भारतमा बिजेपीलाई हराउन नेपालमा सम्मेलन ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतमा बिजेपीलाई हराउन नेपालमा सम्मेलन ?

सारांश

  • काठमाडौं,११ मंसिर ।
  • दक्षिण कोरियाको चर्चको पैसामा नेपालमा राजनीति गर्दै आएका पूर्वमन्त्री तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल फेरि विवादमा तानिएका छन् ।
  • काठमाडौंमा हुन लागेको एक सम्मेलनमा सरकारलाई नै सहआयोजक बनाएर राज्यको स्रोतसाधनमा मस्ती गर्न लागेपछि उनी विवादमा परेका हुन् ।

काठमाडौं,११ मंसिर । दक्षिण कोरियाको चर्चको पैसामा नेपालमा राजनीति गर्दै आएका पूर्वमन्त्री तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल फेरि विवादमा तानिएका छन् । काठमाडौंमा हुन लागेको एक सम्मेलनमा सरकारलाई नै सहआयोजक बनाएर राज्यको स्रोतसाधनमा मस्ती गर्न लागेपछि उनी विवादमा परेका हुन् ।  शान्तिको एजेन्डामा इसाई धर्म (कोरियन)को प्रचारमा संलग्न युनिभर्सल पिस फेडेरेसन नेपाल च्याप्टरको अध्यक्ष रहेका ढकाल सोही संस्थामार्फत् नेपालमा शंकास्पद गतिविधि गर्दै आएका छन् ।

मंसिर १४ गतेदेखि सोही संस्था मातहतको नेसनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीको आयोजनामा होटल हायातमा हुने ‘एसियन प्यासिफिक समिट २०१८’ गर्न लागिएको हो । इसाई धर्मको प्रचारका कारण बदनाम सो संस्थाले नेपालमा गर्न लागेको सो सम्मेलनमा विभिन्न २४ देशबाट अतिथिहरु आउँदैछन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत आउन लागेका छन् । जसको अतिथि सत्कारका लागि भनेर सरकार नै अघि बढेपछि विवाद भएको थियो । तर, सरकार कार्यक्रमको सहआयोजकबाट पछि हटेपछि ढकाल समस्यामा परेका छन् ।

बिजेपीलाई हराउन नेपालमा सम्मेलन ?
यो सम्मेलनलाई भारतीय अधिकारीहरुले समेत चासोका साथ हेरेका छन् । किनकि हिन्दू धर्मको पक्षमा रहेको भारतीय जनता पार्टीलाई आगामी निर्वाचनमा हराउनका लागि समेत यसमा छलफल हुन लागेको स्रोत बताउँछ ।  भारतमा हिन्दू धर्म पक्षलाई कमजोर बनाउन यो सम्मेलनको एउटा उद्देश्य रहेका बताइन्छ । इसाई धर्मको प्रचारकै कारण यो संस्थामा भारतलगायत देशमा प्रतिबन्धित छ । कमजोर देश नेपाललाई आधार बनाएर भारतविरुद्ध रणनीतिक चलखेलका उद्देश्यले समेत सम्मेलन गर्न लागिएको आरोप यस संस्थामाथि छ । चार दिनसम्म सम्मेलन सञ्चालन हुने भएकाले पनि धेरैले यसलाई शंकास्पद ठानेका छन् । सम्मेलनमा भारतका पूर्वप्रम देवेगौडा पनि आउँदैछन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सो संस्थाको कार्यक्रमको विरोध गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी विवादित संस्थाको आयोजनामा हुने कार्यक्रममा सरकार सह–आयोजक हुनु दुःखद भएको बताउँदै त्यसको विरोध गरेका थिए । मिडियामा समेत आलोचना भएपछि सरकार सह–आयोजक बन्नबाट पछि हटेको छ । शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालले युनिभर्सल पिस फेडरेसनले नेपाल सरकार, संघीय संसद आइक्याप, आइएपिपी लगायत संघ संस्था लगायतको सहकार्यमा काठमाडौंमा आयोजनामा गर्ने कार्यक्रममा आफनो संस्थाको समर्थन रहेको बताएको थियो । काठमाडौंको हायात होटेलमा आयोजना हुने कार्यक्रममा जलवायु परिवर्तन, शान्ति तथा विकास, सुशासन, विवाह तथा परिवार जस्ता संस्थाहरूको सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ । तर, यी नाम मात्रका विषय हुन् । मुख्य उदेश्यले भनेको शक्तिकेन्द्रलाई प्रभावित पारेर धर्म प्रचार गर्नु नै हो ।

