बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

सारांश

  • काठमाडौं ।
  • बेनीबाट नाराणगढ जाँदै गरेको बस पर्वतको मालढुङ्गामा बिहिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
  • घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।

काठमाडौं । बेनीबाट नाराणगढ जाँदै गरेको बस पर्वतको मालढुङ्गामा बिहिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकाम बेनीबाट नारायणगढतर्फ हिंडेको ग१ख ६१०८ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

यसरी मृत्यु हुनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बागलुङ नगरपालिका–४ कुँडुलेकी ४८ वर्षीया शान्ति केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । घाइतेमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि काठमाडौं ल्याइएका कालिकोट महावल गाउँपालिका–४ का राजबहादुर सिंह, म्याग्दी बेनी–८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही ठाउँका दीपेन्द्र विक, पर्वत जलजला–८ का प्रवेशिका पौडेल र उनका भाई सात वर्षीय प्रमाण पौडेल, चितवन लङ्पुरका ४५ वर्षीय रोहिडीप्रसाद चापागाईं, सोही ठाउँका कृष्ण पौडेल तथा बेनी नगरपालिका–७ की मन्दिरा पौडेल रहेका छन् ।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार हुने घाइतेमा जलजला गाउँपालिका– ८ का विक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा–३३ का लक्ष्मी बोहरा, सोही ठाउँका दिपिका बोहरा, कास्की अन्नपूर्ण–४ बस्ने चन्द्रा आचार्य, सोही ठाउँका सात वर्षीय बालक शंकर पौडेल, जलजला–७ का विषमाया पुन, कुश्मा नगरपालिका–९ का बस चालक रमेश पराजुली रहेका छन् ।

यसैगरी जलजला गाउँपालिका– ७ का उदिवर तिलिजा, कमल पौडेल र बालकृष्ण पौडेल, म्याग्दी बेनी–७ का टेकबहादुर पुन, हेमकला रेग्मी र सुन्दरी पौडेल चितवन भरतपुर महानगरपालिका–४ का पूर्णकला बस्नेत, पर्वत जलजला– ८ का राजन सापकोटा, देवीलाल नेपाली, दीपक परियार र तुलसी सुवेदी, धादिङका मानबहुर गुरूङ, चितवनका लक्ष्मी पौडेललाई पनि उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीबाट १४ जना यात्रु लिएर छुटेको बस आधा घण्टामै दुर्घटनामा परेको हो । अन्य यात्रु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?