राममणि आचार्य दीÞक्षित जस्ता उ बेलाको प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे। किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस्। जेलबाट रिहा हुनोस् र गर्नुस् राजनीति।’ धेरैले यसो गरेका पनि थिए। कतिपय पटक आफु गलेके र भोलि बिहानै छुट्ने बाटोमा बढ्ने प्रबल इच्छा बन्ने गरेको निश्चयी भएर राति सुत्ने गरेको सुनाउनु भयो। तर, बिहान बिषम् अवस्थामा प्रति दिन बिताउने गरेका साथी भाइहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो।
‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन्। होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो। अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ। यही प्रारब्धले बाह्य परिणाम दिन्छ। प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ। यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सके..!’ किसुनजी ले कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनु भएको थियो त्यस दिनको राति। ह्विस्की फिका भएको थियो। जीवनमा अमिट रंगहरू थपिएको थियो। मध्य रात्रीसम्म सम्झेर लेखी ती कुराहरू लेखी बसें।
उहाँले नोना आमा तिर उन्मुख हुँदै भन्नु भयो– नोनाजी यही त्यो कुरा हो जो तपाइँको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो। मैले राम्ररी ठम्याएको थिए, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो।
म आज सम्झिन्छु, थोरै समयमा सब कुछ कसरी
फेरियो। नियतिले हामीलाई कहाँकहाँ पुर्यायो। काँग्रेस जो एउटा समभाव, सद्भाव तथा सहकार्यको कूल थियो, एक आपसमा, एकअर्काका लागि घोर प्रतिकूल
भयो। हामी मध्ये धेरै जो जीवन भर किसुनजीका प्रति अभिभूत रहेका थियौं। उहाँ चुनाव हार्नोस् चाह्यौं। धेरथोर लाग्यौ पनि। म पनि लागे।
किसुनजी, तपाइँप्रति सानोतिनो अपराध गरेपनि, तपाइँले आफ्नै जीवनकालमा ती कुराहरूलाई विस्मृतिमा थन्काए पनि, सोच्दछु ती दुर्दिनहरूबाट हामी नगुज्रिएको भए कति राम्रो हुन्थ्यो। क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नु होला! तपाइँको ९३ औं जन्म जयन्तिका मौकामा म ऋणीको भवपूर्ण श्रद्धा सुमन अर्पित छ।
८८८८
(यस पोष्टसंगै राखिएको तस्वीरमा बस्नु भएका मध्ये क्रमशस् किसुन जी, गिरिजा बाबु, महेन्द्र नारायण निधी र गणेश मान सिंह देखिनु भएको छ । पछाडी उभिएकामा रामवरण यादव, महेश आचार्य, बासुदेव रिसाल, राम शरण महत, खुम बहादुर खडका, ढुण्डीराज शास्त्री र म पत्रकार सम्मेलनको संचालन गरिरहेको)
प्रतिक्रिया