सी जिनफिङको कार्यकालमा चीनको कति भयो विकास ?
सारांश
- चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो ।
- यो मुलुकले केही समययता आर्थिक क्षेत्रमा अविश्वसनीय रुपमा सुधार गरिरहेको छ ।
- विश्वमा सबैभन्दा ठूलो आर्थिक शक्ति भएको मुलुक बन्ने लक्ष्य चीनको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो । यो मुलुकले केही समययता आर्थिक क्षेत्रमा अविश्वसनीय रुपमा सुधार गरिरहेको छ । विश्वमा सबैभन्दा ठूलो आर्थिक शक्ति भएको मुलुक बन्ने लक्ष्य चीनको छ । चीनको अहिलेको आर्थिक सुधारको गतिलाई हेर्ने हो भने पनि यो लक्ष्य त्यति टाढा होइन । अहिलेको गतिमा अघि बढेको खण्डमा चीन अबको १० वर्षभन्दा पनि कम समयमा विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति बन्ने केही विवरणहरुले यसअघि नै देखाइसकेका छन् ।
चीनको आर्थिक अवस्था राम्रो हुनुमा सबै चिनियाँ नागरिकहरुको महत्वपूर्ण भूमिका हुनेमा कसैको दुईमत नहोला । यद्यपि, सबैभन्दा महत्वपूर्ण भूमिका मुलुकको नेतृत्वकर्ताको हुन्छ । अहिले चीन पनि यस्तै नेताको खोजीमा रहेको छ ।
त्यसो त चीन पूरै प्रजातान्त्रिक मुलुक भने होइन । तर एउटै मात्र पार्टीमा भए पनि चीनले आफ्नो नेता छान्ने समयमा विशेष ध्यान दिने गरेको छ । अहिले पनि चीनमा यस विषमा बहस जारी छ । यदि सबैभन्दा राम्रो काम गर्ने नेतृत्वलाई आगामी दिनमा राष्ट्रपतिको ताज पहि¥याउने हो भने अहिलेको राष्ट्रपतिको विषयमा पनि राम्रो वा नराम्रोको छलफल हुनु जरुरी हुन्छ र चीन अहिले पछिल्लो पाँच वर्षको समयमा के कस्तो प्रगतिहरु भए भन्ने समीक्षाको क्रममा रहेको छ ।
यसको अर्थ अब चीनको राष्ट्रपति सि जिन फिङ नै हुन्छन् वा अर्को कुनै नेताको चयन गरिन्छ भन्नेमा धेरैको चासो रहेको छ । तर, पछिल्लो पाँच वर्षको अवधिलाई हेर्ने हो भने चीनको विकासमा सि जिन फिङको कार्यकाल निकै महत्वपूर्ण देखिन्छ । यो आधारमा सि जिन फिङ नै आगामी कार्यकालको लागि चुनिने सम्भावना बलियो रहेको देख्न सकिन्छ ।
केके प्रगति भयो त सि जिन फिङको कार्यकालमा ?
सन् २०१२ मा सि जिन फिङ चीनको राष्ट्रपति बनेका हुन् । उनी राष्ट्रपति भएपछि चीनको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ । यद्यपि सन् २०१५ तथा २०१६ मा भने चीनको आर्थिक क्षेत्र कमजोर रहेको देखिएको थियो तर पछिल्लो समय चीनको आर्थिक सुधारले उक्त समस्या क्षणिक रहेको पुष्टि भइसकेको छ ।
चीनले पछिल्ला पाँच वर्षमा संरचना निर्माण तथा भ्रष्टाचारविरुद्धको क्षेत्रमा केही सफलता हासिल गरेको देख्न सकिन्छ । अझ भन्नुपर्दा चीनले विश्वलाई नै यातायात तथा संरचना निर्माणको मामिलामा महत्वपूर्ण पाठ सिकाएको छ ।
संरचना भन्नाले भवन निर्माणलाई मात्र बुझिँदैन । यातायातका पूर्वाधारहरु निर्माणको कामहरु पनि यो क्षेत्रमा पर्ने गर्छन् । चीनले पछिल्लो पाँच वर्षकै अवधिमा आफ्नो बुलेट रेलको योजना ल्याएको हो । उसले ल्याएको योजनाहरु अनुकरणीय पनि रहेका छन् । चीनले गएको महिनादेखि उच्च गतिको रेललाई सार्वजनिक सेवामा ल्याएको छ । यो सेवाको माध्यमबाट चीनको टियान्जन रेल स्टेसनबाट बेइजिङको दक्षिणी क्षेत्रसम्म पुग्नको लागि केवल २५ मिनेटभन्दा पनि कम समय लाग्ने बताइएको छ ।
चीनमा पूर्णरुपमा निर्माण गरिएको यस किसिमको रेलको गति चार सय किलोमिटर प्रतिघण्टासम्म रहेको बताइएको छ तर अहिले भर्खरै यसले आफ्नो गति तीन सय ५० किलोमिटर प्रतिघण्टाको रहने बताइएको छ । यो रेलको गति अत्यधिक रहेको अवस्थामा दुर्घटनाको जोखिम धेरै हुने कारण केही समयअघि यसको गति तीन सय ५० किमी प्रतिघण्टामा झारिएको हो ।
