बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
सारांश
- मेयरलाई पत्र प्राप्तपछि… काठमाडौंं महानगरपालिकाका मेयरसाप उनका भरौटे अनि उनका डब्बा योजना शिखरन्यूजको एक सनसनीपूर्ण रिपोर्ट ।
- हामीलाई प्रकाशन गरिदिने अनुरोधसहित एउटा मेयरलाई पत्र शीर्षकको सामग्री प्राप्त भयो ।
- सो सामग्री प्राप्त भएपश्चात यो सामग्रीमा उठाएका काठमाडौंं महानगरपालिकाभित्रका सन्दर्भहरु के रहेछ त भनी हाम्रो टिमले अध्ययन गर्ने निश्कर्ष निकाल्यो ।
मेयरलाई पत्र प्राप्तपछि…
काठमाडौंं महानगरपालिकाका मेयरसाप उनका भरौटे अनि उनका डब्बा योजना शिखरन्यूजको एक सनसनीपूर्ण रिपोर्ट ।
हामीलाई प्रकाशन गरिदिने अनुरोधसहित एउटा मेयरलाई पत्र शीर्षकको सामग्री प्राप्त भयो । सो सामग्री प्राप्त भएपश्चात यो सामग्रीमा उठाएका काठमाडौंं महानगरपालिकाभित्रका सन्दर्भहरु के रहेछ त भनी हाम्रो टिमले अध्ययन गर्ने निश्कर्ष निकाल्यो । करिब एक हप्ताको महानगरपालिकाको गतिविधि अध्ययन तथा सरोकारवाला विभागका कर्मचारी स्रोतहरुबाट धरै सूचनाहरु हामीलाई प्राप्त भए । काठमाडौं महानगरपालिका पूर्ण वेथितीतिर तिब्र गतिमा गईरहेको निश्कर्षका साथ मेयरलाई लेखिएको पत्रमा उठाईएका कुराहरुलाई तथ्यगत रुपमा पुष्टी गर्न सकिने देखिएको हुनाले हामीले बुदाँगत रुपमा प्रस्तुत गरेका छौं । सो बुँदाहरु हामीलाई प्राप्त मेयरलाई पत्रपछिका बुँदागत रुपमा प्रकाशित छन् । जसले गर्दा काठमाडौं महानगरपालिकाभित्र के भइरहेको छ ? आम महानगरबासी तथा पाठकहरुलाई जानकारी मिलोस् र महानगरपालिकाले सुधारका लागि कदम चाल्न बाध्य बनोस्, त्यसैगरी सार्वजनिक निकायमा सुशासनलाई बल, जनताको सूसुचित हुने अधिकारलाई सम्मान, पुगोस् । यहि उद्देश्यका साथ यो सामग्री प्रकाशन गरेका छौं ।
मेयरलाई पत्र
प्रिय मेयरसाब सादर नमस्कार,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय तहको पहिलो निर्वाचनबाट संघीय राजधानी काठमाडौं महानगरपालिका सरकार प्रमुखको रुपमा निर्वाचित हुनभएकोमा ढिलो गरी बधाई (यो बधाई फिर्ता लिन/दिन सकिने गरी मात्र) ।
प्रिय मेयर,
मलाई स्पष्ट थाहा छ, सिमित मानिसको प्रयासले प्रणाली र पद्धतिहरु बदल्न सकिदैँन । एकातिरको सत्य यो हो भने अर्कोतिरको सत्य यो पनि हो कि केही सिमित मानिसले पनि प्रणाली र पद्धति बदल्ने प्रयास नगर्ने हो भने साबिकदेखि रहँदै आएको यो शहरभित्रको अराजकता सधा काल रही मेरो पुस्ता नै बित्नेछ । अनि यो सत्य बचनप्रति पनि म सचेत छु, यसरी लेख्दैमा तपाईंको कार्यशैलीमा गुणात्मक अन्तर आउँदैन । गुणात्मक अन्तरका लागि समता, ममता र समन्वयकारी दृष्टिकोण अर्थात तेस्रो आँखाको आवश्यक हुन्छ । त्यो तेस्रो आँखा तपाईंसँग छैन म क्रमशः विश्वस्त हुँदै गईरहेको छु । यस्तो लाग्दालाग्दै पनि दायित्वबोधले हो कि अवचेतन मष्तिस्कमा रहेको अस्तित्वको कुतकुतिले हो लेख्दै छु आफैँ भ्रममा रही ।
