बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
सारांश
- काठमाडाैं।
- यू–१९ एशिया कप प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले दिएको २ सय ६२ रनको लक्ष्यलाई बंगलादेशले ४ बल बाँकि छँदै पुरा गर्न सफल भयो ।
- आइतबारको खेलमा हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडाैं। यू–१९ एशिया कप प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले दिएको २ सय ६२ रनको लक्ष्यलाई बंगलादेशले ४ बल बाँकि छँदै पुरा गर्न सफल भयो । आइतबारको खेलमा हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि नेपाल श्रीलंकासँग पराजित भएको थियो । आइतबार कोलम्बोमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाउने क्रममा नेपालको लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे ।
ओपनर पवनले १ सय ९ बलको सामना गर्दै ८ चौका र १ छक्का सहित ८३ रन बनाए । त्यस्तै आक्रामक ब्याटिङ गरेको जोराले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
यी बाहेक ओपनर रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।
बलिङतर्फ शाहिन आलम र तान्जिम सकिबले समान २ विकेट लिए भने मृत्युजंय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिद हृदोयले समान १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बंगलादेशले संघर्ष गर्दै ४९.२ ओभरमा २ सय ६२ रन बनाउँदै नेपाललाई हरायो । चार विकेट मात्र गुमाएको बंगलादेशको लागि कप्तान अकबर अलीले ८२ बलमा १४ चौका सहित नटआउट ९८ रन बनाए ।
१९ रनमै दुई विकेट गुमाएको बंगलादेशले सम्हालिँदै खेलेर इनिङ उकासेको थियो । तेश्रो विकेटको लागि नै ७९ रनको साझेदारी भएसँगै नेपाललाई संकट पर्न सुरु भएको थियो । बंगलादेशी ब्याटसम्यानहरुले अनुभवको प्रयोग गर्दै इनिङ बनाउँदै लिएर गएपनि नेपाली बलरहरुले रनरेट कसिरहेका थिए ।
विकेट झार्न नसक्दा नै नेपाली मेहनतले जितको रुप देख्न सकेन ।
कप्तान बाहेक बंगलादेशको लागि टोहिद हृदोयले ८८ बलमा ६० रन बनाए भने महमदुल हसन जोएले ५६ बलमा ४० रन बनाए । नटआउट रहेका समिम होसेनले ४२ रन बनाए ।
बलिङतर्फ नेपालको लागि कमल सिंह ऐरीले २ विकेट लिएभने रशिद खान र हरि चौहानले समान १ विकेट लिए ।
नेपालले प्रतियोगिताको अन्तिम खेल युएईसँग आगामी मंगलबार खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया