बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा

सारांश

  • काठमाडौं, २७ फागुन- बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।

काठमाडौं, २७ फागुन- बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।

जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने ।

बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।

इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए ।

अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी
बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने ।

शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए ।

घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?