बाँस्कोटाको घरमा बम विस्फोट गराउने आतंककारी : प्रचण्ड
सारांश
- काठमाडौं।
- सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको बताएका छन्।
- बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आतंककारी समूहले प्रेसर कुकर बम विस्फोटको निन्दा गरेका हुन्।
काठमाडौं। सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको बताएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आतंककारी समूहले प्रेसर कुकर बम विस्फोटको निन्दा गरेका हुन्।
‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाको मध्यपुर नगरपालिका–१, लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्याएको छ। म हाम्रो पार्टीकातर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार विहान शक्तिशाली बम विस्फोट भएको थियो। उक्त विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ। विप्लव समूहलाई सरकारले एक वर्ष अगाडि प्र्रतिवन्ध लगाएको थियो।
बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए। पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन्।
प्रतिक्रिया