मेयरसाब,
शहरभित्र रहेको अराजकता चिर्दै शहरबासीलाई सुशासनको अनुभव दिलाउने दायित्वसहित तपाईंलाई शहरबासीले चयन गरेका हुन । तपाईंं बाहेक कुनै पनि मतदाताको यसमा बिमति छैन म विश्वस्त छु । मैले यस्तो लेख्नु गल्ति हुदाँहुँदै म जानी–जानी त्यही गल्ति गर्न जाँदैछु । किनकि तपाईंं र तपाईंं वरिपरि रहेका शक्ति दलालहरुको समालोचना सहन गर्ने शक्ति नै तपाईंंसँग छैन । सबैलाई थाहा भएको सत्य अराजकतालाई राजकतामा बदली सुशासन वितरण गर्ने संयन्त्र भनेकै तपाईंसँग रहेको कर्मचारी संयन्त्र हो । तपाईं निर्वाचित हुनुभन्दा पहिलेदेखि नै तपाईंलाईं थाहा थियो यो संयन्त्र कस्तो छ भनेर । किनकि, तपाईंं लामो समय यस नगर कर्यपालिकामा दलिय संयन्त्रमा पार्टीको प्रतिनिधित्व गर्नुहुन्थ्यो । तपाईं निर्वाचित भएको आज ७ महिना नाघिसक्यो । यतिका दिनसम्म महानगरबासीले त केही नयाँ अनुभव पाएनन् पाएनन् । आम कर्मचारीहरुले समेत तपाईं निर्वाचित भएको कुनै नौलो स्वाद नै लिन पाएनन्, केही पुरानै शक्ति दलाल समूहले बाहेक । बरु तपाईंको नगर कार्यपालिकाको इतिहासमा ११ महिना १९ दिनको निजामती कर्मचारी नेतृत्वले ठूलो भुईंचालो ल्याएको थियो । आजका शक्ति दलाल समूहको नाईकेहरु जागीर छाड्ने मनस्थितिमा पुगिसकेका थिए । तपाईंले त तिनै शक्ति दलाल समूहमार्फत पैसाले थिचिरहेको साविकदेखिको नगर कार्यपालिकाको पद्धतिलाई झन कसिलो र मजबुत बनाउँदै पो हुनुहुन्छ, त्यस्तो सुगन्ध (वास्तवमा दुर्गन्ध) देखिने र महशुस गर्न सकिने कर्महरु गरी देखाई सक्नुभएको छ ।
नगर प्रमुखज्यू,
बाहिरबाट हेर्दा केहि गरे जस्तो गरिरहनु तर केही पनि नर्गनु, खराबी गर्ने पात्रहरुको खोजी–खोजी संरक्षण र प्रर्वद्धन गर्नु तपाईंको नित्य कर्म हुँदै गईरहेको छ । प्राकृतिक सत्यलाई मनको सत्यले जितेपछि अनौठा कर्मकाण्डहरु जन्मन्छन् । खराब पात्रहरुको विषयमा कसैले ‘चुँ’ सम्म बोलेको थाहा पाउना साथ नमिठो वचनबाण हानी इच्छाशक्ति, लगाब र र्सिजनशीलताका अंश भएकालाई पाखा लगाउनु तपाईंको दैनिकी भएको छ आजभोली । यसको शुभ सुरुवात लाईक र कमेन्ट काण्ड घटाएर गरिसक्नुभएको रहेछ, बुझन् ढिला भयो ।
श्रीमान् प्रमुखज्यू,
यो नगरकार्यपालिकाको यर्थाथ मैले बुझेको छु जस्तो लाग्दो हो तपाईंलाई । शुरु–शुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो तपाईंलाई यर्थाथ थाहा छ । केही दिनपछि नै पक्कै परिर्वतनका लागि काम शुरु गर्नुहुन्छ । तर प्रत्येक दिन तपाईंको क्षमता र अन्तरमन चाहे जसरी नै वहान मिल्दै गए । