भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
सारांश
- भोजपुर ।
- भोजपुरको पौवादुङमा गाउँपालिकामा भिरकोट माझकुलो निर्माण भएपछि स्थानीयवासीलाई सजिलो भएको छ ।
- पुस्तौंदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी खेतसम्म आएपछि उत्साहित भएका हुन् ।
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भिरकोट माझकुलो निर्माण भएपछि स्थानीयवासीलाई सजिलो भएको छ । पुस्तौंदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी खेतसम्म आएपछि उत्साहित भएका हुन् । वडा कार्यालयले बजेट विनियोजन गरेर कुलो निर्माणमा सहयोग गरी दिएपछि उनीहरुलाई सजिलो भएको हो ।
सिँचाइ कुलोबाट पानी आउन थालेपछि यसवर्ष समयमा बाली लगाउन सहज भएको स्थानीय नरबहादुर राईले बताए । धेरै खेतीयोग्य जमिन भएपनि सिँचाइको व्यवस्था नहुँदा कतिपय जमिन बाँझिदै गएको अवस्थामा कुलो निर्माणले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । ‘सिँचाइ कुलो नहुँदा खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था थियो’, किसान राईले भने, ‘‘वर्षौबाट आकासे पानीको भरमा खेती गर्दै आएका थियौँ । वडाको बजेटमा कुलो सञ्चालनमा आएपछि हामीलाई सजिलो भयो ।’
कुलो सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा परिर्वतन आएको भनाइ छ । सिँचाइको व्यवस्था भएपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । ‘सिँचाइपछि हाम्रो दैनिकीमा नै परिवर्तन आएको छ, तरकारी उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरेर आम्दानी गरिरहेका छौँ’, उनले भने ।
खेतबारीसम्म पानी आएपछि खेतीको काम गर्न उत्साह थपिएको पौवादुङमा– १ भिरकोटका किसान विदुर राईले बताए । वडाले योजनाबद्ध रुपमा काम गरेकोले थोरै बजेटमा पनि उपलब्धिमूलक काम भएको छ । अरु ठाउँमा रहेका कुलो सञ्चालनमा पहल गरी दिए अन्य ठाउँका स्थानीयवासीलाई पनि राहत पुग्ने जनाइएको छ । ‘‘हामी किसानको पक्षमा वडाले गरेको काम सराहनीय छ’, उनले भने, ‘यहाँका स–साना काम पानि प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । कृषि क्षेत्रमा वडाले गरिरहेको कामले हामीलाई सहज भएको छ ।’
वडा नं १ खेतीको लागि उपयुक्त भूगोल रहेकाले यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको वडा कार्यालयले जनाएको छ । प्रशस्त उर्वरभूमि रहेपनि सिँचाइको राम्रो व्यवस्था नहुँदा समस्या रहेकोले वडाको बजेटबाट सिँचाइको विकासको लागि काम गरिरहेको कार्यालयको भनाइ छ । सिँचाइ कुलोसँगै प्लास्टिक टनेल वितरण गरेर पनि स्थानीयवासीलाई सहयोग गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
‘हाम्रो ठाउँ कृषिको लागि अत्यन्तै उर्वरभूमि हो’, वडाध्यक्ष तामाङले भने, ‘सिँचाइको अभावमा त्यसबाट लाभ लिन नसकिएको अवस्था पनि छ । वडाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले हामीले यहाँ भूगोल अनुसारको बालीमा जोड दिएका छौँ ।’ वडाको योजनाको बजेट विजियोजन गर्दा स्थानीयवासीको आवश्यकताको आधारमा गर्ने गरेको उनको भनाइ छ । किसानलाई आर्थिक पक्षमा जोड्दै उनीहरुको अवस्था सुधारमा भूमिका खेलिरहेको उनले बताए ।
प्रतिक्रिया