बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
१५ पटक हेरिएको
Shares
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै

सारांश

  • रुपन्देही, असार १० – प्रदेश नम्बर ५ अन्तर्गतको एकमात्र उपमहानगरपालिका बुटवलमा अहिले चुनावी सरगर्मी उच्च छ ।
  • नेपाली कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर एमालेलाई चुनौती दिन मैदानमा उत्रिएका छन् भने एमाले आफनो विगतदेखिको पकड जोगाउने कसरतमा छ ।
  •   कांग्रेस–माओवादी केन्द्रका मेयरका उम्मेदवार खेलराज पाण्डे र उपमेयरका उम्मेदवार जगत पोखरेल तथा एमाले मेयरका उम्मेदवार शिवराज सुवेदी तथा उपमेयरका उम्मेदवार गोमा आचार्य चुनावी प्रचारसहित मैदानमा रहेका छन् ।

रुपन्देही, असार १० – प्रदेश नम्बर ५ अन्तर्गतको एकमात्र उपमहानगरपालिका बुटवलमा अहिले चुनावी सरगर्मी उच्च छ । नेपाली कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर एमालेलाई चुनौती दिन मैदानमा उत्रिएका छन् भने एमाले आफनो विगतदेखिको पकड जोगाउने कसरतमा छ ।  कांग्रेस–माओवादी केन्द्रका मेयरका उम्मेदवार खेलराज पाण्डे र उपमेयरका उम्मेदवार जगत पोखरेल तथा एमाले मेयरका उम्मेदवार शिवराज सुवेदी तथा उपमेयरका उम्मेदवार गोमा आचार्य चुनावी प्रचारसहित मैदानमा रहेका छन् । एमालेका उपमहासचिव समेत रहेका पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र भएका कारण बुटवल उपमहानगरपालिका एमालेका लागि प्रतिष्ठाको विषय बनेको छ । एमालेले भन्दै आएको गढलाई भत्काउन कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् । २०६४ र २०७० सालको संविधानसभाको चुनावमा एमालेबाट विष्णु पौडेल यहाँबाट विजयी हुनुभएको थियो । २०५४ सालको स्थानीय चुनावमा बुटवलमा मेयर उपमेयर दुवैमा एमाले बिजयी भएको थियो । ०४९ सालको स्थानीय चुनावमा मेयर र उपमेयर नेपाली कांग्रेसले आफ्नो पक्षमा पारेको थियो । ०५६ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधान निर्वाचित हुनुभएको थियो । ०५६ सालमा विष्णु पौडेललाई पराजित गरेका कांगे्रसका प्रधान ०६४ सालको संविधानसभा चुनावमा पौडेलसँग पराजित हुनुभएको थियो ।   संविधानसभा चुनावको बेला क्षेत्र नं ४ मा रहेको साबिकको पर्रोहा गाविस (जसलाई एमालेको बलियो प्रभाब क्षेत्र मानिन्छ) बुटवल उपहानगरपालिकामा पर्दैन भने क्षेत्र नं ३ अन्तर्गत पर्ने कांग्रेस बलियो रहेको साबिकको सेमलार गाविस बुटवल उपमहानगरभित्र पर्दछ । १९ वडा रहेको बुटवल उपमहानगर भित्र ६६ हजार ६७४ मतदाता रहेका छन् । २० मतदानस्थल र ७४ मतदान केन्द्र बुटवल उपमहानगर भित्र कायम गरिएको छ । मेयर र उपमेयरसहित ९७ जना निर्वाचित हुने यस उपमहानगरमा प्रमुख दलसहित ४३४ उम्मेदवार चुनावी मैदानमा छन् ।  को हुन् त खेलराज पाण्डे ?  कांग्रेस माओवादी गठबन्धनमा मेयर उम्मेदवार खेलराज पाण्डे स्याङ्जामा जन्मिएर हुर्किएको भएपनि राजनीतिक कर्मभूमि भने बुटवललाई बनाउनु भएको छ । सरल र सीधा सम्र्पकमा पुग्न सक्ने स्वभावका पाण्डे  नेपाल विद्यार्थी संघ , तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा आउनु भएको हो । कांग्रेसका बुटवल उपमहानगर सभापति समेत रहनु भएका पाण्डे हरेक मतदाताको घर आगनमा पुगेका नेताको रुपमा चिनिनु हुन्छ । पार्टी भित्रको रामचन्द्र पौडेल समुहमा रहेका पाण्डेलाई पार्टी भित्रको संस्थापन पक्षका प्रभावशाली नेता बालकृष्ण खाँणको साथ र समर्थन रहेको छ ।  को हुन् त शिवराज सुवेदी ?  नेकपा एमालेको तर्फबाट बुटवल उपमहानगरको मेयरका उम्मेदवार शिवराज सुवेदी पार्टीका उपमहासचिव विष्णु पौडेल निकट मानिनु हुन्छ । एमाले रुपन्देहीका अध्यक्ष समेत रहनुभएका सुवेदी गम्भीर स्वभावको र आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने वक्ताको रुपमा चिनिनुहुन्छ । पोखरा जन्मथलो भएपनि सुवेदीले राजनैतिक थलो भने रुपन्दहिलाई नै बनाउनुभएको छ । उहाँले अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।  दुवै दलको चुनावी एजेण्डा सुकुम्बासीलाई लालपुर्जा  चुनावी मैदानमा उत्रिएका दुवै पार्टीका मेयर उम्मेदवारले सुकुम्बासीलाई लालपुर्जा दिने विषयलाई प्रमुख एजेण्डा बनाएका छन् । बुटवलमा ८–१० हजार भोट सुकुम्बासीको रहेको छ । सशक्त मुद्दा बन्न सकेन अखण्ड पाँच नम्बर र प्रदेशको राजधानी बनाउने एजेण्डा पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रयासको बिरोधमा बुटवलमा लामो समय प्रर्दशन भएको थियो । प्रर्दशनको अगुवाई एमालेका नेताहरुले गरेको भएपनि आन्दोलनमा सबै राजनीतिक दलहरु सहभागी भएका थिए । कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी समेत सहभागी रहेको आन्दोलनमा बुटवलमा मेयरका उम्मेदवारहरु खेलराज पाण्डे र शिवराज सुवेदी पनि सहभागी थिए । तर कुनै पनि उम्मेदवारको यो विषय चुनावी एजेन्डा बन्न सकेन् । कांग्रेस र एमाले दुवै पार्टीले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने एजेण्डालाई अगाडि सारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?