अहिले चीनमा सञ्चालनको क्रममा रहेको रेलले जापानको सबैभन्दा धेरै गति भएको रेललाई उछिनेको छ । यसअघिसम्म जापानको तीन सय २० किमी प्रतिघण्टाको गति रहेको रेल विश्वको सबैभन्दा छिटो कुद्ने रेल थियो ।
चीनका दुई स्थानहरुको यात्राको दूरीलाई चार घण्टादेखि घटाएर आधा घण्टाभन्दा कममा सीमित गरेको थियो । साथै अहिले चीन विश्वका केही मुलुकहरुमा आफ्नो रेलको योजना लागू गरिरहेको छ । यसले पनि चीन अबको केही समयमा आफ्नो प्रविधि विश्वलाई नै विस्तार गर्ने योजनामा रहेको देखिन्छ ।
संरचनाको क्षेत्रमा चीनले हासिल गरेको अर्को महत्वपूर्ण पाटो भनेको ओबीओआरको योजना हो । यो योजनाको कारण अहिले विश्वव्यापी रुपमा एक किसिमको तरङ्ग पैदा भएको छ । यस किसिमको तरङ्ग पैदा उत्पन्न हुनुको एक कारण यो कार्यक्रमको विषयमा चीनले पाएको सफलता प्रमुख कारण हो । यो योजना पूरा भएको अवस्थामा चीनको सम्बन्ध विश्वका ६५ मुलुकहरुसँग हुन्छ । यसले आगामी दिनमा चीनलाई थप आर्थिक सुधारको लागि सहयोग पु¥याउने विश्वास विश्लेषकहरुको रहेको छ ।
चीनले संरचना निर्माणको क्रममा आफ्नो ऊर्जाको क्षमतामा पनि उल्लेख्य विस्तार गरेको छ । विशेषगरी चीनको अहिलेको प्रयास युरोप र एसियाको बीचको आर्थिक सुधारको रहेको छ । युरोप र एसियाको बीचमा हुने व्यापारको माध्यमबाट आर्थिक सुधारको योजनासहित अघि बढिरहेको चीनले पछिल्ला पाँच वर्षको अवधिमा महत्वपूर्ण आधारशीला राख्न सफल भएको छ । साथै चीनले आफ्नो प्रविधिको विकास पनि धेरै गुणाले विस्तार गर्न सफल भएको छ । प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुमा चिनियाँ कम्पनीहरु सबैभन्दा अब्बल बन्दै गएका छन् ।
चीनले गएको पाँच वर्षमा हासिल गरेको अर्को महत्वपूर्ण सफलता भनेको भ्रष्टाचारविरुद्धको योजना हो । भ्रष्टाचारको विरुद्धमा चीनको नीति बलियो भए पनि काम भने सन्तोषजनक नरहेको बताइँदै आएको अवस्थामा चीनले महत्वपूर्ण सुधार गरेको हो । यो अवधिमा १० लाखभन्दा बढी कर्मचारीहरु कारबाहीमा परेको विवरण केही समयअघि मात्र सार्वजनिक भएको थियो । यो विवरणले पनि चीनको कार्यक्रमको प्रभावकारितालाक्ष्ए पुष्टि गर्छ । विश्वका धेरै मुलुकहरुको विकासको प्रमुख बाधकको रुपमा रहेको यो क्षेत्रमा हासिल भएको यो सफलताको कारण आगामी दिनमा पनि चीनको विकासमा महत्वपूर्ण सहयोग मिल्ने अनुमान विश्लेषकहरुले गर्दै आएका छन् ।
चीनले यो अवधिमा गरेका विकासहरुमा कुनै चुनौतीहरु नआएको होइन तर चीन सबै चुनौतीहरुलाई पाखा लागाउँदै विकासको पथमा लम्किएको हो । सि जिन पिङको पालामा अन्तर्राष्ट्रिय नीतिमा पनि चीन बलियो देखिएको छ । खासै अरुको मामिलामा हस्तक्षेप नगर्ने नीति बनाएको चीनले दक्षिण एसियामा आफ्नो प्रभाव बलियो राख्न सफल भएको छ । बंगलादेश, नेपाल, पाकिस्तानमा आफ्नो राम्रो प्रभाव बनाएको चीनले केही समयअघि भुटानलाई पनि आफ्नो पक्षमा पार्ने प्रयास गरेको थियो ।
चीनले पाँच वर्षको अवधिमा यति धेरै विकास गर्दा विश्वका अन्य मुलुकहरु हेरेर मात्र बसिरहे । उनीहरुमध्ये केहीले चीनलाई कमजोर बनाउने हतकण्डा नअपनाएका होइनन् तर उनीहरुले आफ्नो विकास बढाउने मामिलामा भने खासै ध्यान दिन सकेनन् । अबको अर्को पाँच वर्ष चीनको विकास हेरेर मात्र बसिरहने हो यो चीनको लागि आर्थिक तथा जीवनस्तरमा सुधारको हिसाबमा विश्वको सबैभन्दा ठूलो शक्ति राष्ट्र बन्नका लागि गरिएको सहयोग साबित हुनेछ ।
प्रतिक्रिया