बट्टाईपालनमा युवा आकर्षित

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
बट्टाईपालनमा युवा आकर्षित

सारांश

  • जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ ।
  • वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो ।
  • बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उहाँले बताउनुभयो ।

जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो ।
बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उहाँले बताउनुभयो । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न थालेको छु’’, उहाँ भन्नुहुन्छ । बिन्तीरामको खोरमा ५०० वटा बट्टाई रहेका छन् ।
बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हँुदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालन गर्न थालेको उहाँ बताउनुहुन्छ । ‘‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’’, बिन्तीराम भन्नुहुन्छ, ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’’
बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा लागेको अर्का युवा टीकापुर–१ का बलराम भगोरियाले बताउनुभयो । ‘‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’’, भगोरियाले भन्नुभयो, ‘‘अहिले व्यावसायिकरुपमा पाल्न थालेको छु ।’’
एउटा बट्टाई रु. २०० मा र अण्डा प्रतिगोटा रु. १० मा बिक्री हुने गरेको छ । लम्की चुहाका रमेश चौधरीले गत वर्षबाट बट्टाईपालन शुरु गर्नुभएको हो । उहाँले यसबाट एक वर्षमा तीन लाख आम्दानी भएको बताउनुभयो । ‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भन्नुभयो, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’
कृषिलाई पेशा बनाउन थालेका युवा स्थानीय सरकारले व्यावसायिकरुपमा कृषि, पशुपालन गर्नेलाई अनुदान, प्राविधिक ज्ञानजस्ता कुरामा सघाउन आवश्यक रहेको बताउँछन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी किसानले माग गरे स्थानीय सरकारले यस किसिमका योजना ल्याउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?