बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
सारांश
- सिमरा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एमाले बाराले चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली सिफारिस गरेको छ ।
- कांग्रेसले भने दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
- दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेस छलफलमा जुटिरहेको छ ।
सिमरा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एमाले बाराले चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली सिफारिस गरेको छ । कांग्रेसले भने दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेस छलफलमा जुटिरहेको छ । नेकपा माओवादी केन्द्रले भने चार वटै निर्वाचन क्षेत्रमा नाम टुंगो लगाउन सकेको छैन् ।
यी हुन एमालेले सिफारिस गरेको नाम
नयाँ संरचना हुँदाँ ६ वटा निर्वाचन क्षेत्रबाट ४ वटा बनाइएको बाराको क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेल र प्रमिला चौधरीको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका तीन जना मध्ये मैनालीले टिकट पाउन सक्ने सम्भावना बलियो रहेको एमाले नेताकार्यकर्ताले बताएका छन् । स्वच्छ छवि र सालिन नेताका परिचय बनाएका मैलानीले टिकट पाउनेमा एमाले नेताकार्यकर्ता ढुक्क देखिन्छन् ।
क्षेत्र नम्बर २ मा जिल्ला विकास समितिका पूर्व सभापति छठ्ठुप्रसाद यादवको नाम सर्वसम्मतले निर्णय गर्दै एमालेले केन्द्रमा सिफारिस गरेको छ । सांसद बलविर चौधरीले चुनाव नलड्ने घोषणा गरेपछि यादवको नाममा सर्वसहमती भएको हो । सर्वसम्मत निर्णय भएकाले २ नम्बरमा यादवले टिकट पाउने निश्चित भएको छ ।
क्षेत्र नम्बर ३ मा अध्यानन्द पाण्डे, बारा क्षेत्र नम्बर ६ का सांसद पौडेल र बिना खड्काको नाम सिफारिस भएको एमाले बाराले जनाएको छ । क्षेत्र नम्बर ३ मा सर्वसम्मत हुन नसकेपछि मतदान भएको थियो । मतदानमा एमाले नेता पाण्डेले १५, सांसद पौडेलले १० र शिवनारायण साहले ९ मत ल्याएका थिए ।
क्षेत्र नम्बर ४ मा सांसद नेजमा आलम, एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी र विरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको छ । सांसद आलम बारा क्षेत्र नम्बर ४ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिईन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि नाम सिफारिस भएसँगै एमाले बारामा नया अनुहारलाई अवसर दिनुपर्छ भन्ने बहस चर्कोरुपमा उठ्न थालेको छ । केन्द्रले सधै एउटै व्यक्तिलाई टिकट दिने परिपाटीको अन्त्य गर्नुपर्ने एमाले कार्यकर्ताको भनाई छ । एउटै व्यक्तिलाई पटक पटक अवसर दिइरहँदा पार्टीमा लामो समयदेखि योगदान दिनेले अवसर नपाउने र स्थानियस्तरमा पनि पार्टीको लोकप्रियता घटदै जाने निष्कर्ष कार्यकर्ताको छ ।
कांग्रेसले दुई क्षेत्रको टुंगायो, माओवादी छलफलमा
एमालेले चार वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस गरिसक्दा नेपाली कांग्रेसले भने दुई वटा मात्रै क्षेत्रको टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले भने अहिले सम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छैन् ।
कांग्रेसले बारा क्षेत्र नम्बर ४ मा पूर्वसभासद शोभाकर पराजुली र सुनिल गुप्ताको नाम पठाउने निर्णय गरी सिफारिस गरेको छ । पराजुली २०६४ सालको संविधान सभाको समानुपातिक सभासद हुन् । प्रदेश सभाका लागि ४९१० मा लोकेश सिंह, बिजय गुप्ता र शिवशंकर पटेलको नाम प्रदेश बिधायकमा सिफारिस गरिएको छ । यसैगरी ४९२० मा श्यामबाबु गुप्ता, ओम कार्की, कपिलदेव यादव, नारायण पण्डीतको नाम प्रदेश बिधायको लागि सिफारिक गरिएको कांग्रेस बाराले जनाएको छ ।
यसैगरी बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि श्रम मन्त्री फरमुल्हार मंसुर, सांसद लालबाबु सिंह र फुलमहमद धुनियाको नाम सिफारिस गरेको छ । बारा क्षेत्र नम्बर तीन बाट संविधान सभाको निर्वाचनमा निर्वाचित सांसद मंसुरले टिकट पाउने बलियो दाबेदारका रुपमा हेरिन्छन् । प्रदेश बिधायकतर्फ शरदचन्द्र भट्टराई, रामानन्द यादव, मनोज भट्टलगायतको नाम सिफारिस भएको छ । कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, तेजनारायण साह, अलिउतर रहमान, पंकज पाण्डेको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ र २ बाट नाम सिफारिस गर्नका लागि छलफल गरिरहेको छ । माओवादीले भने नाम टुंगाउनका लागि छलफलमा जुटिरहेको छ ।
प्रतिक्रिया