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि, दशैपछि, तिहारपछि, प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनपछि अब औशीपछि, पूर्णिमापछि आदि/इत्यादी । आजभोली लाग्दैछ, तपाईंले बुझेको यर्थाथ भनेको तपाईंले चाहे जस्तै तपाईंका वरिपरी रहेका मष्तिस्कविहिन मानिसहरु जो काल्पनिक शब्दजाल तयार पारुन र सुनाउन, अनी काल्पनीक घाउहरु निमार्ण गरुन र ती घाउहरुलाई खोतली–खोतली रगत बगाई त्यही रगतले तपाईंको दाँयाँबाँयाँ बसेर सचेत गर्दै रहुन, जस्ले गर्दा तपाईंले लिएको संकल्पबाट तपाईं विचलित हुन नपरोस् ।
गणतन्त्र नेपाल राजधानी शहरका पहिलो नगर पिता,
साधुको साधनाबारेका वचन कृत्रिम सुनिदैँन, भोगीका आध्यात्मिक वचन अप्राकृतिक सुनिन्छ । निर्वाचित भएको यती छोटो अवधिमा तपाईंका वचन अप्राकृतिक हुँदै गईरहेका छन । तपाईंको प्रिय मानिसको अवकास समय र तपाईंको कार्यकालको समयको अन्तराल जम्माजम्मी एक वर्ष मात्र रहने अंकगणितको हिसाबले गर्दा अप्राकृतिक कर्मले कहाँसम्म उचाई लिने हो कल्पना गर्दा नै अत्यास लाग्दछ । यती हुँदाहुँदै पनि महानगरपालिकाका मतदाता र कर्मचारी संयन्त्रका पात्रहरु (तपाईंले वरिपरि राखेका बाहेक) तपाईंले सोचे जस्तो केही नबुझ्ने, एकोहोरो प्रतिवाद नगर्ने लम्पट सर्वहारा (लम्पेन प्रोलेंटोरियट) छैनन् भन्ने कल्पनाले मात्रै पनि मनलाई शितलता प्रदान गर्ने हुनाले स्थिति अत्यास लाग्दो मात्र छैन । कालो बादलमा चाँदीको घेरा हुन्छ नै भनी मन बुझाउन सकिन्छ ।
नगर पिता,
तपाईंको अलमल त राजनैतिक दलभित्रका सरोकारवालाहरु (साँच्चै शुसासन र विकासको चाहा भएकाहरु) लाई बुद्ध जस्तो शान्त र सोझो छ मेयर भन्ने भुलभुलैमा राखी विकासका ठूलाठूला रासायनिक गफ छाट्ने, प्रांगारिकतालाई चाँही अनैतिक स्रोत दोहनको माध्यम बनाउन सक्ने क्षमता भएका पात्रहरु नभेटाउनु नै आजसम्म विज्ञ समूह गठन नहुनुको कारण रहेछ । तपाईंको सोच बमोजिमका विज्ञको प्रवेश नगर कार्यपालिकामा भएन भने त औंलामा गन्न सकिने तपाईंका प्रिय पात्रहरुको दुरदिन शुरु भै हाल्छ, चिन्ता यस्तो पो रहेछ ।
श्रीमान् प्रमुख मेयरसाहेबज्यू,
सिक्ने (लर्निङ) को नभएर जानेको अहमलाई रित्याएर (अनलर्निङ) गरी मस्तिष्कमा ठाँउ बनाउने तत्परता नै तपाईंसँग नभएकाले पो तपाईंको नेतृत्वमा वैधानिक निकायबाट बढो तामझाम र गर्वका साथ पारित गराउनुभएको नीतिहरु (प्रथम नगर सभाले र कार्यपालिकाले निमार्ण गरेका इच्छाहरु) आजका दिनसम्म किन चिसा अक्षरका रुपमा मात्र रहीरहे बल्ल बुझ्दैछु । यीनै बुझाईका बीच ‘काग कराउँदै छ पिना सुक्दैछ,’ भन्ने तपाईंको प्रवृत्तिलाई मनन् गर्दै, कुनै माध्यमबाट पनि कहिल्लै निर्णय नपाउने आशाका साथ संयन्त्र भित्रबाट नै प्रिय आदरणीय काठमाडौं महानगरपालिकाका मेयरलाई बेतुकका लाग्ने सात वटा जिज्ञासाहरु निर्णयार्थ पेश गर्दछु ।
– तपाईंलाई टिकट दिने दल राष्ट्रको लागि कि भ्रष्टको लागि ?
