भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

सारांश

  • चुँदीरम्घा (तनहुँ)।
  • राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन्।
  • आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढेको हुनुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ।

चुँदीरम्घा (तनहुँ)। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन्।

आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढेको हुनुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ। पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल या घरबास आदिको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ। भानुसँग जोडिएको घाँसीकुवा पनि पृथ्वीराजमार्गमा बनाइएको छ र चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएको छैन।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ। यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन्। सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन्। त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। नेपाल सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ। उनले आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर भानु कतै उतै जन्मिएका त होइनन् भन्ने खालको भ्रम पैदा भएको व्यङ्ग्यात्मक टिप्पणी गरे। भानुभक्तका छोरा रामनाथ थिए भने उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउँछन्। रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन्।

भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका-४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए। पनाति आचार्यले भने, “यत्रो देश-विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ।”

उक्त स्थललाई पर्यटीयक गन्तव्य बनाउन पहल भने नभएका होइनन्। डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिए। सोका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो। उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ। महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताए। उनले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाए।

सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।

यसैबीच भानुजयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्यसाँझ मनाएका छन्। कार्यक्रममा डा घिमिरे, तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, डा हिरण्यलाल ज्ञवाली, ज्योति जंगल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमीलगायतले रचना वाचन गरेका थिए।

भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदैछ। दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)
बौद्धको शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु
आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु

तपाईंले छुटाउनुभयो कि?