कार्यक्रम आयोजक युनाइटेड पिस फेडेरेसनलाई नेपालभित्र धर्म प्रचारप्रसार गरेको आरोप लाग्दै आएको छ ।  यसअघि ढकाल मन्त्री भएकै बेलामा पनि उनले नेपालमा यस्तै खालको कार्यक्रम आयोजना गरेका थिए । याक एण्ड यती होटलमा भएको सम्मेलनको तत्कालीन उपराष्ट्रपति परमानन्द झाले उद्घाटन  गरेका थिए । ‘गरीबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा ‘न्यू क्रिश्चियन’ धर्म प्रचारक कोरियाली संस्था युनिभर्सल पिस फेडरेशन (युपीएफ) को सम्मेलन उद्घाटन र त्यसका संस्थापक सन म्योङ्ग मुनको जीवनी शान्तिपे्रमी विश्व नागरिकको विमोचन गराइएको थियो ।
कार्यक्रममा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेताले सम्बोधन  गरेका थिए । तर सम्मेलनमा गरिबी निवारणसम्बन्धी कुनै पनि छलफल भएन । त्यो त आवरण मात्र थियो ।

मन्त्री ढकाल युपीएफका नेपाल अध्यक्ष हुन् । उनी राजनीतिक आवरणमा नेपालमा अवैध धन्दामा सक्रिय छन् । पहिलो संविधानसभा निर्वाचनको मौका छोपेर युपीएफलाई राजनीतिक रंग दिंदै परिवार दल गठन गरेका थिए । २३ हजार ५ सय १२ समानुपातिक भोट पाएर पार्टीको एक्लो सभासद् समेत भए । समानुपातिकतर्फ भोट बढाउन उनले विदेशबाट टन्नै डलर ल्याएका थिए । त्यही सीटबाट मन्त्री समेत उनी बन्न सफल भएका थिए । त्यसपछि उनको धन्दा झन् चम्किदै आएको छ ।
गोर्खा बोर्लाङ स्थायी घर भएका ढकाल २०६४ सालपछि इसाई धर्म प्रचारको खेलमा लागेका हुन् । सभासद् भएपछि फादर सन म्योङ्गको लगानी र कृपाबाट उनले नेपालमा प्रभाव बढाए। एमाओवादीलाई रिझाएर क्रिश्चियन धर्म प्रचारक संस्थाको तर्फबाट मन्त्री नै बनेपछि नेपालको शान्ति प्रक्रिया यहाँसम्म आइपुग्नुमा आफ्नो ठूलो योगदान रहेको भनेर समेत प्रचार गरुँएका थिए ।
जनआन्दोलनपछि ढकालले सुजाता कोइरालामार्फत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई युपीएफको ‘इन्टरनेशनल पिस अवार्ड’ दिलाएर राजनीतिक पहुँच बढाएका थिए । २०६३ मा फादर सन म्योङ्ग नेपाल आउँदा तत्कालीन सभामुख सुवास नेम्वाङबाट सम्मान गराएका थिए ।

अहिले सत्तारुढ दल नेकपामा उनको राम्रो पकड छ । नेकपा मात्र होइन राज्यका धेरै निकायमा उनी प्रभाव राख्दछन् । नेता, कर्मचारी र पत्रकारलाई विभिन्न कार्यक्रमको नाममा विदेश भ्रमणमा लैजाने गरेका छन् । यूनिभर्सल टाइम्स नामक पत्रिका पनि उनले निकाल्दै आएका छन् । दृष्टि साप्ताहिकका अनुसार फिलिपिनी महिलासँग बिहे गरेका उनले युपीएफमार्फत नेपाली युवा–युवतीलाई गोलाप्रथाद्वारा विदेशी दुलाहा–दुलहीसँग विवाह गराउने र धर्म प्रचार गर्ने धन्दा पनि सञ्चालन गर्दै आएका छन् । कोरियामा भएको यस्तै विवाह समारोहमा पूर्वप्रधानमन्त्री नेपाल र आरजु देउवालाई समेत सहभागि गराएका थिए । माधव नेपाल उनका हरेक जसो कार्यक्रममा सहभागी हुने गर्दछन् ।

दक्षिण कोरियाको सन म्याड मुन र युनिफिकेसन चर्चको पैसाबाट चल्ने परिवार दल नेपालमा युनिभर्सल पिस फेडरेसन नामको छाता संगठन अन्तर्गत संचालित छ । चर्चमा सदस्यता लिएपछि मात्र उनको पार्टीमा आबद्ध हुने नियम लागू गरेपछि विवाद भएको थियो । उनका पार्टीका सबैजसो नेताहरु इसाई धर्मावलम्बीहरु छन् । कुनै पनि धर्म मान्ने अधिकार नागरिकलाई संविधानले दिएपनि विभिन्न बहानामा प्रभावमा पारी धर्म परिवर्तनको धन्दा सो पार्टीले गर्दै आएकाले ढकाल विवाद भएको हो ।  साथै ढकालमाथि मानव तस्करीको आरोप समेत लाग्ने गरेको छ । संस्थाको कार्यक्रमको नाममा उनले विभिन्न व्यक्तिलाई विभिन्न देशमा पठाएका थिए । त्यसमध्ये कतिपय त्यही लुक्ने गरेका छन् । उनको पार्टीबाट दक्षिण कोरिया गएका कतिपय व्यक्तिहरु अहिले त्यहाँ माग्ने काम गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?