– तपाईंले पाएको मत राष्ट्र सुधारलाई कि भ्रष्ट सुधारलाई ?
– कर्मचारी संयन्त्रको माध्यमबाट नै सबै खाले संरचनामा सुधार हुने होईन ?
– संरचनामा मस्तिष्क आवश्यक छैन ?
– रिजेन्टफुल (गुनासोयुक्त) कार्यशैलीलाई गुनासोमुक्त बनाउन सिन्को नभाँच्ने अनि, कर्मचारी असहयोगको नक्कली बिना कहिलेसम्म बजाँउदा सक्कली हुन्छ ?
– तपाईंको ओपेन सेक्रेट रणनीति (शान्त र मौन नगद संकलनको अपरिमित यात्रा) तपाईं र तपाईंको दलका लागि उत्पादक कि प्रत्युत्पादक ?
– तपाईंको प्रिय पञ्चायती पे्रत वायुलाई केन्द्रबिन्दुमा राखी घट्ने र घटाईने सबै (कु–कर्मलाई टुलुटुलु हेरी सहभागितमूलक व्यवस्थापन बिना सहयोगको अपेक्षा जायज कि नाजायज ?
अन्त्यमा प्रिय मेयर,
नेपाली सभ्यता लोकतन्त्रको अभ्यास गर्ने शुरुवाती समयमा रहेको हुनाले लोकतन्त्रमा खेलका नियमहरु हुन्छन नै । तिनै नियमहरुले तपाईंभित्र रहेको प्रभुत्ववादी सर्वशक्तिमान मेयर बन्ने भोक भुत्ते हुने निश्चित नै छ । निमार्ण गर्न खोज्नुभएको तपाईंको संकिर्ण भजन/किर्तन मण्डलमा सहभागितामूलक लोकतन्त्र देखिँदैन । तत्काल कर्मचारीतन्त्र अर्थात महानगरपालिकाको संयन्त्रबाट काम लिन सक्ने वातावरण निमार्ण गर्नुहोस् । तपाईंलाई सफल बनाउन तयार धेरै ठूलो समूह यहाँ भित्र छन । ‘शंकाले लंका डडाँउछ,’ शंका गर्न छाडी लुटतन्त्रका मतियारहरुको मात्र कुरा सुन्ने र तीनकै मात्र भर परि अगाडी बढ्नु नै छ भने हेक्का रहोस् वि.सं. २०४९ साल र वि.सं.२०५४ सालकै स्थितिमा यो नगर कार्यपालिकाभित्रको संयन्त्र र नगरबासीहरु मात्र आज काठमाडौंमा छैनन् ।
तपाईंको सुभचिन्तक,
बोधार्थः
१. काठमाडौं महानगरपालिकाभित्रका मतदाताहरुः
आगामी मतदानमा कुन क्षमता र ल्याकताको आफ्नो प्रतिनिधि चाहिने हो सोच्न शुरु गर्नु होला ।
२. श्रद्धय मेयरसाबको पार्टी अध्यक्ष्यज्यू,
जानकारी हासिल गरि यो मेयरलाई पत्र गलत प्रमाणित गरिदिनु हुन ।
हाम्रो टिमले एक हप्ता गरेको अध्ययन बुदाँगत रुपमाः
निर्वाचित भएको घोषणा पश्चात मेयरलाई शुरुमै प्रभावमा पारी कुत असुलीको धन्दा सुचारु राख्ने सोंचका साथ काम भएको पाईयो, यस्तो कार्यको नेतृत्व प्रशासन विभाग र तत्कालीन जिन्सी शाखाबाट गरिएको र सो कार्यलाई तत्कालीन कार्यकारी अधिकृतलाई संरक्षक बनाई गरिएको थियो । जुन स्वागत सत्कार कार्यका लागि करिब १ करोड खर्च खरिदसँग सम्बन्धित नियमहरुको उल्लघंन गरि गरिएको थियो ।
कर्मचारीको नेतृत्वमा नै खरिद प्रकृया शुरु गरिएको करिब १/१ करोड मुल्यको दुईवटा गाडी सम्बन्धमा मेयरले यो काम कर्मचारीको हो मेरो संलग्नता छैन भनी भनेको कुरा झुट रहेछ । साउन महिनामा । मेयरलाई विलासी गाडीको चाहना नहुँदो हो त उहाँले फाइल बदर गरी अर्को सामान्य गाडि खरिद गर्न सक्ने प्रकृया शुरु गर्न सक्ने अवसर प्राप्त भएको रहेछ ।
