भारतमा २१ दिनका लागि ‘लक डाउन’
सारांश
- काठमाडौं।
- भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ ।
- मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ।
काठमाडौं। भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्नुहुँदै २१ दिनको लागि भारत पूर्णरुपमा लक डाउन हुने घोषणा गरेका हुन्। उनले २१ दिन लामो समय रहेपनि समाज र नागरिकको सुरक्षाको लागि एकमात्र विकल्प लागू गरिएको बताए। उनले २१ दिने लक डाउनको क्रममा सडकमा नआउन आग्रह गरे। सम्बोधनको क्रममा उनले प्रधानमन्त्रीको रुपमा नभई परिवारको सदस्यको रुपमा आफ्नो आग्रहलाई स्वीकार गरी पछ्याउन आग्रह गरे।
भारतको भन्दा उच्चतम् स्वास्थ्य पूर्वाधार, प्रविधि र प्रणाली रहेको अमेरिका र इटाली जस्तो शक्तिशाली राष्ट्रले कोरोना भाइरसको संक्रमणको जोखिममा परेको बताउनुहुँदै उहाँले कोरोनाबाट बच्न एकमात्रै उपाय अवलम्बन गर्न लागिएको उल्लेख गरे। संक्रमित एकजनाबाट सयौंमा फैल्न सक्ने हुनाले घरबाट बाहिर नआउन उहाँले नागरिकमा आग्रह गरे।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न १५ खर्बको कोष परिचालन गरिने घोषणा गरे। उक्त बजेट नागरिकको व्यक्तिगत् सुरक्षा, आइसोलेशन शैय्या, भेन्टिलेटरको संख्या यथासक्दो छिटो बढाउन सकिने कार्यको लागि खर्च गरिने जानकारी दिए।
भारतमा कोभिड–१९ को संक्रमितको संख्या करिब ५ सय पुगेको छ। मृतकको संख्या नौ रहेको छ । भारतले मङ्गलबारदेखि सबै आन्तरिक उडान स्थगित गरिसकेको छ। आइतबारदेखि भारतमा यातायातको प्रमुख साधन रहेको रेल्वे सञ्जाल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको थियो।
कोभिड–१९ को संक्रमण पहिलो एक लाख व्यक्तिमा फैल्न ६७ दिन लागेको थियो । ११ दिनभित्रै दुई लाख व्यक्तिमा संक्रमण सरेको थियो । चार दिनभित्र विश्वका अर्को एक लाख व्यक्तिमा कोभिड–१९ को संक्रमण फैलिएको छ।
प्रतिक्रिया