चर्चित मोबाइल काण्डलाई नियोजित रुपमा तत्काली जिन्सी शाखका शाखा प्रमुखको डिजाईनमा शुरुमै मेयरलाई नियन्त्रणामा राख्ने उद्देश्यका साथ कार्यपालिकामा जानै नपर्ने विषयलाई कार्यपालिकामा पठाई घटना घटाईएको रहेछ ।
मेयरलाई पत्रमा उल्लेखित लाईक कमेन्ट काण्ड भनेको गाडी खरिद र मोबाईल खरिद सम्बन्धि अनलाईन समाचारहरुमा केही कर्मचारीहरुले लाईक तथा स–साना कमेन्ट लेखे बापत जागिरबाट नै अवकाश दिने गरि पटक–पटक स्पष्टिकरण सोधिएको रहेछ । यसमध्ये मेयर दल सर्मथित एक युनियन नेतालाई फरक मत राखेबापत मेयर निर्वाचित पश्चात निमार्ण हुँदै गरेका मेयरका नजिकका नवशक्ति दलाल समूहले समन्वय सो स्पष्टिकरण सोध्ने कार्य गरेको पाईयो ।
कर्मचारी अतिरिक्त सुविधा सम्बन्धी कुनै मापदण्ड हालसम्म पनि निर्धारण नभएको पाइयो । जसले मेयरको भजन मण्डलीलाई रिजाउन सक्यो उसैको स्रोतको स्थिति देखियो ।
आठौ तहका आठ जना कर्मचारीहरुलाई कुनै यातायत सुविधा अन्र्तगत गाडी वा सो सरहको कुनै सुविधा उपलब्ध छैन । मेयरका प्रिय पात्र भनि मेयरलाई पत्रमा उल्लेखित प्रशासन विभागका विभागिय प्रमुखको संरक्षण प्राप्त सातौं तहमा कार्यरत एकजनालाई मात्र भने निजी सरह उपयोग गर्ने गरि नयाँ गाडी खरिद गरिकन उपलब्ध गराईएको पाइयो । जसलाई मेयर सर्मथित कर्मचारी युनियन तथा अन्यको दवावमा मात्र निज कार्यरत शाखा जिन्सीबाट सरुवा गरी १५ वडा कार्यालयमा पठाईएको भए पनि हालसम्म निज हाजिर हुन नगई उपलब्ध गाडी तथा इन्धन लिई सुविधाको दुरुपयोग गर्दै दलाली कार्यको समन्वयमा डुलिरहेको पाइयो ।
इन्धन सम्बन्धमा कुनै निती तथा मापदण्ड नै नभएको पाइयो । कुन तहले किन कति लिटर इन्धन प्राप्त गर्ने कुनै पनि औचित्य बिना मागफारम भरि प्रशासन विभागका विभाग प्रमुखमा लगि रिजाउन सक्नेले मासिक १०० लिटरसम्म इन्धन लिने गरेको पाइयो ।
मोटरसाईकल कार्यालय सहयोगीसम्मले लिएको तर छैठौ, सातौं तहलाई दिएको जिम्मेवारी अनुसार कार्यसम्पादनको क्रममा आवश्यक हुन जाने र सो सुविधा उपलब्ध गराउँदा कार्यसम्पादनको स्तरमा गुणस्तरिता तथा समय बचत जस्ता परिणाम हासिल हुने हुदाँ पनि सो सुविधा उपलब्ध नगराई सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गरेको पाइयो ।
सवारी साधनमा इच्छा अनुसार सेतो नम्बर प्लेट र रातो नम्बर प्लेटको व्यवस्था गरेको पाइयो । जसले गर्दा रातो नम्बर प्लेट हुनेले दैनिक घरायसी प्रयोग पिकनीक, निजी भ्रमण जस्ता कार्यमा समेत उपयोग गर्न सकुन भन्ने अवधारणा साथ यसो गरेको स्पष्ट देखियो ।
प्रशासन विभागिय प्रमुख जुनियर आठौं हुँदाहुँदै पनि विशेष योग्यता भएको कारणले हुन सक्दछ अरु आठौं तहलाई १५ लाख बराबर गाडी उपलब्ध गराईएको र निजलाई छनौट गराई ५० लाख बराबरको गाडी र असिमित इन्धन उपलब्ध गराएको पाइयो ।
नगर सभाबाट पारित नीति कार्यान्वयन सम्बन्धमा कुनै पनि फाईल मेयरलाई नसोधि अगाडि बढाउन नपाउने अघोषित नियम कडाईका साथ कार्यान्वयन गरेको कारणले गर्दा महानगरपालिकाको सबैखालका गतिविधि अत्यन्तै सुस्त तथा मेयर नजिकका मानिसहरु सबै मेयर सरह भएको अवस्था र्सिजना भई अन्य महत्वपूर्ण अंगहरु प्यारलाईज भएको पाइयो । तर प्रसासन विभागका विभागिय प्रमुखमार्फत जाने फाइललाई यो नियम नलाग्ने नीतिरहेको पाइयो ।
सबै विभागमा मेयरको तर्फबाट प्रशासन विभागको हस्तक्षेप रहने कारणले प्रशासन विभाग बाहेक संयन्त्रमा कामकाज हुन छाडेको देखियो ।
मेयर सचिवालय र उपमेयर सचिवालयबीच आजसम्म पनि कुनै समन्वय हुने मेकानिज्जम निमार्ण गरेको पाइएन ।
जबकी स्थानीय निकायमा प्रतिपक्षको कुनै परिकल्पना संविधान र कानूनले गरेको छैन ।
कुनै विशेष जिम्मेवारी दिन पर्ने र आर्थिक कारोबार समेत हुने काममा प्रशासन विभागका प्रमुखको पहिलो छनौट अनी मेयर दल सर्मथित कर्मचारी त्यसमा पनि एसम्यान हुने पर्ने नीति कडाईका साथ लागू गरेको पाइयो ।
वैदेशिक भ्रमण सम्बन्धमा प्रशासन विभागका विभागिय प्रमुखको दवदवा रहेको पाइयो । मेयर निर्वाचित भए पश्चात निजकै सहमतिमा तत्कालिन कार्यकारी अधिकृतका साथ ‘बू्रमुर’ खरिदको डिल गर्न भारतको लुधियाना भ्रमण लुकीछिपी अवैध रुपले तथा हालसालै सोही केसमा नव–निर्वाचित काठमाडौंका एकजना सांसदसहित प्रशासन विभागका प्रमुख र निजको विश्वासी वातावरण विभागको प्रमुखको टोलीको अवैध भ्रमण सम्पन्न भएको पाइयो । जुन खरिद फाइलमा सप्लार्यससँग रकम डिल नमिलुनजेल रोकिएको र मिलेपछि मात्र डिल भारतको सम्बन्धित कम्पनीमा हुने गरि सो भ्रमण सम्पन्न भएको जानकारी प्राप्त भयो । त्यसैगरी एकजना अधिकृतलाई मोल लिई कम्बोडिया भ्रमणमा गोप्य रुपले हालसालै गराईएको समेत पाइयो । मेयर मातहतको विदेश हेर्ने सचिवालय प्रशासन विभागको समन्वयमा मेनपावर कम्पनी सरह चलाइएको स्थिति महानगरपालिकामा रहेको पाइयो ।
कर्मचारी आन्तरिक सरुवामा प्रशासन विभागले विगत वर्षहरुमा झैं रकम बुझाउनेलाई असुली गर्न सकिने स्थानमा सरुवा गर्ने चलन मेयर निर्वाचितपछि पनि यथावत राखी अझ तिब्र र महंगो पारेको पाइयो । एकजना प्राविधिकले नक्सा शाखामा नै रहन ५ लाख रुपैयाँको माग भएको र आफू टिक्नका लागि बुझाउन समेत तयार भएको सुनाए ।
संविधान र कानूनले उपमेयरलाई दिइएको अधिकारहरु न्यायिक समिति र राजश्वसँग समितिलाई प्यारालाईज अवस्थामा राखिएको पाइयो । आफैँ कानूनी बेन्चहरुमा बस्ने गरेको समेत पाइयो ।
आजसम्म काठमाडौं महानगरपालिकाले कुनै सल्लाहाकार, विज्ञ समूह गठन नगरेको पाइयो ।
कुनै पनि दिर्घकालीन परियोजना योजनाका अन्य विभागले तयार पारि पेश भएमा सो परियोजना सम्बन्धि कागजात देखाई पहिले नै भण्डारबाट असुली गर्ने तथा निजहरुको खर्चमा इच्छा बमोजिमको देश भ्रमण गर्ने साविकदेखिको प्रचलनलाई हाल पनि मेयरको अनुमतिमा प्रशासन विभागका प्रमुखले यथावत राखेको पाइयो । यस्ता भ्रमणमा निजको स–परिवार जाने गरेको समेत पाइयो । यस्तो कार्यलाई अन्र्तर्राष्ट्रिय सचिवालयमा कार्यरत अधिकृतले सातौं तहका गाडी प्राप्त गर्ने भाग्यमानी तत्कालीन जिन्सी शाखा प्रमुखमार्फत समन्वय गर्ने गरेको पाइयो ।
विभिन्न सचिवालयहरुमा जडान भएका सिसि टिभिका रेकर्डहरु निजि मोबाइलमा सोझौ जाने व्यवस्था मिलाई दुरुपयोग हुने गरेको देखियो ।
नगरप्रहरीको सार्वजनिक सम्पत्तिको दुरुपयोग सम्बन्धि अराजकता (गैर–कानूनी भाडा लगाउने कार्य त्यसबाट हप्ता असुली) झन–झन शहरभरि विस्तार भई मजबुत हुँदै गएको सुचना पाइयो । त्यसैगरी वातावरण व्यवस्था विभागले उपलब्ध गराएको महानगरको फोहोर बोक्ने ट्रकमा साँझ नगरप्रहरीको समन्वयमा रानीपोखरीको बालुवाको व्यापार हुँदै गरेको दृश्य समेत यही अध्ययन क्रममा देखियो ।
पहिलो नगरसभाबाट पारित आर्थिक विधेयकलाई आफू खुसी संसोधन गरी आगामि वर्षका लागि न्यायोचित, वैज्ञानिक एवं तथ्यपरक बनाउन पुनरावलोकन गरिने भनी पारित गरेको भए पनि चालु आ.व.को पुस महिनासम्म सो सम्बन्धमा कुनै कार्य नै शुरु नगरेको हुनाले आगामी आ.व.मा पनि साविक बमोजिमको अवैज्ञानिक ढंगकै कर प्रणाली हुन सक्ने देखियो । जबकी स्थानीय सरकार ऐनले एकीकृत सम्पत्ति करमा आगामी आ.व.बाट स्थानीय तह जानपर्ने अनिवार्य प्रावधान संघीय कानूनले तय गरिसकेको अवस्था रहेको हामीलाई सम्बन्धित विभागबाट जानकारी उपलब्ध गराइयो ।
मेयर, उप–मेयर निर्वाचित भए पश्चात आजसम्म पनि महानगरपालिकामा कार्यरत कर्मचारीहरुलाई राजनैतिक नेतृत्वले हासिल गर्न चाहेको उद्देश्य तथा सो को लागि निमार्ण गरिएको रणनीतिका बारेमा सम्बोधन नै नगरिएको पाइयो । यसो गर्दा सबै कर्मचारीले सहजताका साथ काम गर्न सक्ने वातावरण तयार हुन्छ भन्ने नै देखिएन बरु छुद्रताका साथ फरक राजनैतिक विचार भएको तथा असहमत मानिस हो भन्ने दृष्टिकोण बनाइ जिम्मेवारीविहिन बनाउने गरेको देखियो । यसको उदाहरण धेरै ठूलो समूह वरण्डामा दिनभर घाम तापेर बसेको दृश्यले स्पष्ट पारेको देखियो ।
निश्कर्षः काठमाडौं महानगरपालिकाका कर्मचारी संयन्त्रले सञ्चालन गरेको समयभन्दा अझ बढी वेथितीतिर तिब्र रुपमा गइरहेको पाइयो । मेयरज्यूको राजनैतिक दलद्धारा जारी गरिएको घोषणापत्र र १०० दिनमा १०१ कामको चर्चा गर्नुको सन्दर्भ नै आवश्यक नरहेको हाम्रो निश्कर्ष रह्यो ।
(शिखरन्यूजका लागि एचआर तिमल्सिनाको रिपोर्ट । )
Sundar Tangbe
Khabar Dar Buddha sangga Tulana nagar mayar ko